कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा – Nepal Press

कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन्।

नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ-काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन् ।

“कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ”, उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ ।

कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए ।

कांग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । उहाँले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सकेमात्र कांग्रेस रुपान्तरण हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जीत हासिल गर्न सकिने बताए । विगतका अनुभवलाई विचार गरेर नयाँ पिंढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने बताए । पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले कांग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा कांग्रेसको सङ्गठन बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर