सर्वोच्चको ठहर- नहकुल सुवेदीको न्यायाधीश हुने योग्यतामा प्रश्न उठाउने ठाउँ नै छैन
न्यायाधीश नियुक्ति विवाद टुंगियो,अब संसदीय सुनुवाइ बाँकी
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/04/nakul-subedhi.jpg)
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नियुक्ति विवाद टुंगिएको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायपरिषद्ले नियुक्ति गरेका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुबेदीको संविधान बमोजिमको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
संविधानको धारा १२९ को उपधारा ५ ले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुन चाहिने योग्यतामध्ये न्यायसेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो श्रेणीभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने भन्ने व्यवस्था रहेको छ ।
आज न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रिट खारेजी फैसला गर्दै सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी भन्दा माथिल्लो श्रेणी नभनी सो भन्दा माथिल्लो पदमा रही १२ बर्ष काम गरेको भन्ने व्यवस्था रहेको प्रष्ट पारेको छ ।
मुख्य न्यायाधीश पद राजपत्रांकित प्रथम श्रेणीको सहसचिव स्तर र विशिष्ट श्रेणीको सचिव रजिष्ट्रार र सोही श्रेणीको मुख्य रजिष्ट्रारको पदभन्दा माथिल्लो पद रहेको हुनाले मुख्य न्यायाधीशको भरपूर योज्यता पुग्ने ब्याख्या सर्वोच्चले गरेको छ ।
सर्वोच्चको मुख्य रजिष्टारबाट उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका सुवेदीको योग्यता सर्वोच्चको न्यायाधीश हुनका लागि पर्याप्त रुपमा पुगेको अदालतले ठहर गरेको छ ।
सर्वोच्च अदालतले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत स्पष्ट पारेको छ ।
अदालतको यो फैसलासँगै सुवेदीको अब संसदीय सुनुवाइबाट सर्वोच्चमा प्रवेश गर्ने बाटो खुलेको छ ।