चोटका कारण सुजलले सुपर लिगबाट नाम फिर्ता लिए, पोखराले भित्र्यायो रवी – Nepal Press

चोटका कारण सुजलले सुपर लिगबाट नाम फिर्ता लिए, पोखराले भित्र्यायो रवी

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य तथा चर्चित खेलाडी सुजल श्रेष्ठले नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चाइज नेपाल सुपर लिग गुमाउने भएका छन् । घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स कपको पहिलो खेलमै ‘काल्फ’ को इन्जुरी बल्झिएपछि उनको लिग खेल्ने सपना यसपाली अधुरै रहने भएको हो ।

शहीद स्मारक ए डिभिजन लिगमा सुजल ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि नेपालमै पहिलो पटकफुटबलको अक्सन चैत ६ गते भएको थियो । सोही अक्सनमा सर्वाधिक मुल्य दुई लाख रुपैयाँ विक्री भएका थिए, मिडफिल्डर सुजल । ‘ए’ डिभिजन लिग च्याम्पियन, १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कप्तान सुजललाई पोखरा थन्डर्सले अनुबन्ध गरेको थियो ।

तर, चिकित्सकको सल्लाहअनुसार चार हप्ता कम्तिमा आराम गर्नुपर्ने भएपछि नेपाल सुपर लिगका लागि अनुबन्ध भएको पोखरा थन्डर्सबाट नाम फिर्ता लिएको सुजलले बताए ।

चोटका कारण ए डिभिजन लिगको अन्तिमका केही खेलका क्रममा मैदान बाहिर सुजल ।

‘नेपालमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग खेल्नलाई उत्साहित थिएँ,’ उनले नेपाल प्रेससँग भने, ‘थ्री नेसन्स कपको पहिलो खेलमै इन्जुरी बल्झियो । अनि नाम पनि फिर्ता लिएँ ।’

फुटबल नेखेल्ने भए पनि पोखरा थन्डर्सको साथ चाहिँ उनले छोड्ने छैनन् । उनको भूमिका खेलाडीबाट टिम म्यानेजरमा फेरिएको छ ।
‘मलाई टिम म्यानेजर पो बनाएको छ त…’ सुजलले हाँस्दै भने, ‘खेल्न नसक्ने भए पनि टोलीसँगै बस्छु, ट्रेनिङ पनि गर्छु ।’

मच्छिन्द्र क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेका सुजल पछिल्लो समय नेपाली फुटबलको चर्चित नाम हो । घरेलु मैदानमा गत वर्ष सम्पन्न १३औं दक्षिण एसियाली खेलुकदको स्वर्ण विजेता कप्तानसमेत हुन्, सुजल । त्यसैले पोखरा थन्डर्सले सुपर लिगका लागि सर्वाधिक २ लाख रुपैयाँ खर्चेर उनलाई किनेको थियो । नेपाली फुटबलमा रुचाइएका प्रशिक्षक नबिन न्यौपानेले उनलाई चुनेका थिए ।

सुजलको स्थानमा रवी

सुजलले खेल्न नसक्ने भएपछि उनको स्थानमा विकल्पको खोजी गर्नु परेको पोखरा थन्डर्सका मुख्य प्रशिक्षक नबिन बताउँछन् ।
‘अक्सनमा पनि कडा प्रतिस्पर्धा गरेर हामीले भित्र्याएका थियौं । तर, चार हप्ता कम्तिमा आराम गर्नुपर्ने भएपछि हामीले उनको स्थानमा रवी पासवानलाई लिएका छौं ।’

राष्ट्रिय टोलीबाट खेल्दै रवी पासवान ।

नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका रवी विभागीय टोली नेपाल पुलिस क्लबका खेलाडी हुन् । नेपाल सुपर लिगका लागि समूह ‘ए’ मा समेटिएका रवीलाई कुनै पनि क्लबले किनेका थिएनन् ।

अक्सनमा बिक्री नभएर निराश बनेका रवी पनि पुनः मौका पाउँदा खुशी छन् ।

‘अक्सनमा बिक्री भएको थिइँन, पछि बोलाउनु भयो,’ खुशी हुँदै रवी भन्छन्, ‘नेपालमै पहिलो पटक हुन लागेको लिग खेल्न पाउँदा एकदमै खुशी छु, उत्साहित छु ।’

यसअघि नै घोषणा भइसकेको पोखराको टोलीका मार्की प्लेयर नवयुग श्रेष्ठ हुन् ।

केही वर्ष अगाडिदेखि नै नेपाली क्रिकेटमा अभ्यास भइरहेको फ्रेन्चाइज फुटबलमा पहिलो पटक भित्रिएको छ । वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सिटी बेस्ड सात वटा टोली सहभागी छन् ।

नेपाल सुपर लिगको पहिलो संस्करणमा विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी हुँदैछन् ।

पोखराको टोली

गोलकिपर: अजित प्रजापती, दीप कार्की

डिफेन्डर: अजित भण्डारी, सुरज गुरुङ, केट्चा वानिक –विदेशी), मान बहादुर तामाङ, दिपक गुरुङ, गौतम श्रेष्ठ

मिडफिल्डर: प्रविन कुमार स्याङ्तेन, रवी पासवान, बिडिएस रिम राफाएल –विदेशी), नितिन थापा, सुजित थापा

फरवार्ड: राजेश परियार, नवयुग श्रेष्ठ, अनिल गुरुङ, मौसा अबागाना –विदेशी)

प्रशिक्षक: नबिन न्यौपाने

सहायक प्रशिक्षक: राजेश शाही

गोलकिपर प्रशिक्षक: विनोद डंगोल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर