कोरोनाको नयाँ भेरिएन्ट : पुरानोभन्दा खतरनाक, यस्ता छन् अरु विशेषता – Nepal Press

कोरोनाको नयाँ भेरिएन्ट : पुरानोभन्दा खतरनाक, यस्ता छन् अरु विशेषता

काठमाडौं । पुस पहिलो साता नेपाल आइपुगेका तीनजनामा बेलायती प्रजातिको कोरोना (बी.१.१.७.) पुष्टि भयो । उनीहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको भाइरसको संकेत देखिएको थियो ।

यो उत्परिवर्तन हुने भाइरस अन्य कोरोनाभाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरुले बताएका छन् । यो भाइरस संक्रमण हुने व्यक्तिहरुमा अन्य कोरोनाभाइरसभन्दा बढी भाइरल लोड हुने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्ष छ ।

पुसको पहिलो साताको संक्रमणयता नेपालमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको आशंका विज्ञहरुले गरेका छन् । बेलायतमा देखिएको प्रजातिसँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

ईडीसीडी निर्देशक डा. कृष्णप्रसाद पौडेलले ब्राजिल र अफ्रिकामा समेत देखिएका नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाइएको बताए । उनका अनुसार हालै केही समुदायबाट लिइएका नमुनामा संक्रमण पुष्टि भएकामध्ये ७० प्रतिशतमा नयाँ प्रजाति भेटिएको छ । संक्रमित हुने स्कुले बालबालिका, शिक्षक र कर्मचारी बढी छन् ।

स्वास्थ्य मन्त्रालयले यसै साता विज्ञप्ति जारी गर्दै काठमाडौं र पोखराजस्ता ठूला सहरका विद्यालयमा पढ्न जाने विद्यार्थीमा संक्रमण बढिरहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । पछिल्लो समय युवा र बालबालिकामा संक्रमण बढेको र अस्पतालको आइसीयूमा भर्ना हुनेमा पनि यही उमेर समूह रहेको मन्त्रालयले जनाएको छ । बालबालिकामा संक्रमण दर बढी हुँदा यसले बृद्धवृद्धा र जोखिम समूहलाई थप समस्या हुने मन्त्रालयको भनाई छ । बालबालिकामा कोभिडको लक्षण कम हुने र उनीहरु लक्षणविनै संक्रमण सार्नसक्ने वाहक (एसिम्टोम्याटिक क्यारियर) हुनसक्ने जोखिम रहेको मन्त्रालयको भनाई छ ।

विहिबारसम्म नेपालमा कोरोनाबाट दैनिक संक्रमण हुने दर साढे ८.२८ प्रतिशत देखिएको छ । चैत २० गते ५.०२ प्रतिशत थियो । सात दिनमै साढे तीन प्रतिशतले संक्रमण वृद्धि हुनुलाई विज्ञहरु थप जोखिमको रुपमा व्याख्या गर्छन् । ईडीसीडीका निर्देशक डा. पौडेल कम उमेर समूहका व्यक्तिमा बेलायती भेरिएन्ट चाँडो बढी संक्रमित हुने र यसले अस्पतालको आइसीयू र भेन्टिलेटरमा बस्ने दर बढ्ने बताउँछन् । विहिबारसम्म मुलुकको सक्रिय संक्रमित संख्या पनि २,४०० नाघेको छ ।

अस्पतालमा आइसीयूमा बिरामीहरु धेरै नै भर्ना भैसकेका छन् । अब कोरोनाको ग्राफ उकालो लाग्यो । हामीले ध्यान दिएनौं भने, संक्रमण बढ्न सक्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी कोरोनाको दोस्रो उभारमा कोही सिकिस्त भए अघिल्लो पटकभन्दा उपचारमा कठिन हुने र मृत्युदर बढ्ने बताउँछन् । उनका अनुसार नयाँ भेरिएन्टको संक्रमणशीलता र मृत्युदर दुबै उच्च रहेको छ । नेपालमा हाल उपलब्ध एन्टीबायोटिकले कोभिडले सिकिस्त बनाएका व्यक्तिलाई उपचार गर्न अत्यन्त कठिन हुने उनले बताए । पछिल्लो समय बढेको वायुप्रदूषणले बिरामीको श्वासप्रश्वास प्रणालीलाई असर पारेको र अस्पतालमा श्वासप्रश्वासको समस्या लिएर आउनेको चाप बढेको सुवेदी बताउँछन् ।

‘पहिलो लकडाउनमा हावाको प्रदूषण एकदम कम थियो र दम तथा फोक्सोजस्ता दीर्घरोगीलाई असर कम देखिएको थियो’ सुवेदी भन्छन्, ‘अहिले स्थिती उल्टो छ । ऐतिहासिक वायुप्रदूषणले सबैको स्वास्थ्य बिग्रिएको छ । कोभिड र प्रदूषणबाट बच्न सर्जिकल मास्क हैन, एन-९५ मास्क नै लगाउनुपर्छ ।’ कोभिडको बिरामीलाई अहिलेको वायुप्रदूषणले झनै समस्या निम्त्याएको उनको भनाई छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लो समय नयाँ प्रजातिको कोरोनाको लक्षणजस्ता देखिने बिरामीले अस्पताल भरिन सुरु भएको बताउँछन् ।

‘अहिले जुन भीडभाड भैरहेको छ, त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ र २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ’ उनी भन्छन्, ‘अस्पतालमा आइसीयूमा बिरामीहरु धेरै नै भर्ना भैसकेका छन् । अब कोरोनाको ग्राफ उकालो लाग्यो । हामीले ध्यान दिएनौं भने, संक्रमण बढ्न सक्छ ।’

‘बी-११७’ भनिने यो यूके भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका कारण अन्य कोरोनाभाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रमण गर्ने विज्ञहरु बताउँछन् । हाल प्रयोगमा आइरहेका खोपहरुले बी-११७ विरुद्ध काम गर्छ वा गर्दैन भन्ने अध्ययनहरु पनि भैरहेका छन् ।

अर्कोतर्फ नयाँ प्रजातिको कोरोना विदेशबाट आउने मान्छेमा पुष्टि भएकाले उनीहरुलाई क्वारेन्टिनमा राखेर अनुगमन गर्ने भनिए पनि त्यसको प्रभावकारितामा प्रश्न उठेको छ । सरकारले अहिले बेलायत र त्यहाँबाट ट्रान्जिट हुँदै आउने यात्रुलाई अनिवार्य क्वारेन्टिनमा बस्न भनेपनि त्यसको सहि पालना भएको देखिँदैन ।

यसै महिना बेलायतबाट नेपाल आएका मास्टरसेफ प्रतिस्पर्धी सन्तोष शाहले क्वारेन्टिन नियम उल्लंघन गरेको भनेर आलोचना भएको थियो । उनी आएकै दिनमा भीडभाडसहित जुलुसमा सहभागी हुनुका साथै मिडिया अन्तर्वार्तामा भागदौड गरेका थिए ।

यतिबेला छिमेकी मुलुक भारतमा बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा उत्परिवर्तन भएका नयाँ प्रजातिका कोरोना फैलिएको छ । भारतमा पुनः लकडाउन र कर्फ्यु सुरु हुन थालेपछि विभिन्न नाकाबाट नेपाल आउनेको क्रम बढिरहेको छ । सीमानाका भद्रगोल भएको र हेल्थ डेस्कको व्यवस्था नभएको गुनासो पनि छ ।

सीमामा एन्टीजेन परीक्षण गर्दा ठूलो संख्यामा कोरोनाको नयाँ प्रजातिसँग मिल्ने भाइरस भेटिएको अनुमान स्वास्थ्य मन्त्रालयले गरेको छ । नेपालमा नयाँ जिन सिक्वेन्स गर्न मिल्ने प्रयोगशाला नहुँदा मन्त्रालयले पुष्टिको लागि हङकङस्थित विश्व स्वास्थ्य संगठनको ल्याबमा पठाएको छ ।

नयाँ भेरिएन्टका विशेषता

कोरोनाको यूके भेरिएन्ट पहिलोपटक बेलायतमा पत्ता लागेको हो । बेलायती सरकारका परामर्शदाताहरुको बिचारमा यो भाइरसको नयाँ प्रकारले अन्यको दाँजोमा चाँडो संक्रमण हुने गुण बोकेको छ । तर, रोगको लक्षण भने पहिलेभन्दा फरक नरहेको विज्ञहरुले बताएका छन् ।

यो भाइरसले मुख्य तीन कारणबाट विज्ञहरुलाई चिन्ता दिइरहेको छ । पहिलो- भाइरसको नयाँ प्रकारले अन्य प्रकारलाई चाँडो प्रतिस्थापन गरिरहेको छ । दोस्रो- नयाँ प्रकारमा देखिएको उत्परिवर्तन भाइरसको महत्वपूर्ण हुनसक्ने अंशलाई प्रभाव पार्ने खालको छ । तेस्रो- केही उत्परिवर्तन मानव कोषलाई प्रभाव पार्ने भाइरसको क्षमता बढाउने खालको हुने गरेको प्रयोगशाला परीक्षणमा भेटिएका छन् ।

पहिलोपटक गत सेप्टेम्बरमा यूके भेरिएन्ट फेला परेको थियो । पुष्टि भैञ्जेलसम्म यसले बेलायतको राजधानी लन्डनको एक चौथाइ जनसंख्यालाई संक्रमित तुल्याइसकेको थियो । चीनको वुहानमा सबैभन्दा पहिलो जुन कोरोनाभाइरस फेला परेको थियो, त्यो अन्य देशमा संक्रमण फैलाइरहेको भाइरससँग दुरुस्तै मिल्दैन ।

बी-११७ भनिने यो यूके भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका कारण अन्य कोरोनाभाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रमण गर्ने विज्ञहरु बताउँछन् । हाल प्रयोगमा आइरहेका खोपहरुले बी-११७ विरुद्ध काम गर्छ वा गर्दैन भन्ने अध्ययनहरु पनि भैरहेका छन् ।

अहिले संसारमा चर्चामा आएका तीन उत्परिवर्तित कोरोनाभाइरस छन् जसमा बी-११७ भनिने बेलायती म्युटेन्ट भाइरस, बी-१३५१ भनिने दक्षिण अफ्रिकाको नयाँ प्रजाति र ब्राजिलमा भेटिएको पी-१ भेरिएन्ट । दक्षिण अफ्रिकी र ब्राजिलियन प्रजातिले मानिसको एन्टीबडीलाई बिस्तारै कम गराएर खोपको प्रभावकारितालाई पनि चुनौति दिइरहेको जनाइएको छ । अहिले ब्राजिलमा एकैदिनमा ४ हजारभन्दा बढीको ज्यान जाने गरी फैलिएको पी-१ भाइरस कोरोनाको नयाँ प्रजाति हो ।

जुलाइमा ५० हजारभन्दा बढी संक्रमण हुने प्रक्षेपण

काठमाडौंमा समुदायस्तरमै कोरोनाको दोस्रो लहर फैलिएको बताइएपनि सरकारले चाहिँ परीक्षणको दायरा बढाउन सकेको छैन । आगामी तीन महिनामा थप ५० हजारभन्दा बढी संक्रमित हुनसक्ने अनुमान स्वास्थ्य मन्त्रालयको छ । मन्त्रालयका प्रवक्ता गौतम तीन महिनामा सरकारले अनुमान गरेभन्दा बढी जनामा कोरोना संक्रमण हुने बताउँछन् ।

तर, जनस्वास्थ्य विज्ञ डा. सुवेदी प्रक्षेपण गरिएको उक्त संक्रमित संख्या परीक्षणको दायरा र कन्ट्याक्ट ट्रेसिङमा निर्भर हुने बताउँछन् । ‘यदि लक्षण देखिएकालाई मात्र परीक्षण गर्ने हो भने दुई तिहाइ संक्रमित गणनाको दायरामा नै आउने छैनन्,’ उनी भन्छन्, ‘सरकारले प्रक्षेपण गर्ने कुरा उसको टेस्टको दायरामा निर्भर हुनेछ ।’ विभिन्न सोधहरुका अनुसार ५० प्रतिशत कोभिड बिरामीमा लक्षण देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर