चक्रपथबाहिर कहाँ-कहाँ बन्दैछन् नयाँ सडक ? – Nepal Press

चक्रपथबाहिर कहाँ-कहाँ बन्दैछन् नयाँ सडक ?

काठमाडौं । गत आर्थिक वर्षमा मुख्य सडको निर्माणमा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आर्थिक वर्षमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आर्थिक वर्षमा २० किमी सडक निर्माण सकिएको कार्यलयले जनाएको छ ।

काठमाडौँबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले बताए।

उनका अनुसार अहिले काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ । चक्रपथ बाहिरका क्षेत्रमा बूढानीलकण्ठबाट डाडाँगाउँ, भङ्गाल र कपन क्षेत्रमा भइरहेको छ । उनले भने, “यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ ।”

चालू आर्थिक वर्षमा नै बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने उनले बताए। यो सडकमा अहिले नेपाल विद्युत प्राधिकरणले विद्युतीय तार बिछ्याउने कार्य गरिरहेको छ । उनले भने, “प्राधिकरणले तार भूमिगत गरेर खाल्टा टालेपछि त्यहाँ निर्माणको प्रक्रिया अघि बढाइनेछ ।”

गत आर्थिक वर्षमा काठमाडौँका मुख्य सडकमा निर्माण वा मर्मतको काम भएकामा चालू आर्थिक वर्षमा चक्रपथ बाहिर काम बढी भएको देख्न सकिन्छ । मुख्य सडकमा पनि गत आवमा बाँकी ठाउँमा ‘ओभर ले’ गरिने प्रमुख नेपालीले बताए ।

अहिले निर्माणको काम भइरहेको सडकमा दोहोरोपना नआओस् भनेर अरु निकायसँग समन्वयमा काम गरिरहेको कार्यालयले जनाएको छ । सडक बनाएपछि खन्न नपरोस् भनेर अरु निकायसँगको समन्वयमा काम अघि बढाइएको हो । उनले भने, “चक्रपथ बाहिर काम कम देखिने भए पनि बाहिरी क्षेत्रमा काम भइरहेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *