प्रदेश–१ मा कोरोना संक्रमित ह्वात्तै बढे, विराटनगर हटस्पट बन्ने खतरा – Nepal Press

प्रदेश–१ मा कोरोना संक्रमित ह्वात्तै बढे, विराटनगर हटस्पट बन्ने खतरा

विराटनगर । प्रदेश–१ मा पछिल्लो समय कोरोना सक्रमितको संख्या उल्लेख्य बढेको छ । पछिल्लो १० दिनमा मात्र प्रदेशमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये मोरङका मात्र ६३ जना छन् ।

१० दिन अघि प्रदेश भरी कुल ४३ जना कोरोनाका सक्रमित रहेका थिए । मोरङका ६३ जना संक्रमितमध्ये ५६ जना विराटनगर महानगरपालिकाका हुन् । त्यसपछि सुनसरीमा २६, झापामा १८, उदयपुरमा २, संखुवासभामा ३, पाँचथरमा १ र प्रदेश बाहरिका ८ जनामा संक्रमण देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार केही दिनदेखि कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

कोरोना संक्रमितहरुको दर केही महिनायतादेखि न्यून भएकोमा पुनः नयाँ विरामी भेटिन थालेका हुन् । कोरोनाका नँया संक्रमित फेला पर्न थालेपछि विराटनगरस्थति कोशी कोभिड अस्पताल पुनः सन्चालनमा ल्याइएको छ । अहिले अस्पतालमा सात जना उपचाररत छन् ।

चैत २५ गतेसम्म अस्पतालमा जम्मा एक जना विरामी मात्रै उपचाररत थिए । आइतबार एकै दिन थप छ जना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।

प्रदेश–१ सरकारले संक्रमितको संख्या शून्यमा झरेपछि अस्पतालमा कार्यरत करारका कर्मचारीलाई दुई हप्ता अघि विदा गरेको थियो ।

सामाजिक विकास मन्त्री उषकला राईले केही दिनदेखि प्रदेश–१ का भारतसँग सिमाना जोडिएका मोरङ, सुनसरी, झापा लगायतका जिल्लामा नँया कोरोनाका संक्रमित फेला पर्न थालेका त्यसको रोकथाम र नियन्त्रणकालागि आवश्य पहल भइरहेको बताइन् ।

उनले कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउने र प्रदेशभरीका विगतका कोरोना उपचारमा संलग्न अस्पतालहरूलाई तयारी अवस्थामा राख्न भनिएको बताइन् ।

‘हिजोको दिन जस्तै उपचारमा असहज नहोस भनेर प्रदेश भरीका १४ वटै जिल्लामा १० शय्यासम्मका कोभिड आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न भनेका छौं,’ मन्त्री राईले भनिन्, ‘स्थानीय तहहरु अस्पतालको व्यवस्थापनमा जुटिरहेका छन् ।’ त्यसकालागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्ने मन्त्री राईले बताइन् ।

सीमावर्ती भारतीय क्षेत्रमा कोरोना संक्रमणको दर भयावह रुपमा बढिरहेका बेला नेपाली भूभागमा भने खासै सतर्कता अपनाइएको देखिँदैन् ।

अहिले पनि किनमेलका लागि भारतको जोगवनी जानेहरुको भीड उत्तिकै छ । त्यही कारण विराटनगर विगतको जस्तै कोरोना हटस्पट बन्ने खतरा बढेको छ ।

मुख्य नाका बन्द भए पनि खुला सीमाबाट नेपाल-भारत ओहोर-दोहोर गर्दै नेपालीहरु । तस्बिर: नेपालप्रेस

कोरानो संक्रमित बढेसँगै कोशी अस्पतालको पीसीआर ल्यावमा पनि दैनिक परीक्षणको दायरा बढेको छ । कोशी अस्पताल कोभिड १९ पीसीआर ल्यावका क्लिनिकल माइक्रो बाइलोजिष्ट प्रणवकुमार यादवले अहिले दैनिक ५० को संख्यामा पीसीआर परीक्षण हुँदै आएको जानकारी दिए । उनका अनुसार तीमध्ये दुईदेखि चारजनासम्ममा संक्रमण देखिने गरेको छ ।

‘पछिल्लो दिनमा संक्रमणको दर शून्यमा झरेको थियो,’ यादवले भने, ‘मोरङको हकमा फेरि नयाँ संक्रमितहरु फेला पर्न क्रम बढेको छ । सतर्कता नअपनाउने हो भने भोलिका दिनमा कोरानाको भयवह स्थिति आउँन सक्छ ।’ गएको चैत २४ गते भारत गएर फर्किएका विराटनगरका चार जनामा संक्रमण देखिएको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा चुमनलाल दासले केही दिन यतादेखि भारतका विभिन्न शहरमा कोरोनाको नयाँ संक्रमित फेला पर्ने क्रम ह्वातै बढेकाले खुुल्ला सीमानाका कारण नेपालमा पनि कोरोनाको संक्रमण बढने सक्ने जोखिम बढाइदिएको बताए ।

उनले त्यसका लागि आवश्य स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सीमा क्षेत्रको आवतजावतमा स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले विराटनगरमा पछिल्ला केही दिन फाटफुट रुपमा नयाँ सक्रमितहरु फेरी फेला पर्न थालेकाले आवश्यक सतकर्ता अपनाउन आवश्य रहेको बताए । तर उनले अहिलेसम्म थप योजना भने बनाइ नसकिएको स्वीकार गरे ।

‘कोराना रोकथाम र नियन्त्रणका लागि अहिले केही योजना बनाइएको छैन,’ प्रजिअ निरौलाले भने, ‘संक्रमण दर बढ्दै गएको खण्डमा आवश्यक तयारी गर्नुपर्ने हुन्छ । तर अहिलेको अबस्थासम्म अण्डरकन्ट्रोल छ भन्ने हाम्रो निष्कर्ष हो ।’ उनले अहिलेको अबस्थामा स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गर्ने र कोरोनाबिरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउने काममा आफूहरु लागेको बताए ।

जनस्वास्थ्य विज्ञ डाक्टर नवराज सुब्बाले विराटनगर लगायत मुलुकका मुख्य शहरमा पछिल्लो दिनदेखि फेरि नयाँ संक्रमित भेटिन थालेकाले महामारीको रुप लिनुभन्दा अगाडि नै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने कराउने काम कडाईका साथ लागू गराउन सरोकारपाला निकायलाई आग्रह गरे ।

‘विश्वको कतिपय मुलुकहरु पुनःकोरोना कहरमा फेसेका छन् । नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेको छन्,’ जनस्वास्थ्य विज्ञ सुब्बा भन्छन्, ‘खोप लगाउने कार्यपनि सँगसँगै भइरहेको छ । यद्यपि हामीले स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्नुपर्छ । अन्यथा विराटनगर पुनः एकपल्ट हटस्पट बन्न सक्छ ।

उनले खुल्ला नाका भएकाले नेपाल प्रवेश गर्ने मानिसको स्वास्थ्य जाँच गराएर मात्र नेपाल प्रवेश गराउन पर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर