बूढानीलकण्ठको बैठक सकियो, नयाँ सरकारका लागि जसपाको निर्णय पर्खने – Nepal Press

बूढानीलकण्ठको बैठक सकियो, नयाँ सरकारका लागि जसपाको निर्णय पर्खने

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक सकिएको छ।

देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि कांग्रेस र माओवादी केन्दका नेताहरुले आजको छलफल सकरात्मक भएको र जसपाको निर्णय पर्खने सहमति भएको बताएका छन् ।

बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै जसपा नेता महन्थ ठाकुरले आफूहरुसक्षम पहिलो पटक सरकार बदल्ने औपचारिक प्रस्ताव आएको र यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा बैठकमा राखेको बताए।

‘पहिलो पटक सरकार बनाउने औपचारिक प्रस्ताव आएको छ ,’ उनले भने, ‘हामीले यस विषयमा कुनै छलफल गरेका छैनौं । हामीले छलफल गर्न बाँकी नै छ । हामी छलफल गरेर चाँडै यसबारेमा निर्णय लिन्छौं भन्ने कुरा राख्यौं ।’

कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जेलमा रहेका नेता कार्यकर्ताहरु रिहाइबारे सरकारसँग राखेको कुरा पुरा गर्न आफूहरु पनि तयार भएको भन्ने कुरा राखेको जानकारी दिए। उनले भने, ‘ओलीले गर्ने भनेका काम हामी पनि गर्छौं भनेर उहाँहरुले भन्नुभयो ।’

माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार बदल्न कांग्रेसले गरेको निर्णयबारे जानकारी गराउँदै प्रस्ताव राखेको र सहयोग मागेको जानकारी दिए।

‘तीन पार्टीहरुको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका सभापतिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पार्टीले गरेको निर्णयबारे जानकारी गराउनुभयो,’ श्रेष्ठले भने, ‘यसमा तपाईंहरुको धाराणा के छ भनेर प्रस्ताव राख्नु भयो । हामीले यो विषयमा सहयोग छ । जसपाबाट पनि विषयमा छिटो भन्दा छिटो निर्णय होस् भन्ने कुरा राख्यौं ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा जसापाले सभापति देउवाले गरेको प्रस्ताबारे निर्णय गर्न केही समय मागेको जानकारी दिए ।

आजको बैठक सकरात्मक भएको भन्दै उनले जसापाले यस विषयमा आन्तरिक छलफल गरेर निष्कर्षमा पुगेपछि चाँडै अर्को बैठक बस्ने सहमति बनेको जानकारी दिए।

‘निर्णय र निष्कर्षमा पुग्न जनता समावादीले केही दिनलाई समय मागेको छ,’ शर्माले भने, ‘आजको बैठक सकरात्मक छ । जसपाले उपयुक्त निर्णय गरेर चाँडै अर्को बैठक बस्ने छौं ।’

बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर