माधव नेपाललाई ओलीको चेतावनी- निष्कासन गर्न हामीलाई पनि आउँछ, पार्टीमाथि धावा बोल्नेलाई ठीक लाइन्छ – Nepal Press

माधव नेपाललाई ओलीको चेतावनी- निष्कासन गर्न हामीलाई पनि आउँछ, पार्टीमाथि धावा बोल्नेलाई ठीक लाइन्छ

माधव नेपाल आफैं सांसद बन्न पाउँदैनन्, उनले कसलाई टिकट दिने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले समानान्तर गतिविधि जारी राख्ने र पार्टीमाथि धावा बोल्ने क्रम नरोकेमा ठीक लगाउने चेतावनी दिएका छन् ।

उत्पीडित जातीय मुक्ति समाजको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पनि माधव नेपाललाई पार्टीको सदस्यबाट निश्कासन नगरी निलम्वन मात्र गरिएको बताए ।

ओलीले विगतका अपराधप्रति पश्चाताप गर्दै जनतासमक्ष उभिएर माफी मागेमा माधव नेपाललाई एमालेमा काम गर्न दिइने बताए । प्रचण्डसँग मिलेर आफूहरुलाई निष्कासन गरेको शैली माधव नेपालले अहिले पनि कायमै राखेको भन्दै ओलीले पार्टीमाथि धावा बोले ठीक लगाउने चेतावनी दिए ।

ओलीले भने, ‘समूहगत छलफल हुँदैन । व्यक्तिगतरूपमा माधव नेपाल आएर पार्टीमा काम गर्नुहुन्छ भने मसँग होइन, जनतातिर फर्केर क्षमायाचना गर्नुस् । तर, पार्टीमाथि धावा बोल्नुभयो भने ठीक लगाइनेछ । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । निष्कासन गर्न हामीलाई पनि आउँछ तपाईंहरूलाई मात्र होइन ।’

आफैं सांसद बन्दैनन्, कसलाई टिकट दिने ?

माधव नेपालप्रति कटाक्ष गर्दै ओलीले अहिले पनि एमालेका नेताहरुलाई धमाधम निष्कासन गर्दै हिँडेको टिप्पणी गरे । तत्कालीन नेकपामा निष्कासन गरेजस्तै एमालेको नाममा एमालेकै नेताहरूलाई हटाएको घोषणा गर्दै हिँडेको आफूले नियालिरहेको ओलीले बताए ।

ओलीले भने, ‘एमाले बलियो बनाउने भन्दै जिल्ला-जिल्लामा अर्को पार्टी बनाउँदै हिँडेका छन् । मलाई निकाले, ईश्वर पोखरेललाई निकाले, अहिले फेरि चारजना साथीहरूलाई हटायौं भन्दैछन् रे । ठीक छ धित मार, निकाल्ने रहर पुर्‍याऊ । हामीले टाँसिदिएको जुँगा अलि दिनपछि हामी निकाल्दिन्छौं । एमाले बाहेक सबैसँग मिल्ने भनेर हिँडेका छन्, यो मौका आउँदैन जे गर्ने हो गरे हुन्छ ।

माधव नेपालले आफूलाई समर्थन गर्नेहरुलाई आउने चुनावमा टिकट पक्का भन्दै हिँडेकोमा ओलीले बसपार्कको टिकट बाँड्ने हैसियत पनि नेपालसँग नरहेको बताए ।

उनले भने, ‘एउटा हल्ला छ,केपी ओलीले टिकट नदिए चिन्ता नगर्नुस म दिन्छु । टिकट त बसपार्कमा फालाफाल छ त । त्यो पनि उहाँले सक्नुहुन्न । तर उहाँले अब एकजना पनि सांसद बनाउन सक्नुहुन्न, आफैं त बन्नु हुन्न अरुको के जिम्मा लिने ?’

प्रचण्ड-माधवको कारवाही किर्नाले भैंसी खाएजस्तै

ओलीले आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपालले गरेको कारवाहीलाई किर्नाले भैंसी खाएकोजस्तै हो भन्दै किर्नो ढाडिएपछि भैंसीको जिउबाट आफैं खसेको बताए । आपूलाई पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने माधव नेपाललाई अहिले पनि सदस्य कायमै राखेर पार्टीमा फर्किने अवसर दिएको बताए ।

ओलीले भने-‘यिनीहरूले साधारणसदस्यबाट मलाई निकालेका होइनन् ? सफल हुने भए त्यतिबेलै हुन्थे । मैले त्यतिबेलै भनेको थिएँ, उस्तै परे चेसमा प्यादाले मन्त्री खान्छ, भुसुनाले हात्ती खान्छ । किर्नेले भैंसी खान्छ । यिनीहरुले हामीलाई गरेको कारवाही त्यस्तै हो । किर्नाले भैंसी खाए जस्तै । सन्तोष गर्न पाइन्छ किर्नाले भैंसी खाएकै हो । भैंसी खायो खायो, पेट पटुक्क भयो फुत्रुक्क खस्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर