तनहुँका असहाय तीन परिवारलाई घर हस्तान्तरण – Nepal Press

तनहुँका असहाय तीन परिवारलाई घर हस्तान्तरण

जिल्लाको बन्दीपुर गाउँपालिकाको सहकार्य तथा कर्मफ्लाइट्सको भूकम्परहित घरबास निर्माण परियोजनाको आर्थिक सहयोगमा बन्दीपुर-२ का तीन घरपरिवारलाई घर हस्तान्तरण गरिएको छ ।

गरिब तथा असहाय परिवारलाई घर निर्माण गरी परियोजनाको तर्फबाट प्रेमबहादुर कुँवर, कृष्ण पाण्डे र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्तरूपमा घरको चाबी हस्तान्तरण गरेका हुन् । स्थानीय मनमाया भुजेल, मङ्गल विक र गोरे विकका परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।

भुजेलको ऐलानी र विकद्वयको जग्गाधनी प्रमाणपत्र भएको जग्गा व्यवस्था गरी परियोजनाको सहयोगमा घर निर्माण गरिएको उनले बताए । सोही वडास्थित बगैँचाभित्र बसोबास गर्दै आएका विकका दुई घरपरिवारलाई बगैँचाबाट बाहिर बस्नका लागि विसं २०७२ मा ब्लकमा परेको जग्गाको पुर्जा वितरण गरिएको उनले जानकारी दिए ।

बगैँचाको संरक्षण गर्नुपर्छ भनेर बगैँचाभित्र रहेका घरलाई बाहिर बस्नका लागि पूर्जा दिलाएको स्थानमा घर निर्माण गरिएको हो । उनले भने, “उक्त पूर्जा भएको स्थानमा विकका दुई घर र भुजेलको ऐलानी जग्गामा घर निर्माण गरिएको हो ।’ विगत लामो समयदेखि भुजेल परिवार सोही स्थानमा बस्दै आएकाले सोही स्थानलाई कायम गरी घर निर्माण गरिदिएको गाउँपालिकाले जनाएको छ ।

दसैंअघि घर निर्माण थालिए पनि काम गर्ने जनशक्ति अभावमा ढिलाइ हुन गएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । तीनवटै घरपरिवारलाई करिब चार आनाका दरले जग्गा उपलब्ध गराइएको उनले बताए ।

पक्की घर पाएपछि असहाय गरिब परिवार मक्ख छन् । उनले भने, ‘हावाहुरी आउँदा र पानी पर्दाको समयमा सुरक्षित भएर बस्न पाउने भएपछि खुशी भएका छन् ।’

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर