एमाले बागमतीका सबै कमिटी अधिवेशन आयोजकमा रुपान्तरण, यी हुन् प्रदेश र जिल्ला पदाधिकारी – Nepal Press

एमाले बागमतीका सबै कमिटी अधिवेशन आयोजकमा रुपान्तरण, यी हुन् प्रदेश र जिल्ला पदाधिकारी

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटी अन्तर्गतका १३ वटै जिल्लाको अधिवेशन आगामी भदौभित्र गरिसक्न निर्देशन दिइएको छ । प्रदेश कमिटीको शनिबार बसेको बैठकले चितवनबाहेक १३ वटै जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरी अध्यक्ष र सचिव तोकेको छ।

जिल्ला अध्यक्षहरू गत पुस ५ मा नेकपा विभाजनपछि केपी ओली पक्षले बनाएकाहरूलाई नै निरन्तरता दिइएको छ भने केही जिल्लामा सचिव नयाँ चयन भएका छन् ।

चितवनमा भने तत्कालीन अध्यक्ष कृष्णभक्त पोखरेल संस्थापन पक्षमा लागेकाले उनकै अध्यक्षतामा बैठक बसेर पार्वती रावललाई अध्यक्ष बनाइ जिल्ला अधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने सहमति भएको छ ।

चितवनमा साबिक नेकपाको ओली पक्षले रावल अध्यक्ष र प्रकाश खनाल सचिव रहेको कमिटी गठन गरेको थियो ।

काठमाडौंमा सचिव चयन गर्न बाँकी रहेको छ । बैठकले ३२९ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

कमिटीमा यसअघि नेकपाकालीन प्रदेश सदस्य रहेका माधव नेपाल पक्षकाहरूलाई पनि यथावत राखिएको छ भने १२ जना माओवादी नेताहरू एमालेकै प्रदेश कमिटीमा बसेका छन् ।

एमाले बागमती प्रदेश कमिटीका इञ्चार्ज रामबहादुर थापा बादलको उपस्थितिमा बसेको बैठकले वैशाख २० गते १३ वटै जिल्ला कमिटी पुनर्गठन गरि बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

सबै जिल्ला अधिवेशन आयोजक कमिटीमा अध्यक्ष र सचिव रहने र असार मसान्तभित्र सदस्यता नवीकरण गरी भदौभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।

त्यस्तै वैशाख २५ गते प्रदेशभित्रका ११९ वटै स्थानीय तहमा एकै दिन कमिटी पुनर्गठन गरी सम्मेलन आयोजक समितिको बैठक सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकमा माधव नेपाल पक्षका नेताहरू भने सहभागी थिएनन् । यसअघि माधव पक्षमा रहेका भक्तपुर जिल्ला इञ्चार्ज तथा चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र सहभागी थिए ।

माधव नेपाल पक्षले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा बागमती प्रदेश समानान्तर कमिटी गठन गरिसकेको छ । एमाले बैठकमा समानान्तर कमिटीको बारेमा कुनै छलफल नभएको र त्यस्ता गतिविधिलाई सम्बोधन समेत नगरिने अध्यक्ष पोखरेलले नेपाल प्रेसलाई बताए ।

पोखरेलले भने- बाहिर कसले के के गरिरहेका छन् त्यो सरोकार रहेन । हामीले अहिलेसम्म विधिसम्मत ढंगले रहेकाहरूलाई कमिटीबाट हटाएका छैनौं ।

समूहगत रुपमा कसैसँग छलफल हुँदैन तर व्यक्तिगत रुपमा सबैलाई उचित जिम्मेवारी दिएर अघि बढ्ने निर्णय पार्टीको हो । सूर्य चिह्नको दुरुपयोग गरेर एमालेका नाममा अरु नै पार्टीको एजेण्डामा चल्ने गतिविधिहरू बन्द गर्न भनेका छौं ।

प्रदेश कमिटीको सूची केन्द्रीय कमिटी बैठकबाट अनुमोदन भएपछिमात्र सार्वजनिक गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर