माओवादीलाई प्रधानमन्त्रीको चुनौती- तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ – Nepal Press

माओवादीलाई प्रधानमन्त्रीको चुनौती- तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने दोहोर्‍याएका छन् । आफूलाई प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिनसमेत ओलीले चुनौती दिएका छन् ।

पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- ‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । चाहिएको छैन मलाई तिम्रो समर्थन लैजाऊ ।’

आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए ।

समर्थन फिर्ता नलिई कांग्रेस र जसपा गुहार्दै हिँडेको र एमालेको माधव नेपाल पक्षले साथ दिइरहेको ओलीको भनाइ छ । यस्ता धाक धक्कुसँग आफू नडराउने समेत प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापनाले राजनीतिक अस्थिरता ल्याएको र संसदले काम गर्न नसक्ने बताए । अदालतको फैसला आफूहरूले माने पनि यो संसदबाट पार नलाग्ने र नयाँ सरकार पनि बन्ने अवस्था नरहेको दावी गरे ।

कांग्रेस नेताहरू पनि संसद विघटनको विकल्प छैन भनेर चुनावको पक्षमा उभिएको भन्दै ओलीले माओवादी र माधव नेपालहरू चुनावबाट भागिरहेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर