हिमाल सफाइमा नेतृत्व लिँदै नेपाली सेना: यस्तो छ ६ हिमाल सफाइको तालिका – Nepal Press

हिमाल सफाइमा नेतृत्व लिँदै नेपाली सेना: यस्तो छ ६ हिमाल सफाइको तालिका

इटहरी । नेपाली सेनाले नेपालका उच्च हिमाली चुचुराहरूको सफाइ गर्ने भएको छ । ‘सफा हिमाल २०२१’ नामक अभियानमार्फत् नेपाली सेनाले हिमाल सफाइकाे नेतृत्व लिएको छ । ‘सेभ दी हिमालयज फर दी फ्युचर’ अर्थात् भविष्यको लागि हिमाल जोगाऔँ भन्ने नाराका साथ सेनाले हिमाल सफाइको अगुवाई गर्दैछ ।

हिमालय रेस्क्यू एशाेसिएसन, एक्पिडिसन अपरेटर्स अशाेसिएसन, नेपाल पर्वतारोहण संघ लगायतसँगको सहकार्यमा सेनाले हिमाल सफाइको नेतृत्व लिएको हाे । सेनाले नेपालका ६ वटा हिमालहरूको एकसाथ सफाइ गर्नेछ । ६ हिमालमा सगरमाथा, ल्हाेत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरी छन् ।

पर्वतारोहणकै शैलीबाट सफाइ अभियान हुने नेपाली सेनाले जानकारी दिएको छ । जसअनुसार चैत ३१ मा आरोहण टोलीलाई व्यानर हस्तान्तरण हुनेछ भने जेठ २२, विश्व वातावरण दिवसको दिन नकुहिने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण भएर समापन हुनेछ ।

वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, खुम्बु पाहाङ ल्हामू गाउँपालिका, मकालु बरुण गाँउपालिका, थासाङ गाँउपालिकाको समेत सहकार्य हुने ‘सफा हिमाल’ अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले जानकारी दिए ।

फागुन ६ गते पत्रकार सम्मेलनमार्फत् सेनाले ‘सफा हिमाल’ अभियान सार्वजनिक गरेको थियो । कार्यक्रममा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्का र सफा हिमाल समन्वय अधिकृत सेनानी आदित्य कार्कीले सम्बोधनसमेत गरेका थिए ।

‘यस अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा ग्लोवल वार्मिङको असर कम गर्न केही हदसम्म सहयोग पुर्‍याउने छ’, पत्रकार सम्मेलनमा संक्षिप्त मन्तव्य दिँदै सहायक रथी खड्काले भनेका थिए, ‘साथसाथै पर्यटन र पर्वतारोहणलाई टेवा पुर्‍याउँदै हिमालको दिगो संरक्षणमा समेत योगदान दिन यस अभियान सफल हुनेमा आशावादी समेत रहेका छौं ।’

हिमाल सफाइको संकलित फोहोर वातावरणमा काम गर्ने संस्थालाई पुनःप्रयोगको लागि हस्तान्तरण गर्ने सेनाले बताएको छ ।

सेनाका अनुसार ६ वटा हिमाल सफा गरेर जम्मा भएको फोहोर खुम्बु क्षेत्रको नाम्चे, मकालु क्षेत्रको नुन तथा धौलागिरी क्षेत्रको जोमसोममा हवाइ माध्यमबाट ओसारिनेछ भने त्यहाँबाट सडकमार्ग हुँदै काठमाडौं लगिनेछ ।

दिगो विकास, जलवायु परिवर्तन र हिमाल आरोहणलाई सफा बनाउन गरिएको अभियान गरेको सेनाको भनाइ छ ।

हिमाल सफाइमा ४३ सैनिक र ६९ शेर्पा सहयोगी सहभागी हुने

सेनाले नेतृत्व लिएको हिमाल सफाइ अभियानको तयारीमा सेना सक्रिय भएको छ ।

हालसालै नेपाली सेनाको सफाइमा संलग्नहरू मुस्ताङ अभ्यास गर्न पुगेका छन् । नेपाल आर्मी हाइ एल्टिच्युट एन्ड माउन्टेन वारफेर स्कुल जोमसोममा टोलीले तालिम लिएको छ । हिमाली काखमा भएको तालिममा सैनिक सहभागी छन् ।

 

 

सफा हिमाल अभियानमा नेपाली सेनाका ४३ र ६९ जना शेर्पा सहयोगी सहभागी हुनेछन् । सेनाका अनुसार ४३ सैनिकमा २६ जनाले आरोहणतर्फ सक्रिय हुनेछन् भने बाँकीले अन्य प्राविधिक सहयोग गर्नेछन् । २६ जनै सैनिकहरूले ६ हजार मिटर माथिको हिमाल आरोहणको अनुभव लिइसकेको समन्वय अधिकृत सेनानी कार्कीले बताए ।

कार्कीका अनुसार २६ जनाको समूहका ७ जनाले यसअगाडि नै सगरमाथा आरोहणको अनुभव समेत लिएका छन् ।

सेनाको तेश्रो ठूलो हिमाल सफाइ अभियान

एकै समयमा ६ हिमाल सफाइ नेतृत्व गरेको सेनाको यो तेश्रो ठूलो हिमाल सफाइ अभियान हो । यस अगाडि सन् २०१३ र २०१९ मा समेत नेपाली सेनाले हिमाल सफाइ गरेको थियो ।

सफा हिमाल अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीका अनुसार सन् २०१३ मा ४ टन र सन् २०१९ मा १० टन फोहोर नेपाली सेनाले संकलन गरेको थियो ।

दुवै अभियान सगरमाथामा केन्द्रित थियो ।

यस्तो छ हिमाल सफाइ र फोहोर संकलनको गणित

सेनाले अप्रिल १५ (वैशाख २) गतेभित्र सबै ६ हिमालको आधार शिविरमा क्याम्प खडा गर्नेछ । क्याम्पबाट आधार शिविर तथा माथिको क्षेत्रको फोहोर संकलन हुनेछ । सगरमाथाबाट सबैभन्दा धेरै १६ टन फोहोर संकलन हुनेछ । जसमा ९ टन फोहोर आधार शिविरमाथिबाट संकलन हुनेछ ।

सगरमाथापछि सबैभन्दा धेरै ५ टन फोहोर आमा दब्लम हिमालबाट हुनेछ । जसमा ३ टन आधार शिविरमाथिको क्षेत्रबाट हुनेछ । मकालु र धौलागिरीबाट भने समान ५/५ टन फोहोर संकलनको लक्ष्य छ । जसमा आधार शिविरमाथिबाट २/२ टन फोहोर संकलन हुनेछ ।

पुमोरि हिमालबाट हुने ३ टन फोहोर संकलनमा १ टन आधार शिविरमाथिको क्षेत्रबाट हुनेछ भने ल्होत्सेको १ टन फोहोरमा सबै आधार शिविरमाथिको क्षेत्रको हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर