बैंकमा देखिन थाल्यो तरलता अभाव, ब्याजदरमा धक्का पुग्नसक्ने – Nepal Press

बैंकमा देखिन थाल्यो तरलता अभाव, ब्याजदरमा धक्का पुग्नसक्ने

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा तरलता कम हुदै गएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । अर्थतन्त्र चलायनमान हुँदै जाँदा कर्जाको मागभन्दा निक्षेप रकम बढ्न नसकेपछि तरलता अभाव सिर्जना हुन थालेको हो ।

हाल बैकको सीसीडी अनुपात ७८ प्रतिशत नाघिसकेको छ । यस हिसाबले नेपालका बैंक तथा वित्तीय संस्थामा कर्जायोग्य रकम करिब ३५ अर्ब रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देबकुमार ढकाल बताउँछन् ।

‘असोज महिनामा जस्तो अधिक तरलताको सुविधामा बैंक छैनन्, आजसम्म हेर्दा करिब ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीभित्र रहेकाले तरलतामा चाप पर्न थालेको देखिन्छ,’ उनले भने । चैत महिनामा सरकारले राजस्व संकलन बढी गर्ने भएकाले पनि तरलतामा दबाब पर्ने प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

सरकारले चैतमा मात्रै ७२ अर्व रुपैयाँ राजस्व संकलन गरिसकेको छ भने ६३ अर्ब रुपैयाँ खर्च गरेको छ । निर्माण क्षेत्रको काममा आएको तीव्रताले पुँजीगत वस्तुको माग बढ्दा आयात पनि दैनिक करिब साढे ८ अर्ब रुपैयाँ पुगेको छ । त्यसको असर पनि बैकिङ क्षेत्रमा पर्ने देखिन्छ ।

केन्द्रीय बैंकले हालसम्ममा १ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ भने केन्द्र, प्रदेश र स्थानीय तहका सरकारको खातामा ३ खर्ब रुपैयाँ पैसा थन्किएको छ । यो रकम सरकारले खर्च गर्न नसक्दा पनि बैंकिङ तरलतामा असर परेको हो ।

केन्द्रीय बैंकले चैत महिनामा मात्रै करिब २५ अर्ब हाराहारीमा ट्रेजरी बिल जारी गर्दै तरलता प्रशोचन गरेको छ । त्यस्तै चालू आर्थिक वर्षको सुरुवातदेखि नै तरलता प्रशोचन गरेको केन्द्रीय बैकले करिब ८४ अर्ब रुपैयाँ हाराहारीमा ट्रेजरी बिलमार्फत् रकम खिचेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल भने बैकको ‘कर्जा-निक्षेप अनुपात’ एलडी रेसियो २५ प्रतिशतभन्दा तल रहेकाले अझै पनि बैंकले १ खर्बको हाराहारीमा कर्जा प्रवाह गर्न सक्ने बताउँछन् । ‘सीसीडी अनुपातको आधारमा हेर्ने हो भने करिब ३५ अर्ब तरलता देखिन्छ, तर एलडी अनुपातका आधारमा नेपालका बैंकले १ खर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्छन्,’ दाहालले भने । सरकारले अबका ३ दिनमा करिब ४० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने भएकाले तरलता कसिलो हुँदै जाने उनको भनाइ छ ।

अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ तरलतामा दबाब पर्न थाले पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । तरलतामा ठुलै चाप पर्ने अवस्था सृजना भएमा केन्द्रीय बैंकले मौद्रिक उपकरण मार्फत् बजारमा मुद्राप्रदाय बढाउन सक्ने उनको भनाइ छ । सरकारले पछिल्लो चैत महिनामा दैनिक ४ अर्बको हाराहारीमा खर्च गरिरहेको तथा खर्चको रकम बढ्दै जाने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको श्रेष्ठले बताए ।

‘अहिले बैंकमा सीसीडी अनुपात ७८ प्रतिशत र अन्तरबैंक ब्याजदर बढेर २ प्रतिशत पुग्नुले तरलता अभाव सुरु भएको देखाउँछ, तर सरकारी खर्च पनि बढिरहेकाले आत्तिइहाल्नुपर्ने अवस्था छैन । राष्ट्र बैंकले बजारमा कुनै न कुनै माध्यमबाट तरलता इन्जेक्ट गर्छ,’ श्रेष्ठले भने ।

ब्याजदर कोरिडर पनि वाञ्छित सिमाभित्रै रहेकाले तरलता अभावको ठुलो असर बजारमा देखिइनहाल्ने श्रेष्ठको भनाइ छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार ब्याजदर कोरिडरको तल्लो सिमा रिपोदर १ प्रतिशत, माथिल्लो सीमा ५ प्रतिशत र नीतिगत रिपोदर ३ प्रतिशत रहेको छ ।

ब्याजदर बढ्न सक्ने

सरकारले चैत महिनामा १ खर्बभन्दा बढी रकम राजस्ववापत संकलन गर्ने भएकाले वैशाख महिनामा बैंकको ब्याजदर आधा प्रतिशतदेखि १ प्रतिशतले बढ्न सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । ‘सरकारले राजस्व संकलनको तुलनामा खर्च बढाएन भने वैशाख महिनामा ब्याजदर १ प्रतिशतको हाराहारीमा बढ्न सक्छ, तर जेठदेखि भने सामान्यतया खर्च ह्वात्तै बढ्ने परिपाटी भएकाले ब्याजदर अहिलेको अवस्थामा नै फर्किन्छ । पहिलेको जस्तो कर्जाको ब्याजदर १३-१४ प्रतिशत पुगेन भन्ने अवस्था छैन,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल पनि तरलतामा कमी हुँदा ब्याजदर बढ्न सक्ने संकेत गर्छन् । ‘तरलता घट्दै जाँदा ब्याजदर बढ्न सक्छ, तर बैंकले आफ्नो ब्याजदर विवरण प्रकाशन गर्नै बाँकी छ,’ उनले भने ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले चैत महिनाको सुरुदेखी नै निक्षेप आकर्षित गर्नका लागि मुद्दतिको ब्याजदर बढाउन थालिसकेका छन् । समयावधिका आधारमा नेपालका बैंकले मुद्दति खातामा ५.५ प्रतिशत देखि ८.५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । तर, अधिकांश बैंकको ब्याजदर ७.१ प्रतिशतको हाराहारीमा छ ।

कर्जाको ब्याजदर बढेमा त्यसको प्रत्यक्ष असर नेपालको सेयर बजारमा पनि पर्न सक्ने देखिन्छ । यतिवेला नेपालको सेयर बजार बुलिस ट्रेन्डमा रहेको छ । तरलता तथा ब्याजदरसँग सेयर बजारको ऋणात्मक सम्बन्ध रहँदै आएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर