माधव नेपालको आश्वासन- समानान्तर कमिटीमा लागेकालाई आउने चुनावमा टिकट पक्का – Nepal Press

माधव नेपालको आश्वासन- समानान्तर कमिटीमा लागेकालाई आउने चुनावमा टिकट पक्का

‘निर्वाचन आयोगले हाम्रो उजुरी नै सुन्दैन,के भन्ने ? कहाँ गएर निवेदन दिने?’

वीरगञ्ज । नेकपा एमालेबाट निलम्बित भएपछि समानान्तर कमिटी गठन अभियानमा रहेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्तालाई आउने चुनावमा टिकटको ग्यारेन्टी गरेका छन् ।

वीरगञ्जमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले संकटको बेला साथ दिएकाहरूलाई टिकट दिइने बताएका हुन् । नेपाल पक्षले शनिवार वीरगञ्जमा भेला गरी बालगोपाल थापाको अध्यक्षतामा एमालेको पर्सा जिल्ला समानान्तर कमिटी गठन गरेको छ ।

नेता नेपालले निर्वाचन आयोगले एमालेको आधिकारिकता केपी ओलीलाई दिए पनि कार्यकर्ताले निराश हुनु नपर्ने र चुनावमा टिकट नपाइएला कि भन्न चिन्ता नलिन आग्रह गरे ।

उनले अहिले पनि एमाले पार्टी एउटै रहेको र केपी ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक छ भनेर निर्वाचन आयोगलाई आफूहरुले ओलीका निर्णय बदर गर्नका लागि पत्र बुझाएको बताए ।

नेता नेपालले नेकपा एमाले र माओवादी केन्द्रलाई ३ वर्षअघिकै अवस्थामा फर्काइदिने सर्वोच्च अदालतको फैसला विचित्रको भन्दै जन्मिसकेको बच्चालाई आमाको गर्भमा फर्काइदिएको बताए ।

फागुन २३ अघिनै निर्वाचन आयोगले नेकपाको आधिकारिकता आफूहरुलाई दिएको भए एमाले ब्युँतिए पनि अर्थहीन हुने नेपालको भनाइ थियो । आयोगले बेलैमा निर्णय नदिएर आफूहरुमाथि अन्याय गरेको नेपालले बताए ।

नेपालले निर्वाचन आयोगले एमाले भइसकेपछि ओलीले गरेका निर्णयविरुद्ध आफूहरुले उजुरी दिदा समेत कुनै निर्णय नगरेकोमा आपत्ति समेत जनाएका छन् ।

नेपालले भने, ‘पार्टीको कामकारवाहीको विषयमा कुन निर्णय ठिक छ,कुन बेठिक छ भन्ने बारेमा निर्णय गर्ने निर्वाचन आयोग छ । तर अहिलेसम्म कुनै निर्णय आएको छैन । के भन्ने ? कहाँ गएर उजुरी गर्ने ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर