मुख्यमन्त्री गुरुङको आक्रामक भाषण : हजम हुने कुरा गरौं माननीयज्यू ! (भिडियो) – Nepal Press

मुख्यमन्त्री गुरुङको आक्रामक भाषण : हजम हुने कुरा गरौं माननीयज्यू ! (भिडियो)

काठमाडौं । राष्ट्रिय राजनीतिको हलचलले केन्द्रदेखि प्रवेशसम्म हल्लाइरहेका बेला गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु भयो । र, पहिलो दिनको बैठक नै निकै पेचिलो बन्यो ।

आजको बैठकमा माओवादी, कांग्रेस र एमालेका संसदीय दलका नेताहरुले सम्वोधन गरेका थिए । माओवादी संसदीय दलका नेता तथा आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले सम्वोधनकै क्रममा आफूसहित दुई मन्त्रीले राजीनामा मुख्यमन्त्रीसमक्ष राजीनामा दिएको सुनाउँदै बैठकलाई तरंगित तुल्याए ।

चुमानपछि बोल्न आए कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल । विपक्षी पार्टीको धर्म राख्दै सरकार, प्रधानमन्त्री र सत्तारुढ दलमाथि प्रहार गरे । कम्युनिष्टहरुले सँधै देशमा समस्या चर्काउने र कांग्रेसले सँधै समस्या समाधान गर्ने दावी उनको थियो । वैदेशिक शक्तिले एमाले र माओवादी मिलाइदिएको भन्दै उनले यो एकता अप्राकृतिक रहेको बताए ।

पोखरेलले प्रधानमन्त्रीले संविधान मिचेकोदेखि कम्युनिष्ट सरकारले भ्रष्टाचारका काण्डैकाण्ड मच्चाएकोसम्मका आरोप लगाए । तर, अन्त्यमा बोलेका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङबाट उनले सोचेभन्दा कडा जवाफको सामना गर्नुपर्यो ।

हु्न त मुख्यमन्त्री गुरुङ आफ्नो संवोधनमा लामो समयसम्म राजनीतिक विषयवस्तुमा प्रवेश नै गरेका थिएनन् । प्रदेशका आर्थिकलगायत आन्तरिक विषयमा लामो समय खर्चेका उनले अन्त्यतिर मात्रै राजनीतिक विषय उप्काए । उनले यसरी ‘फायर’ खोले कि कांग्रेसका संसदहरु अक्कन बक्क देखिन्थे ।

‘केही राजनीतिक प्रश्नहरु पनि उठेका छन्,’ भन्दै गुरुङले कांग्रेसद्वारा उठाइएका मुद्दाहरुको उठान गरेका थिए ।

त्यसपछि उनले राखेका भनाइका मुख्य अंश यस्ता छन् :

  • एकजना मित्रले भन्नुभयो कि यो मुलुकमा समस्याको जड नै कम्युनिष्टहरु हुन् । मैले यो विषयमा प्रवेश गर्न चाहेको थिइनँ । तर, प्रश्न उठेपछि जवाफ दिनुपर्छ । म उहाँतिर फर्केर भन्छु– यो मुलुकमा समस्याको जड नेपाली कांग्रेस हो । यो मुलुकमा सरकार चलाउन असक्षम पार्टी नेपाली कांग्रेस हो ।
  • १५ सालमा चुनाव भयो । त्यसमा कांग्रेसले ६९ प्रतिशतभन्दा बढी सिट जितेको होइन ? तर त्यो सरकार कति महिना चल्यो ? दुईतिहाइको सरकार १५/१६ महिना पनि चलेन । योग्य भएको भए, सक्षम भएको भए, राम्रो काम गरेको भए चलाउँदैनथ्यो ? चलाएन मात्र होइन, उसको नालायकीपन, मैमत्ता र घमण्डका कारणले राजा महेन्द्रलाई ३० वर्ष पञ्चायती व्यवस्था हाँक्ने अवसर मिल्यो ।
  • लामो लडाई लडेर ४६ सालमा बहुदल आयो । तर, त्यसलाई फेरि कसले दरबारको पटाङ्गिनीमा लगेर बुझाएको ? मनमोहनले हो ? माधव नेपालले हो ? केपी ओलीले, प्रचण्डले हो ? होइन । मानमाननीय शेरबहादुर देउवाले र कांग्रेसले हो । फलस्वरुप फेरि हामीले प्रजातन्त्रका लागि लडाईं लड्नुपर्यो । युद्धमा रहेको पार्टीलाई शान्तिप्रक्रियामा ल्याउनुपर्यो । उसैसँग मिलेर राजाको विरुद्धमा लड्नुपर्यो । वास्तवमा कांग्रेस बलियो भयो भने लोकतन्त्र धरापमा पर्छ । यो जनताको अनुभव हो । भोगेको यथार्थ कुरा हो ।
  • हामीलाई रातारात विदेशी शक्तिले मिलाइदियो भन्ने आरोप लगाउनुभयो । गाउँघरमा उखान छ, जस्तो आफू, उस्तै ज्यापु भन्ने । हामी कहिल्यै अरुबाट सञ्चालित हुन्नौं । हाम्रो देशभक्ति नाकाबन्दीका बेला देखाएका छौं । संविधान निर्माणका बेला देखाएका छौं । लिपुलेकमा देखाएका छौं । हामी देशका लागि देशभक्तिपूर्ण भावनाका साथ लड्ने पार्टी हौं । देशमा देशभक्त पार्टी कोही छ भने त्यो हामी हौं ।
  • अस्ति भर्खरसम्म मान्छेले के आरोप लगाउँथे कांग्रेसलाई ? यो विदेशी दलाल हो भन्थे । नेपाल भारतको प्रशासकीय इकाइ हो भन्ने कांग्रेसकै नेताहरु होइनन् ? नेपाल कुनै इकाइ हो कि स्वतन्त्र मुलुक ? नेपाल आजसम्म आफ्नो सार्वभौमसत्ता जोगाउन सफल विश्वका १९ स्वतन्त्र मुलुकमध्ये एक हो कि होइन ? राजनीतिक स्टन्टवाजीका लागि जे पनि भन्ने ?
  • तपाईंले चाहेको बेलामा चुनाव भए लोकतन्त्र हुने, तपाईंलाई चुनाव बोझ लाग्यो भने अलोकतन्त्र हुन्छ ? दुनियाँमा चुनावको अर्थ के हुन्छ खोज्नुपर्यो । यो राजा महाराजले गरेको पञ्चायती चुनाव हो ? यो त नेपाली जनताले निर्माण गरेको प्रधानमन्त्रीले गरेको चुनाव हो । मलाई काम गर्न दिएनन् । म जनतामा जान्छु भनेर प्रधानमन्त्रीले भन्दा प्रतिगमन हुन्छ ?
  • आलोचनाकै कुरा गर्ने हो भने संघीय सरकारको आलोचना कांग्रेसले भन्दा बढी मैले गरेको छु । संघसँग निहुँ खोज्दा मुख्यमन्त्री धरापमा पर्छ भन्छन् । मलाई चिन्ता छैन । आफ्ना लागि मुख्य मन्त्री हो भने धरापमा पर्छ । मुख्यमन्त्री जनताका लागि हो भने धरापमा परेर के हुन्छ ? जुन उद्देश्य हो, त्यो प्राप्त हुँदैन भनेर के अर्थ हुन्छ ? हामीले अनुभवबाट सिकेका छौं । कति कुरा झगडा गरेर त कति समन्वय गरेर हासिल गरेका छौं ।
  • भ्रष्टाचारका काण्डैकाण्डको कुरा उठाउनुभयो माननीयले । म एउटा प्रश्न उठाउन चाहन्छु । यो मुलुकमा सरकारी ओहदामा बसेर, मन्त्री बनेर, राज्यसत्ताको दुरुपयोग गरेर, अकुत सम्पत्ति आर्जन गरेर, सडकका मान्छे करोडपति बनेर, अदालतमा मुद्दा हारेर जेलमा बसेका चिरञ्जीवी वाग्ले, विजय गच्छेदार, खुमबहादुर खड्का, गोविन्दराज जोशी, जेपी आनन्द, कुन पार्टीका हुन् ? एउटा कम्युनिष्ट नेता जेल परेको देखाउनु ।
  • भ्रष्टाचारमा जेल सजाय भोगेपछि निस्कने बेलामा युद्ध जितेर आएजस्तो, हजारौं मान्छेको सेवा गरेर, पुरुषार्थ देखाएर आएजस्तो १५ किलोको माला लगाएर स्वागत गर्ने तपाईंको पार्टी हो, हाम्रो होइन । यो कस्तो संस्कार हो तपाईंको पार्टीको ?
  • वाइड बडी र न्यारो बडीको कुरा उठिरहेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका काण्ड हन् यी । त्यतिबेला कसले कति कमिसन खाएर सम्झौता गरे, त्यसको किस्ता आज सरकारले तिर्नुपरिरहेको छ ।
  • कांग्रेसले आफ्नो पालामा गरेका फोहोर कुडाकर्कट पन्छाउँदैमा हामी हैरान भएका छौं । धेरै शासनकाल त्यसमा बितिरहेको छ । भृकुटी कागज कारखानालाई गुन्द्रुकको भाउमा, वीरगञ्ज चिनी कारखानालाई गुन्द्रुकको भाउमा, हरिसिद्दी ईंट्टाटायल कारखानालाई गुन्द्रुकको भाउमा, बाँसबारी जुत्तालाई गुन्द्रकको भाउमा बेचेको एमालेले हो ? अरु कम्युनिष्टले हो ? कांग्रसले उदारीकरण, निजीकरणका नाममा बेचेको होइन ? यसको समिक्षा गर्नुभएको छ ? भन्न पाउँदैमा प्वाक्क बोल्नु हुँदैन । घामतिर फर्केर थुक्यो भने त आफ्नै अनुहारमा फर्किन्छ ।
  • आज ललिता निवास प्रकरणको कुरा सुनिन्छ । के यो प्रकरण अहिलेको सरकारको पालना भएको हो ? अहिलेको सरकारले गरेको एउटै मात्र काम– यसमा अनियमितता भएको छ, अख्तियार दुरुपयोग भएको छ भनेर शारदाप्रसाद त्रितालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गरेको यो सरकारले हो । त्यस कार्यदलले दिएको प्रतिवेदनका आधारमा आज अख्तियार प्रमुख भइसकेका दिप बस्न्यातजस्ता मान्छे जेलमा छन् । त्यो जेलमा हाल्या कसले हो ? तपाईंको सरकारले त होइन ? यही सरकारले हो । त्यसमा यी–यी प्रधानमन्त्री पनि संलग्न छन् भन्ने बाहिर निकाल्ने को हो ? अहिलेको सरकार हो । आफ्नै नेता पनि परेको होला । त्यसको कारणले पनि अलिकति झगडा बढेको हो ।
  • ३८ किलो सुनकाण्डका दोषिहरु कहाँ छन् आज ? जेलमा छन् । तपाईंहरुको पालामा कुन चाहिँ सुनकाण्डमा अपराधि पक्रेर जेल हाल्नुभयो ? त्यसै कम्युनिष्ट सरकारको काण्डैकाण्ड भन्ने । यो त अलि हजम भएन नि माननीयज्यू । हजम हुने कुरा गरौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर