कोरोनासँग लड्न प्रधानमन्त्रीका टिप्सः अम्बाको पात उमाल्ने, गालगुल गर्ने ! – Nepal Press

कोरोनासँग लड्न प्रधानमन्त्रीका टिप्सः अम्बाको पात उमाल्ने, गालगुल गर्ने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेको भन्दै सचेत बन्न आग्रह गरेका हुन् ।

उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु, हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं, तर बाध्य भएरै ठप्प पार्नपर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने । हामी किञ्चित पनि काभिड–१९ लाई अवसर नदिऔं । यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं ।’

प्रधानमन्त्री कोभिडबाट बच्न टिप्स पनि दिए । तातोपानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाइ थियाे ।

उनले भने, ‘अलिअलि तातोतातो लिँदै, नस लिदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं । कोरोना पहिले गएर नाकमा बस्ने हो, त्यहिँबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ । अम्बाका दुईवटा पात उमाल्दिउँ, बेसरी गालगुल गरिदिउँ । घाँटीमा बसेको चट । स्टिम लिइदिउँ फोक्सोबाट चट । त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा पनि आफ्नै आलोचना हुने बताए ।

उनले भने, ‘कतिपयले भन्छन् मलाई, भनिआएका छन्, आफ्नो कुरा गर्नु नि भनेर । आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन् भने मैले राजनीतिक कुरा गर्नुपर्छ । अनि तपाईहरुसँग आएर मैले राजनीतिको के भन्ने ? सङ्गठनात्मक कुरा बताउने कि, राजनीतिक दाउपेचका हामी यहाँ छौं वाला कुरा बताउने कि ? तपाईहरुलाई लड्डु खान सिकाउने कि ? के चाहिँ गर्ने ?’

ओलीले थपे, ‘तपाईहरुसँग त बिजनेसका कुरा गर्नुपरेन ? व्यापारका कुरा गर्नुपरेन ? उद्योग–व्यवसायका कुरा गर्नुपरेन ? त्यही कुरा गर्नुपर्छ । अब कोभिड १९ छ, कोभिड १९ को बारेमा कुरै नगर्ने कसरी हुन्छ ? कोभिड–१९ ले देश आक्रान्त छ । भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ । मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ । निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तर पनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ । कोभिड जहाँ लागे पनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेटनु परेन ? प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ ।’

अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीले गरे । कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठनै नसक्ने गरी भने असर नपरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *