राजीनामा घोषणा गर्दै माओवादी मन्त्रीले भने : बडो बिडम्बना भयो – Nepal Press

राजीनामा घोषणा गर्दै माओवादी मन्त्रीले भने : बडो बिडम्बना भयो

काठमाडौं । गण्डकी प्रदेशका माओवादी संसदीय दलका नेता तथा आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान आज प्रदेश सभा बैठकमा भावुक मुद्रामा प्रस्तुत भए । बैठकमा भाग लिन आउनुअघि उनले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका थिए ।

सरकारबाट पछि हट्ने निर्णय उनकै नेतृत्वमा रहेको माओवादी संसदीय दलले आज बिहान गरेको थियो । त्यसलगत्तै चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

प्रदेशसभामा बोल्दै चुमानले अहिलेको राजनीतिक परिस्थितिलाई बिडम्बना पूर्ण बताए । सरकारमै बसेर सरकारको विरोध गरिरहनुपर्दा आफूहरुलाई अप्ठेरो परेको उनको भनाइ थियो ।

‘जब पार्टीभित्र संघर्ष पैदा भयो, हामीले गलत गतिविधिलाई स्वीकार्न सक्ने कुरा भएन । पार्टी अलग भएपछि तलसम्म विभिन्न प्रभाव पर्दै गए । फरकपनहरु देखिँदै जाने स्थिति देखियो । त्यस अवस्थामा सरकारमा बसेरभन्दा सरकार बाहिर रहेर प्रतिवाद गर्न र औंलो ठड्याउनु जरुरी छ भन्ने बुझाइ बन्दै गयो । र, यो जटिल राजनीतिक परिस्थितिमा नमिठो निर्णय लिनुपर्ने भयो,’ चुमानले राजीनामा औचित्य पुष्टि गर्न खोज्दै भने ।

उनले थपे, ‘माथि जे-जस्ता घटनाहरु हुन्छन्, त्यसको प्रभाव सिधै प्रदेशमा परेको छ । त्यसैले सरकारमा बस्न नैतिकताले पनि दिएन ।’

आफ्नो कार्यकालमा थुप्रै उपलब्धी हासिल भएको उनले बताए । आन्तरिक मामला मन्त्री भएका नाताले कानून निर्माणमा मिहिनेत गरेको उल्लेख गर्दै चुमानले केन्द्र सरकारले भने प्रदेशलाई मजबुत बनाउन नचाहेको आरोप लगाए ।

‘प्रधानमन्त्रीज्यूले नै संघीयताको मर्मलाई बोध गर्नुभएको छैन,’ उनले भने, ‘प्रदेशलाई कमजोर बनाउँदै जाने उहाँको सोच देखिन्छ ।’

नेकपा फुटाउने गरी सर्वोच्च अदालतले गरेको फैसलाले अहिलेको परिस्थिति निम्तिएको उनको बुझाइ थियो ।

चु्मानले भने, ‘अनौठो भयो देशमा । पार्टीहरु पार्टी निर्माण गर्छन् । एकता गर्छन् । रुपान्तरणका योजना बनाउँछन् । तर, अदालत सबै बदर गर्छ । यस्तो बिडम्बनाको थिति व्यहोर्नुपर्यो । हामी चाहन्थ्यौं, पार्टी अझै एकीकृत बनोस । त्यसलाई तोडफोड गर्ने परिस्थिति व्यहोर्नुपर्यो ।’

उनले थपे, ‘पार्टी भित्रको बहस पार्टीभित्रै टुंग्याउने हो । नत्र जनतामा जाने हो । तर, भइदियो के भने पार्टीभित्रको विवादलाई लिएर संसदमाथि प्रहार गर्ने र देशलाई अस्थिरतातर्फ लैजाने काम भयो । हामीले त्यसको विरोध गर्दै आयौं । यति मात्रै होइन, यसले त जुन उपलब्धी भनेको थियो सबै भत्कियो । दल पनि अलग हुन पुग्यो । त्यसले गर्दा बिडम्बनापूर्ण अवस्था उत्पन्न भएको छ ।’

आफू करिब साढे दुई वर्षपछि पुरानै भूमिकामा फर्किको चुमानले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर