पत्रकार महासंघ निर्वाचन : प्रदेश २ मा कहाँ कसको नेतृत्व ? – Nepal Press

पत्रकार महासंघ निर्वाचन : प्रदेश २ मा कहाँ कसको नेतृत्व ?

जनकपुरधाम । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश-२ का सात जिल्लामा मतगणना सकिएको छ ।

सप्तरी, महोत्तरी र सर्लाहीमा नेपाली काँग्रेस निकट प्रेस युनियनले जित निकालेको छ । रौतहट र पर्सामा नेकपा एमाले निकट प्रेस चौतारी, सिरहामा जनता समाजवादी पार्टी निकट प्रेस मञ्च र धनुषामा प्रेस संठनले नेतृत्व पाएको छ ।

सप्तरीमा देव निर्वाचित
महासंघ सप्तरी शाखाको अध्यक्षमा युनियनका श्रवण देव निर्वाचित भएका छन् । यहाँ युनियन र प्रेस संगठनको सहकार्य भएको थियो । देवले प्रेस चौतारीका मनोहर पोखरेललाई पराजित गरेका हुन् ।

यस्तै उपाध्यक्षमा प्रेस मञ्चका वैजनाथ यादव, महिला उपाध्यक्षमा प्रेस युनियनकी अम्बिका दाहाल, कोषाध्यक्षमा प्रेस संगठनका नवीन गुप्ता, सचिवमा प्रेस मञ्चका रामनारायण विश्वास, सह-सचिव (खुल्ला)मा प्रेस मञ्चकै चन्दन यादव र सह-सचिव (समावेशी)मा प्रेस संगठनका गोपाल गुप्ता विजयी भएका छन् ।

सप्तरी शाखाको सदस्य रहेका प्रदेशका कृषि मन्त्री शैलेन्द्र साह पनि मतदान गरेका थिए ।

तीन संगठनको मोर्चा असफल
यस्तै सिरहामा प्रेस संगठन, प्रेस युनियन र प्रेस चौतारीका संयुक्त उम्मेदवार हिरालाल चौधरीलाई पराजित गर्दै प्रेस मञ्चका मनोज बनैता यादवको प्यानल नै विजयी भएको छ ।

पराजित भएका चौधरी प्रेस संगठनमा आबद्ध छन् । उनी सिरहाकै धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीका भाइ हुन् । भाइहरूलाई जिताउन मेयर चौधरीले पनि पत्रकारहरूसँग भोट मागेका थिए ।

तर बनैता यूवा र योग्य भएकै कारण तीन संगठनको मोर्चालाई पनि परास्त गरे । उनले कोही पनि पराजित नभएको भन्दै सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

उपाध्यक्षमा गणेशप्रसाद साह, महिला उपाध्यक्षमा रिँकुकुमारी दास, कोषाध्यक्षमा वीरेन्द्रप्रसाद नेपाल, सचिवमा शिव दयाल यादव, सह–सचिवमा राजेन्द्र महतो र सह-सचिव समावेशीमा दुर्गा परियार विजयी भएका छन् ।

धनुषामा महिलाको नेतृत्व
नेपाल पत्रकार महासंघ धनुषाले पहिलो पटक महिला नेतृत्व पाएको छ । यहाँ प्रेस संगठनमा केहिदिन अगाडि मात्र प्रवेश गरेकी मनिका झा अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यस्तै उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्षमा नेहा झा, सचिवमा बटुकनाथ झा, सहसचिवमा निरञ्जन साह, सहसचिव समावेशीमा गोविन्द महतो र कोषाध्यक्षमा रामकमल महतो निर्वाचित भएका छन् ।

महोत्तरीमा पुनः मण्डल
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्षमा पुनः प्रेस युनियनका कमलेश मण्डल नै निर्वाचित भएका छन् । उनी प्रेस संगठनको सहकार्यमा मण्डल निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा हेम कुमारी बराल, महिला उपाध्यक्षमा सुनिता कुमारी, सचिवमा राजकरण महतो, सहसचिवमा रामनारायण महतो, सहसचिव समावेशीमा संजित मण्डल र कोषाध्यक्षमा अजय कुमार सिंह निर्वाचित भएका छन् ।

सर्लाहीमा क्षेत्री निर्विरोध
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षतामा प्रेस युनियनका टंकबहादुर क्षेत्री निर्विरोध चयन भएका छन् । आइतवार नै उनीसहितका सबै पदाधिकारी निर्वाविरोध चयन भएका हुन् ।

यस्तै, उपाध्यक्षमा अनवर अहमद्, महिला उपाध्यक्षमा पुस्तिका के.सी. (पुष्पा), सचिवमा सुनिल कुमार ठाकुर, सहसचिवमा घनश्याम सिंह, समावेशी सहसचिवमा स्वस्तिमा अधिकारी र कोषाध्यक्षमा अच्यूतम सापकोटा निर्विरोध चयन भएका छन् ।

रौतहटमा चौतरीका झा
नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्षमा प्रेमचन्द्र झा निर्वाचित भएका छन् । उपाध्यक्ष प्रविण शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर, सचिवमा मदन ठाकुर, कोषाध्यक्षमा धमेन्द्र साह, सहसचिव समावेशीमा संजय सहनी निर्वाचित भएका छन् । सह–सचिव खुल्लामा दिपेश पौडेल निर्विरोध चयन भएका थिए ।

पर्सामा तिवारीका प्यानल विजयी
नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस चौतारीका अनुप तिवारीको प्यानल नै निर्वाचित भएका छन् । उपाध्यक्षमा युवराज खड्का, महिला उपाध्यक्ष सुषमा शर्मा, सचिवमा भूषण यादव, सहसचिवमा जियालाल साह, सहसचिव समावेशीमा जितेन्द्र साह र कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र विजयी भएका छन् ।

बाराको मत परिणाम सार्वजनिक भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर