मन्त्रिपरिषद् बैठकका निर्णय: चुरे संरक्षण समितिमा नियुक्तिदेखि पालिका केन्द्र हेरफेरसम्म – Nepal Press

मन्त्रिपरिषद् बैठकका निर्णय: चुरे संरक्षण समितिमा नियुक्तिदेखि पालिका केन्द्र हेरफेरसम्म

काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा पर्वतका किरण पौडेल र सदस्यहरुमा दोलखाका कमला ओली सिवाकोटी, महोत्तरीका शशिकुमार शर्मा, काठमाडौंका सुस्मिता ढकाल र कपिलवस्तुका भेषराज ढकाललाई नियुक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सरकारले उक्त नियुक्ति गरेको हो ।

शुक्रबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले गृह मन्त्रालयाई २७ जना विदेशी नागरिकले बुझाउनुपर्ने भिसा दस्तुर एवं विलम्ब शुल्क बापत ४ लाख ७२ हजार ३ सय ६० र जरिवाना बापत १३ लाख ५० हजार अमेरिकी डलर मिनाहा गरी तीन महिना भित्र नेपाल छाड्न अनुमति दिने निर्णय पनि जानकारी दिए ।

त्यस्तै सरकारले शिक्षा विज्ञान मन्त्रालयको प्रस्तावमा विदेशमा बस्ने नेपाली समुदाय वा ति समुदायका लागि काम गरिरहेका संस्थाले नेपाली पाठ्यक्रममा शिक्षा सिकाई क्रियाकलाप सञ्चालन गर्न चाहनेले सम्बन्धित देशको कानून अनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठन पाठन सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीषा नियन्त्रण कार्यालयको पश्चिम तर्फको गाङ्खेलको साठी रोपनी जग्गामा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत नेफ्रोलोजी तथा युरोलोजीलगायत जटिल रोगको अध्ययन अध्यापन तथा तालिम प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

सरकारले डोल्पा जिल्ला छार्का ताङमोङ गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं. ३ ढाँडगाउँबाट हेरफेर गरी वडा नं. ४ को बागमती नगरमा कायम गर्न र बाँके जिल्ला खजुरा गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं. ४ बागेश्वरीबाट हेरफेर गरी वडा नं. ३ को बागमतीनगरमा कायम गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

विज्ञापन बोर्डको अध्यक्ष पदमा पनौती नगरपालिका काभ्रेपलाञ्चोकका लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय भएको औपचारिक जानकारी दिइएको छ ।

त्यस्तै उर्जा, जलस्रोत था सिँचाइ मन्त्रालयको प्रस्तावमा सिन्धुपाल्चोक जिल्ला स्थित पाङ्गताङ्ग सवस्टेशनदेखि बाह्रविसे सवस्टेशनसम्मको २० किलोमिटर डवल सर्किट बलेफी–बाह्रबिसे १३२ केभी प्रशारण लाइनको टावरहरु निर्माण गर्न जुगल गाउँपालिका र बाह्रबिसे नगरपालिकामा पर्ने १ दशमलव २७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

नेपाल ओमान सरकारबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका, रामेछापको नाम हेरफेर गरी दोरम्बा शैंलुङ गाउँपालिका, रामेछाप कायम गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर