रात्रिकालीन बजारमा लकडाउनको झल्को, ९ बजे नै चकमन्न (भिडियो) – Nepal Press

रात्रिकालीन बजारमा लकडाउनको झल्को, ९ बजे नै चकमन्न (भिडियो)

काठमाडौं । नेपालमा कोरोनाको नयाँ भेरियन्ट फैलिनसक्ने भन्दै विभिन्न रणनीतिमा जुटिरहेको सरकारले सबैभन्दा पहिलो निशाना रात्रिकालीन व्यवसायलाई बनायो ।

कडा आदेश नदिए पनि रात्रिकालीन व्यवसाय ९ बजेपछि सञ्चालन नगर्न अनुरोध गर्दै सूचना जारी गरेको छ ।

रात्रिकालीन बजारमा चहलपहल बढ्ने भनेकै ९ बजेपछि हो । तर, स्वास्थ्य मन्त्रालयले निकालेको सूचनापछि यसको प्रत्यक्षअसर बजारमा देखिन थालेको छ । अहिले रात्रिकालीन व्यवसायका केन्द्र भनेर चिनिएका ठमेल, दरबारमार्ग र न्यूरोड राति ९ बजेपछि सुनसान जस्तै बन्न थालेका छन् ।

दिउँसोभन्दा पनि रातिको समयमा गुलजार देखिने गर्छन् दरबारमार्ग, ठहेल, न्यूरोड लगायतका क्षेत्र । तर, नेपाल प्रेसको टीम राति साढे आठ बजे पुग्दा नै त्यहाँको चहलपहल साम्य हुन थालिसकेको थियो । त्यहाँको माहोलले लकडाउनको झल्को दिन्थ्यो । पसलहरूमा ग्राहक थिएनन् । रेष्टुरेन्ट, क्लव र दोहोरी साँझले पनि सेवाग्राहीको प्रतिक्षामा झोक्राइरहेका थिए ।

साँझपख घुमघाम र खानपिनका लागि निस्केका ग्राहकहरू पनि बेलुका साढे ८ देखि ९ बजे भित्रमा फर्किन थालेको व्यवसायीले बताए । रेष्टुरेन्ट, क्लब र दोहोरी साँझ प्रवेश गर्ने गेटमा नै थर्मल गनले तापक्रम नापेको देख्न सकिन्थ्यो ।

दरबारमार्गमा सरकारले ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न निर्देशन दिएपछि ग्राहक घटेको देखिन्छ । दबारमार्गका सडक छेउका रूखहरूमा बालिएका बत्तिहरू पनि साढे ९ बजे नै निभाइन्छन् ।

नयाँ वर्षको आगमनसँगै व्यापार उकासिने आशामा रहेका व्यवसायीहरू निराश बनेका छन् । सरकारले राति ९ बजेपछि व्यवसाय बन्द गर्न निर्देशन दिँदा आफूहरू समस्यामा परेको उनीहरुले बताए । प्रहरीले जबरजस्ती बन्द नगराए पनि सरकारले आफैं त्रास फैलाएपछि ग्राहकहरू नै नआएको उनीहरूको भनाइ छ ।

दबारमार्गको किङ्स लाउन्जका सञ्चालक तथा दबारमार्ग व्यवसायी संघका संयोजक कुमार गुरुङले सरकारले पहिले पनि ९ महिना लामो लकडाउन गर्दा मर्कामा परेका व्यवसायीलाई कुनै राहत नदिएको बताए ।

उनले भने, ‘हामीले विदेशको कुरा गरेर हुँदैन । विदेशमा लकडाउन भयो भनेर नेपालमा पनि हुन्छ भन्ने हल्ला चलाइएको छ । अरु समयमा कोरोना नसर्ने तर राति ९ बजेपछि सर्ने स्वास्थ्य मन्त्रालयको कस्तो सोच हो ?’

फेरि लकडाउन गरिए कहिल्यै उठ्न नसक्ने गरी थला पर्ने व्यवसायी बताउँछन् । अब व्यवसायीसँग ऋणको व्याज तिर्ने क्षमतासमेत नभएकाले त्यसको जिम्मा सरकाले लिनुपर्ने उनीहरुको माग छ ।

‘अब पनि बन्द भयो भने रात्रिकालीन व्यवसायीहरुले टेबल, चम्चा र प्लेट लिएर विरोधमा उत्रिनुको विकल्प छैन,’ गुरुङले भने ।

सरकारले पहिला गरेको लकडाउनले के–कति फाइदा भयो र कति घाटा भयो भन्ने समिक्षा गर्नुपर्ने अर्का व्यवसायी किरण श्रेष्ठ बताउँछन् । लकडाउपछि अब तंग्रिन सकिन्छ कि भन्ने अवस्था आएको बेला सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्न उर्दी गरेको उनको गुनासो छ ।

‘सरकारको निर्णयविरुद्ध व्यवसायी कसरी अगाडी बढ्ने भनेर योजना बनाउन सुरु गरेका छौं,’ उनले भने ।

यसअघि ९ महिना लामो लकडाउनका कारणले देशभरमा लाखौंले रोजगारी गुमाएका थिए । उनीहरुमध्ये धेरै काममा फर्के पनि कतिपय बेरोजगार नै छन् । अब फेरि लामो लकडाउन गरिएमा धेरैले दिर्घकालीन रुपमै रोजगारी गुमाउने व्यवसायी बताउँछन् ।

गुरुङले भने, ‘रात्रिकालीन व्यवसायलाई बन्द गराएर रोजगारी गुमाएकाहरुलाई सरकारले के दिन्छ ? पहिले पनि ९ महिना लकडाउन हुँदा सरकारले ९/१० केजी चामल दिएको थियो । त्यो चामलले ९ महिना खान पुग्यो होला ? फेरि लकडाउन गर्दा अवस्था के होला ?’

अहिले जनस्वास्थ्यका मापदण्ड पुरा गरेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा पनि सरकारले रोकावट गरिरहेको उनले बताए ।

‘दिनभरि मान्छेहरु रमिता गरेर हिँड्ने, राजनीतिक पार्टीले हाजारौंको संख्यामा भेला गराउन हुने, तर राति ९ बजेपछि व्यवसाय बन्द गराउने यो कस्तो निर्देशन हो ?’ उनले भने ।

दरबारमार्गको ओपीएम रेष्टुरेन्ट एण्ड बारका फुड एण्ड वेभरेज म्यानेजर रेबनकुमार क्षेत्रीले ९ महिना लामो लकडाउनले पर्यटन क्षेत्रलाई ठूलो समस्या पारेको बताए । लकडाउनपछि बामे सर्ने अवस्थामा रहेको रात्रिकालीन व्यवसाय फेरी बन्द गर्ने हो भने पहिलेको जस्तै समस्या आउने उनको भनाइ छ ।

क्षेत्रीले भने, ‘रेष्टुरेन्टमा सेवाग्राहीे बढ्न थालेपछि २० जनाबाट कर्मचारी थपेर ४० जना पुर्याउँदै थिएँ । तर फेरि बन्द हुने हल्लाले व्यवसाय समस्यामा परेको छ । अब कसरी अगाडि बढ्ने भन्ने नै सोचेर दिन जान्छ ।’

लकडाउनपछि पुरानै अवस्थामा व्यापारलाई फर्काउन सकिने आशा उनलाई थियो । तर बन्दको हल्लाले त्यो आश मरेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले रात्रिकालीन व्यवसाय ९ बजेबाट बन्द गर्न भन्नु र त्यसको भोलिपल्ट प्रधानमन्त्रीले लकडाउन पनि हुनसक्ने चेतावनी दिनुले चिन्तामा परेका छन् व्यवसायी ।

‘लकडाउन लकडाउन खुलेपछि पुरानो व्यापारको २० प्रतिशतबाट सुरु भएर विस्तार हुने क्रममा थियो । ग्राहकहरुको पनि आकर्षण वृद्धि हुँदै गहिरहेको थियो । तर अहिले बन्दको हल्लाले पुन व्यवसायमा समस्या पर्ने भएको छ । ग्राहक पनि बन्द हुन्छ भनेर साँझ रेष्टुरेन्टमा आउनै छाडेको छन्,’ उनले भने ।

लकडाउनभन्दा पहिले दैनिक करिब २ लाखको व्यापार गर्ने रेष्टुरेन्टमा अहिले करिब ७० देखि ८० हजारको मात्रै व्यापार हुने गरेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर