आगामी बजेटमा अखिलका सुझाव- विद्यार्थी बीमादेखि सरकारी शिक्षण संस्थामा निःशुल्क इन्टरनेटसम्म – Nepal Press

आगामी बजेटमा अखिलका सुझाव- विद्यार्थी बीमादेखि सरकारी शिक्षण संस्थामा निःशुल्क इन्टरनेटसम्म

राज्यको तलब लिने सबैका छोराछोरी सरकारी विद्यालयमा अनिवार्य भर्ना हुनुपर्ने

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेको छ ।

अनेरास्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनुपर्ने विषयहरूलाई सुझावका रुपमा पेश गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका सन्दर्भमा संविधानले गरेको व्यवस्था कार्यन्वयनमा यस वर्षको बजेट आधार वर्षे बन्नुपर्ने बताएको छ ।

अर्थमन्त्री विष्णु पौडेललाई भेटेर अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका नेताहरूले बजेट जनमूखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेका छन् । आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गरिएको अनेरास्ववियुका कार्यालय सदस्य समिक बडालले बताए ।

त्यस्तै शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षित तथा व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान हरेक बैंकका शाखाले न्यूनतम २० जना विद्यार्थीलाई सो प्रकृतिका ऋण उपलब्ध गराउन अनिवार्य व्यवस्था हुनुपर्ने माग अखिलले गरेको छ ।

अखिलले हरेक प्रदेशमा न्युनतम एउटा सरकारी शिक्षण अस्पताल खोल्न र ती अस्पतालमार्फत निःशुल्क उपचारको प्रबन्धका लागि बजेटमा व्यवस्था गर्न समेत माग गरेको छ ।

अनेरास्ववियुले डिजिटल नेपालको अवधारणा अन्तर्गत हरेक सरकारी विद्यालय र क्याम्पसमा निःशुल्क इन्टरनेट जडान हुनुपर्ने र विद्यार्थीको बीमा कार्यक्रम समेत बजेटमा ल्याउन माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर