रुपन्देहीका बालबालिकामा बढी भेटिन थाल्यो कोरोना संक्रमण – Nepal Press

रुपन्देहीका बालबालिकामा बढी भेटिन थाल्यो कोरोना संक्रमण

रुपन्देही । रुपन्देहीमा शुन्यमा झरेको कोरोना भाइरको संक्रमण विस्तारै बढ्न थालेको छ । केही दिनयता दिनहुँ कोरोना भाइरसको संक्रमित भेटिन थालेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

छिमेकी देश भारतमा तीव्र गतिमा बढेको संक्रमणका कारण खुला सीमा भएका कारण संक्रमण बढ्न सक्ने आंकलन स्वास्थ्यकर्मीको छ । स्वास्थ्यकर्मीका अनुसार नेपालमा पनि कोरोनाको दोस्रो चरण सुरु आइसकेको छ ।

संक्रमितको संख्या दिनहुँ बढेसँगै रुपन्देहीमा शुन्यमा झरेको संक्रमण विस्तारै बढ्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।
बुधबार ६ जनामा देखिएको संक्रमण बिहीबार ९ जना र शुक्रबार थप १५ जनामा देखिएकोको संक्रमण दर बढ्दै गएको प्रष्ट हुन्छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो एकसातामा रुपन्देहीमा मात्रै ३२ जना पुरुष र २४ जना महिला गरी ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले पहिलाभन्दा अलि फरक प्रकृतिको संक्रमण छ, युवा तथा विद्यार्थीहरूमा बढी संक्रमण पाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए ।

नयाँ भेरियन्ट हो वा पुरानै हो भन्ने अवस्था छैन । तर बालबालिका र कम उमेर समूहमा संक्रमण देखिएको डा. गिरीले बताए । शुक्रबार थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७१ पुगेको छ ।

अहिले विद्यार्थी समूहमा पनि संक्रमण देखिएको छ । ‘भैरहवामा संक्रमितको ट्रेसमा परेका विद्यार्थीहरुमा पनि थप संक्रमण पुष्टि भएकोले हामी सबै सर्तक हुन जरुरी छ’ गिरीले भने ’हामीले सबै स्थानीय तहलाई निगरानी बढाउने, बाहिरबाट आएकालाई क्वारेन्टिन गर्ने, शंकास्पदको परीक्षण गरी आइशोलेशनमा राख्ने, कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम गरिरहेका छौ ।’

रुपन्देहीका ४ वटा ल्याबबाट परीक्षण पनि गरिरहेको र आरडिटी एन्टिजिन किटबाट पनि परिक्षणलाई पालिका स्तरसम्म पठाएको गिरीले बताए ।

बुटवलमा रहेको नेशनल प्याथल्याबको निजी ल्याबसहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार रुपन्देहीका विभिन्न ५ स्थानीय तहमा १५ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा–५ महिला र ४ पुरुष गरी ९ जना संक्रमित शुक्रबार थपिएका छन् ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका क्षेत्रमा २ महलिा र १ पुरुष गरी ३ जना, सियारी, मायादेवी र कंचन गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा कुल संक्रमितको संख्या ९ हजार १ सय ९६ पुगेको छ ।

तथ्याङ्कअनुसार हालसम्म एक सय ५६ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ८ हजार ९ सय ६९ जना निको भएर फर्किसकेका छन्, ७१ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत छन् ।

सीमा क्षेत्रमा निगरानी
भारतका विभिन्न प्रान्तमा कोभिड-१९ का संक्रमित बढ्न थालेपछि रुपन्देहीको सीमा क्षेत्रमा निगरानी बढाउन थालिएको छ ।

भारतको विभिन्न ठाउँमा पुनः कडाइ भएकोले त्यहाँ रहेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा कडाई गरेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात, छत्तीसगढ, उत्तरप्रदेशलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ ।

रुपन्देहीमा यस क्षेत्रकै ठूलो नाकाको रुपमा रहेको बेलहिया नाकाबाट धेरै नागरिक ओहोरदाहोर गर्ने भएकाले निगरानी बढाउनुपरेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतमा संक्रमित बढ्न थालेपछि रोजगारीको लागि गएका नेपालीहरू पुनः गाउँघर फर्किन थालेकोले सीमा क्षेत्रमा जोखिम बढेको हो । यो जोखिमलाई कम गराउन नाकामा हेल्थ डेस्क सक्रिय बनाइएको छ । संक्रमण नेपालमा पनि भित्रनसक्ने प्रबल सम्भावना रहेकोले वेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरू नगर्न आग्रह गरेको छ । सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरिएको छ ।

सीमा क्षेत्रमा नेपाल आउने यात्रुहरूका लागि भने अहिले कुनै सावधानी नअपनाइएको भन्दै आलोचना बढेपछि स्वास्स्य कार्यालय तथा प्रशासनलले पहल थालेका हुन् । सीमामा नेपालतर्फबाट निर्वाध रुपमा किनमेलका लागि आवतजावत भइरहेको छ, स्वास्थ्य चेकजाँचका लागि बनाइएको डेस्कमा अहिलेसम्म प्रहरीले भारतबाट आउनेहरुकोे तथ्याङक मात्र लिने गरेको छ ।

भारतबाट नेपाल आउने शंकास्पद बिरामीलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टीजिन किटबाट परीक्षण गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिए । ‘भारतमा संक्रमण बढेसँगै सक्रिय रुपमा हेल्थ डेस्कबाट जाँच बढाउन लागेको र पोजिटिभ देखिए आइसोलेटेडका लागि क्वारेन्टाइनमा राखिने छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर