कोरानाको बेलायती भेरिएन्ट फैलिएको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन – Nepal Press

कोरानाको बेलायती भेरिएन्ट फैलिएको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन

रात्रीकालिन व्यवसाय राती ९ बजेपछि बन्द गर्न निर्देशन

काठमाडौं । कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले मापदण्डमा कडाइ गर्न भनेको हो ।

काठमाडौं र पोखरा लगायतका ठूला सहरमा रहेका विद्यालयमा संक्रमण वृद्धि भएकाले उच्च सतर्कता अपनाउन मन्त्रालयले निर्देशन दिएको छ । सार्वजनिक यातायातमा भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

विदेशबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा रहेकोको अनुगमन गर्न स्थानीय प्रशासन र तहलाई समेत निर्देशन दिइएको छ । कन्ट्याक्ट ट्रेसिङ, एन्टीजेन र पीसीआर परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयलाई भनिएको छ ।

सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ । ठूला सहरमा ५०० र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित भए आवागमनमा कडाइ गराउन पनि मन्त्रालयले भनेको छ ।

आसन्न तीन दिवसिय क्रिकेट म्याच आयोजनाको स्वीकृति तथा संचालनको सन्दर्भमा विदेशबाट आउने टोली वा भ्रमण दलको सदस्य संख्या वा क्वारेन्टाइन अवधी निर्धारण गर्न पनि भनिएको छ । कोभिडको बढ्दो चुनौतिलाई मध्यनजर गरेर यस्ता कार्यक्रमलाई कडाइ गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

संक्रमणको बढी जोखिम हुने स्थानमा आलोपालोरुपमा एन्टीजेन परीक्षण बढाउन स्थानीय तहलाई मन्त्रालयले निर्देशन समेत दिएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो समय बेलायती र ब्राजिलियन भेरिएन्ट भेटिएको र संक्रमण फैलिएपछि नेपाल उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ । बेलायती भेरिएन्ट चाहिँ नेपालमा यसअघि पुष्टि भैसकेको र वृद्धि हुने क्रम बढेको भन्दै मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत सतर्क हुने समेत भनिसकेको छ ।

नेपालमा कोरोना संक्रमणको ग्राफ पछिल्ला दिनहरुमा उकालो लागिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर