गण्डकीका मुख्यमन्त्रीको प्रश्न : एउटै घोषणापत्रबाट चुनाव लडेकाहरू माथिको विवादले किन अलग्गिने ? (भिडियो) – Nepal Press

गण्डकीका मुख्यमन्त्रीको प्रश्न : एउटै घोषणापत्रबाट चुनाव लडेकाहरू माथिको विवादले किन अलग्गिने ? (भिडियो)

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । माथिको झगडाले तल विभाजित हुनु संघीय प्रणालीको भावनाविपरीत रहेको बताए ।

गण्डकी प्रदेश सभाको आजको बैठकमा बोल्दै गुरुङले एउटै घोषणापत्र लिएर चुनाव लडेका पार्टीहरू अलग्गिन नहुनेमा जोड दिएका थिए । केन्द्रबाट निर्देशित भएर प्रदेशमा राजनीति गर्दा संघीयता कमजोर हुने भन्दै उनको टिप्पणी थियो ।

‘अहिले हामी जुन ठाउँमा उभिएका छौं, पाँच वर्षका लागि एउटै घोषणापत्र लिएर यहाँ आएका हौं । एमालेको घोषणापत्र पनि यही हो, माओवादीको पनि यही हो । मैले कार्यान्वयन गर्ने पनि यही हो, हरिबहादुर चुमानले गर्ने पनि यही हो । अर्को त छैन नि । त्यसो भए सरकार किन छोड्ने ?’

उनले माओवादी मन्त्रीहरूको राजीनामाको तार्किक कारण नभएको बताए । पार्टीको विधान ठूलो कि संविधान भन्ने उनको प्रश्न थियो ।

गुरुङले भने, ‘प्रदेशका मन्त्रीको राजीनामाको लजिकल इन्ड हुनुपर्छ । नत्र यस्तो क्रियाकलापले संघीयता कमजोर बनाउँछ । संघमा छुट्टिँदा हामी छुट्टिनुपर्ने हो भने संघीयताको के अर्थ ? हामी पार्टीको विधानअनुसार चल्ने होइन, संविधानअनुसार चल्ने हो । हामी लोकतान्त्रिक प्रणालीमा छौं भने रुसी मोडलको अनुसरण किन गर्ने ? यो कुराको नेपालमा छिनोफानो हुनुपर्छ । एकपटक अधिकार प्राप्त गरिसकेपछि मुख्यमन्त्रीले पार्टीको विधानअनुसार होइन, नेपालको संविधानअनुसार चल्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर