एमालेमा गएका चार माओवादी मन्त्रीको सांसद पद रिक्त, सभामुखले गराए जानकारी (भिडियो) – Nepal Press

एमालेमा गएका चार माओवादी मन्त्रीको सांसद पद रिक्त, सभामुखले गराए जानकारी (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सभामुख अग्नि प्रसाद सापकोटाले बिहीबारको बैठकमा जानकारी गराएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको संघीय संसद सचिवालयलाई जानकारी गराएको सूचनालाई सभामुखले जानकारी गराएका हुन् ।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय सचिवालयमा बुझाइसकेको छ ।

नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेका यी नेताहरू सर्वोच्च अदालतले एमाले-माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए ।

सांसद नरहेका उनीहरुलाई मन्त्री भइराख्न पुनर्नियुक्ति गनुपर्ने हुन्छ। संविधानविद् टीकाराम भट्टराईका अनुसार संविधानको व्यवस्थाअनुसार पुनर्नियुक्ति गरे सांसद नुहँदा पनि ६ महिना मन्त्री हुन सकिन्छ ।

‘सांसद नहुँदा पनि मन्त्री हुन सक्छन् तर पुनर्नियुक्ति हुनुपर्छ,’ भट्टराईले नेपाल प्रेससँग भने, ‘किनभने प्रतिनिधिसभा सदस्य नरहेमा पद रिक्त हुने व्यवस्था संविधानमा छ।’

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्नसक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *