दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो : विश्वप्रकाश शर्मा – Nepal Press

दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गरेका छन् ।

काठमाडौंले शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उहाँले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो भएको बताए ।

उहाँले कोदो र तोरीले भिन्ना भिन्नै विशेषता बोकेको भएपनि एकैठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले ३ वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको टिप्पणी गरे । त्यही सरकारका मन्त्रीले पनि मौरी र झिंगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई सुझाव दिए ।

उनले भने, ‘दुईवटैले मुठ्ठी बटारेका छन् । दुईवटैले लालसलाम भनेका छन् । उस्तै उस्तै लाग्यो । उहाँहरूले एकता गर्नुभयो । त्यो तोरी र कोदोको एकता जस्तो थियो । एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्कदैन ।’

बुधबार सिंहदरबारमा नेपाल सरकारका सचिवबीचको एक कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिंगे टसाई सोचबाट मुक्तहुन नसकेको टिप्पणी गरेका थिए ।

उनले सांसद अपहरणको आरोप लागेका सांसदलाई राज्य व्यवस्था तथा शुसासन समितिमा र सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको टेप काण्डका बारेमा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेका पूर्व मन्त्रीलाई सोही समितिको सदस्य बनाईएको भन्दै सुशासन कायम गर्ने सम्बन्धमा प्रभावकारी ढंगले काम गर्न कर्मचारीलाई आह्वान गरे ।

उनले भने, ‘केपी ओलीको सरकार निरन्तर रहिरह्यो भने, सार्वजनिक लेखा समितिमा लगेर त्यसैको दोषीलाई राखेजस्तै, राज्य व्यवस्था तथा शुसासन समितिमा लगेर अपहरणको मुद्धा लागेकालाई राखेजस्तै अपराध अनुसन्धानको नेतृत्व गर्ने ठाउँमा जेलबाट छुटाएर चार्ल्स शोभराजलाई राखेको दिन पनि यो देशले सुन्नुपर्ने हुनसक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर