नेपालमै उत्पादन वृद्धि गरौं, व्यापार घाटा सन्तुलनमा आउँछ : प्रधानमन्त्री ओली – Nepal Press

नेपालमै उत्पादन वृद्धि गरौं, व्यापार घाटा सन्तुलनमा आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक वस्तुको आयात रोकेर नेपालमा नै उत्पादन वृद्धि गर्दा वैदेशिक व्यापार घाटा सन्तुलनमा आउने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको उद्योग र व्यापारका क्षेत्रका लागि सरकारले आवश्यक अनुसार काम गर्न तयार रहेको बताए ।

उनले अहिलेको सरकारले सबै क्षेत्रको मात्रै अध्ययन गरेर विकास गरिरहेको र त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

‘हामी काम गर्न नदिने तत्वहरूलाई पन्छाउँदै अगाडि बढिरहेका छौं । क्षमता बोकेका मान्छेहरूले देशलाई अगाडि बढ्न सहयोग गरिरहेका पनि छन्,’ प्रधानमन्त्री ओलीले भने ।

नेपालमा एउटा उद्योग सञ्चालन गर्दा पूरा गर्नुपर्ने प्रक्रिया लामो भएको र अब त्यसलाई सहज बनाउन सरकार लागि पर्ने समेत प्रधानमन्त्रीले बताए । उद्योग सञ्चालनका लागि योजना बनाएर कार्यन्वनमा लैजाने बेलासम्म मानिसको आधा उमेर भएकाले त्यसलाई संशोधन गरेर लैजाने उनले बताए ।

सरकार उद्योगधन्दाको सबै काम सहज बनाउन एकल बिन्दु सेवा केन्द्रको स्थापना गरेर दर्ता र नवीकरणलगायतका काममा सहजीकरण गर्न लागि परेको छ । झन्झटीलो प्रक्रियालाई परिवर्तन गरेर सरल बनाउँदै निजी क्षेत्रलाई अगाडि बढ्ने वातावरण सकारले निर्माण गर्नेछ । उनले भने, ‘अब अतिआवश्यक वस्तुमात्रै आयात गर्ने अवस्थाको निर्माण गर्नुपर्छ ।  नेपालबाट वस्तु निर्यात गर्ने वातावरण निर्माण गरी नेपालले निर्यातमूलक वस्तुको उत्पादन वृद्धि गर्नुपर्छ । अनावश्यक वस्तुको आयात रोकेर प्रयोग बन्द गर्दा नेपालको व्यपार घाटा सन्तुलनमा आउँछ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *