मैले टाइ लगाउन छोडेँ, कर्मचारीले पनि लगाउँदैनन् – Nepal Press
अनौपचारिक

मैले टाइ लगाउन छोडेँ, कर्मचारीले पनि लगाउँदैनन्

काठमाडौं । कुनै बेला संसद सचिवालयमा खरिदारको जागिर खाएका भुवन दाहाल यतिबेला सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत मात्रै होइन, बैंकर्स संघका अध्यक्ष समेत छन् ।

पिता भोजराज दाहाल र माता मोहनकुमारी दाहालका कान्छा छोरा भुवन सफल ‘कर्पोरेट पर्सनालिटी’ हुन् । सादा जीवन, उच्च विचारको धारणाबाट प्रेरित उनी मासिक १० लाख रुपैयाँ आम्दानी गर्छन् । पैसा कमाउनेभन्दा प्रतिष्ठा कमाउने विषयलाई महत्व दिने दाहाल फुर्सदको समयमा पुस्तक पढ्न र घुम्न रुचाउँछन् ।

बैंकिङ करिअरका दौरान ‘फर्मल’ हुन असहज मान्ने दाहाल टाइ सुट लगाउनैपर्ने ‘कल्चर’को पक्षमा छैनन् । ९ महिनापछि अवकाश लिएर बौद्ध दर्शन अध्ययन गर्ने र पुस्तक लेख्ने विचारमा रहेका दाहालसँग व्यक्तिगत जीवनका पाटोमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

झण्डै तीन दशक लामो समय बैंकिङ क्षेत्रमा बिताउनुभयो । आफ्नो करिअरलाई कसरी स्मरण गर्नुहुन्छ ?
मैले तल्लो तहबाट सुरु गरेँ । मैले निजी क्षेत्र र पहिलो विदेशी लगानी भएको नबिल बैंकको सहायक तहबाट सन् १९९१देखि बैंकिङ करिअर सुरु गरेँ । झण्डै ३० वर्ष हुन लाग्यो । २० वर्षको उमेरमा स्नातक तह अध्ययन गर्दैगर्दा नबिल बैंकबाट काम थालेँ । त्यसअघि संसद सचिवालयमा खरिदार पदमा जागिर खाएको थिएँ । नबिल बैंकमा २२ वर्ष सेवा गरेँ ।

नबिलपछि मैले सानिमा बैंकबाट जागिर सुरु गरेँ । यहाँ पनि आठ वर्ष पुग्न लागिसक्यो । जहाँ जहाँ काम गरेपनि बैंक मेरा लागि जागिर खाने ठाउँमात्रै रहेन । हरेक दिन मैले केही न केही सिकेकै हुन्छु । बैंकर्स संघको अध्यक्ष भइसके भनेर भएन, सिक्ने क्रम अझै जारी छ । बैंकिङ क्षेत्रमा जति इफिसियन्ट बन्यो त्यति नै अर्थतन्त्र सबल र मजबुत बनाउन भूमिका खेल्न सकिन्छ । यहाँले हेर्नुहोला, जुन क्षेत्रमा बैंक पुगेका छन् त्यस क्षेत्रको विकास तीव्र रुपमा भएको छ । बैंकिङ क्षेत्रको आफ्नै महत्व छ । यस क्षेत्रमा बसेर काम गर्ने मौका पाएको छु । त्यसैले म खुसी छु । मेरो तीन दशक लामो करिअरप्रति मलाई गर्व छ ।

पैसाभन्दा प्रतिष्ठा ठूलो त भन्नुहुन्छ, तर धेरै प्रतिष्ठित मान्छेहरू घमण्डी हुन्छन् । आफ्नै मूल्यांकनमा तपाईंको स्वभाव कस्तो छ ?
मान्छेका लागि पदबाट आर्जन हुने प्रतिष्ठा भनेको क्षणिक हुन्छ । एउटा मान्छेका रुपमा हामीले आफ्नो प्रभाव छाड्नुपर्छ । मान्छेले आफ्नो जीवनकालमा धेरै उतारचढाव व्यहोरेको हुन्छ । त्यस्ता उतारचढावलाई सामान्य रुपमा लिनुपर्छ । सुखमा मातिने र दुःखमा आत्तिने गर्नुहुँदैन । पद, प्रतिष्ठा र पैसाको बलमा घमण्ड गरियो भने त्यसले हामीलाई अझ बढी दुःखी बनाउँछ । संसारमा मभन्दा सफल मान्छे पनि छन् र म जति सफल हुन प्रयास गरिरहेका पनि छन् । त्यसैले म आफू कुनै कुरामा घमण्ड गर्दिनँ ।

यहाँको बाल्यकालदेखिको अध्ययनक्रम कसरी अगाडि बढ्यो ?
कक्षा १ सम्म मैले सिन्धुलीको भिमानबाट पढेँ । चन्द्रनिगाहापुरको सरकारी विद्यालय जनज्योति माविमा कक्षा २ देखि पढ्न थालेँ । त्यही विद्यालयबाट एसएलसी पास गरेँ । मेरो लक्ष्य बैंकर हुने थिएन । अंग्रेजी भाषाको शिक्षक भएर गाउँमा पढाउँछु भन्ने थियो ।

बैंक क्षेत्रतिर खासै रुचि नभएको, डेविट–क्रेडिट, नाफा–नोक्सान वासलात जस्ता कुरा थाहा नपाएको मान्छे कसरी बैंकमा प्रवेश गर्नुभयो त ?
यसको रमाइलो कहानी छ । मैले नबिल बैंकको परीक्षा दिँदा गणित अंग्रेजी र जिकेका प्रश्न सोध्नुभयो । बैकिङ, कमर्स र फाइनान्स सम्बन्धी प्रश्न सोध्नुभएको भए म फेल हुने थिएँ । नबिल बैंकको विराटनगर शाखा खुल्दा हामी पहिलो ब्याचका कर्मचारी थियौं ।

नबिल बैंकमा जागिर त सुरु गरियो । साथीहरू वासलात, नाफा–नोक्सान खाता, लिभरेज रेसियो, प्रोफिटाविलिटी रिसियो, रिटर्नस अन इक्विटी, फण्ड्स फ्लो, स्टेटमेन्ट लगायतका कुरा गर्छन्, आफचाहिँ केही नबुझ्ने । अंग्रेजी शिक्षक बन्ने लक्ष्य भएको मान्छे बेकार बैंकतिर लागेछु भनेजस्तो पनि भयो । तर सिक्दै जाँदा सबैथोक जानियो । एकातिर काम गर्दै थिएँ अर्कोतिर एमबिए अध्ययन थालेँ ।

एकाउन्ट फाइनान्स, स्टाटिस्टिक्स जस्ता विषय त रमाइलै रहेछन् । फेरि बैकिङ भनेको पूर्णरुमा कमनसेन्स हो । तपाईंले मलाई नै उदाहरणको रुपमा लिए हुन्छ । म आर्ट्स पढेको मान्छे हुँ । मेरो पृष्ठभूमि व्यवस्थापन पनि होइन । मलाई बैंकमा नै बीकम गरेका साथी तथा बोर्डमा सदस्य भएका साथीहरूले डेविट–क्रेडिट सिकाउनु भयो । वासलात र नाफा–नोक्सान खाता सुनेको थिएँ, तर बुझ्दिन थिएँ । पछि आएर मेरो ‘लक’ कस्तो भयो भने मैले सबैभन्दा बढी नाफा कमाउने नबिल बैंकको लेखा तथा वित्त व्यवस्थापन हेर्ने चिफ फाइनान्स अफिसर (सिएफओ) बन्ने अवसर पाएँँ ।

जीवनमा सिक्ने इच्छा हुँदा सिक्न सकिने रहेछ । सिक्ने काम अहिले पनि जारी छ । एमबीएको पहिलो वर्ष डिग्री कलेज अफ विराटनगरमा गर्दागर्दै मेरो सरुवा काठमाडौंमा भयो । पहिलो वर्षको बाँकी पढाइ र दोस्रो वर्षको परीक्षा मिनभवन क्याम्पसमा ट्रान्सफर गरेर त्यहीबाट दिएँ । मैले मिनभवन क्याम्पसबाटै आफ्नो डिग्रीको पढाइ र सर्टिफिकेट प्राप्त गरेको हुँ ।

प्रेम र विवाह जस्ता विषय मान्छेको जीवनमा धेरै महत्वका हुन्छन् । तपाईंको विवाह कसरी भयो ?
मान्छेले झट्टै सुन्यो भने लभ म्यारिज हो कि सोच्छन् । संयोग कस्तो छ भने विद्यालय लेभलमा हामीले एक वर्ष सँगै पढेको हो । डिग्रीमा महेन्द्र मोरङमा पुन हामीले एकै ठाउँ पढ्यौं र पछि म काठमाडौं आउँदा मीनभवनमा नै अध्ययनका लागि उनी आएकी थिइन् ।

संयोगले हाम्रो यसरी कलेजतिर भेट भइ नै रह्यो, तर विवाहचाहिँ मागी हो । त्यतिबेला गर्लफ्रेण्ड बनाउने भन्ने चलनै थिए । केटीसँग बोल्न पनि लाज लाग्थ्यो । लभ म्यारिजको चलन थिएन । त्यसैले एरेन्ज म्यारिज नै गरियो । बिहेको प्रस्ताव आएको केटी आफूसँगै पढेको पो रहिछन् । खासै बोलचाल थिएन । देखेको भए पनि बोलचाल वा चिनापर्ची होइन । पारिवारिक रुपमै कतैबाट कुरा आयो । मैले हुन्छ भनेपछि विहे भयो तर लभ पर्न पाएन ।

अहिले परिवारमा को-को हुनुहुन्छ ?
मैले केटाकेटीदेखि आमा बुवासँग बस्ने सौभाग्य पाइरहेको छु । मेरो बुवा ८० वर्ष र आमा ७८ वर्षको हुनुहन्छ । दाजु–भाउजुसहित हामी संयुक्त परिवार बस्छौं । दाजुका २ जना छोराहरूचाहिँ जर्मनी र अष्ट्रेलियामा छन् । मेरो दुई छोरामध्ये एउटाले डिग्री पढ्ने तरखरमा छ भने कान्छो छोरा ११ मा पढ्दैछ । मेरी श्रीमती कृषि विकास बैंकमा काम गर्छिन् ।

बाल्यावस्थामा कस्तो स्वभावको हुनुहुन्थ्यो ?
म सानोमा एकदमै उट्पट्याङ् काम गर्ने मध्येमा पर्छु । मैले शिक्षकलाई अप्ठ्यारा प्रश्न सोधेर पिटाइसमेत खाएको छु । हामीलाई विज्ञान पठाउने जगत सर निकै कडा हुनुहुन्थ्यो । उहाँलाई जिस्काउँदा कुर्सी उचालेर झण्डै हिर्काउनु भएको थियो । त्यो स्तरको फट्याइँ गर्थेँ । म घरको कान्छो भएकाले मलाई घरमा काम गर्न खासै परेन । जिम्नाष्टिक लगायतका खेलकुदमा धेरै सक्रिय हुन्थेँ । घाँस काट्ने बाहेक हलो जोत्ने, कोदालो खन्ने, भारी बोक्ने, धान काट्ने लगायतका काम गरेको छु । जीवनमा गाउँ र सहरको दुवै अनूभूति पर्याप्त गर्न पाएकोमा म खुसी छु ।

तपाईंको रुचि कुन-कुन विषयमा छ्न् ? रिटायरमेन्टपछि के गर्ने सोच छ ?
बैंकको सिइओ भएपछि मानिसका धेरै गुनासा आउने भएकाले अध्ययन गर्न पाइँदैन रहेछ । मेरो अध्ययनमा एकदमै रुचि छ । त्यस्तै मलाई यात्रा संस्मरण पढ्न र यात्रा गर्न एकदमै मन पर्छ । मेरो मूख्य रुचि भनेको ट्रेकिङ जाने र ट्राभलिङ गर्ने हो ।

मलाई नयाँ-नयाँ ठाउँ घुम्न जान मन लाग्छ । म नेपालको ७७ जिल्लामध्ये ७० जिल्ला पुगेको छ । कोभिडभन्दा अगाडि हामी वर्षमा एकपटक विदेश भ्रमणमा पनि जाने गर्थ्यौं । स-परिवार दसैंको टीकाको भोलिपल्ट गएर भाइटीका अघिल्लो दिन नेपाल फर्किने गरी विदेश भ्रमणमा जान्थ्यौं । विदेश जाँदा एउटै ठाउँ दोहोर्‍याएको छैन । भारत र चीनका धेरै ठाउँ पुगेको छु । तर कोभिड कारण पछिल्लो समय जान पाएको छैन ।

युरोप अमेरिका लगायतका मुलुक पनि पुगेँ । त्यसमध्ये मलाई फ्रान्सको पेरिस सबैभन्दा मन परेको ठाउँ हो । तारानाथ शर्माले आफ्नो पुस्तकमा लेख्नुभएको छु ‘पेरिस रमाउँछ आफ्नै रङ्गैरङ्गमा’, मलाई पनि पेरिस त्यस्तै लाग्यो । अन्य देशका ठाउँ राम्रो छैन भन्न खोजेको होइन, तर त्यहाँको बगैंचा र चौडा सडक अन्तको भन्दा फरक लाग्यो ।

मलाई लक्ष्मीप्रसाद देवकोटाको कृतिहरू र त्यसमा पनि लक्ष्मी निबन्ध संग्रह एकदमै धेरै पढ्न पर्छ । त्यस्तै म अबको ९ महिनापछि अवकास लिँदै छु । त्यसपछि मलाई बौद्ध दर्शनको अध्ययन गर्न तथा संस्करण लेख्न मन छ । रिटायरमेन्टपछि ग्राहकहरूको गुनासो, बैंकहरूको एप्लिकेसन, ऋण प्रवाहको झन्झटिलो प्रक्रिया सरल बनाउन केही योगदान गर्ने रहर छ ।

नेपालमा सबैभन्दा धैरै पैसा बैंकका सिइओहले कमाउँछन् भन्ने गरिन्छ । तपाईंले जीवनमा कति पैसा कमाउनुभयो ? वास्तवमा जीवनमा पैसा कति महत्वपूर्ण रहेछ ?
वास्तवमा जीवनमा जति पैसा भए पनि नपुग्ने रहेछ । मेरा साथीहरू अहिले नेपाल सरकारको सचिवहरू हुनुहुन्छ । उहाँहरू मासिक रुपमा ५०/६० हजार रुपैयाँ कमाउनु हुन्छ, म मासिक १० लाख रुपैयाँ कमाउँछु । अब उहाँहरूले वर्षमा कमाउने पैसा म एक महिनामा कमाउँछु भने त म भाग्यामानी हो नि ।

हामी सरकारलाई इमान्दारीतापुर्वक ३६ प्रतिशत कर तिर्छौं । हामीले यही देशमा कमायौं, कर यही देशलाई तिरेका छौं । राम्रैसँग कमाइया छ, राम्रै तिर्‍या छ । हाम्रो मुलुक गरिब भएर होला, हामीले तिरेको सदुपयोग भएको छैन । पैसा भन्ने कुरा यस्तै हो । जति भए पनि पुग्दैन ।

सचिवले बैंकरलाई हेर्ने, बैंकरले बिजेनेसम्यानलाई हेर्ने, नेपालका बिजनेशम्यानले युरोप–अमेरिका बिजनेश म्यानलाई हेर्ने यस्तै हुँदो रहेछ । विनोद चौधरीले मुकेश अम्बानीलाई, मुकेश अम्बानीले बिल गेट्सलाई, बिल गेट्सले जेफ बेजोस, जेफ बेजोसले इलन मक्सलाई हेर्ने नै हो ।
मलाई धेरै पैसा चाहिन्छ जस्तो पनि लाग्दैन ।

म जाँड–रक्सी, चुरोट, बिँडी, चिया, कफी केही पनि खान्नँ । म पैसाका लागि धेरै तनाब पनि लिन्न, किनकि जीवन मज्जाले बिताउने हो । अब यो अफिसमा हेर्नुस्, थरीथरीका मान्छ आउँछन् । ८० प्रतिशतका मानिसका आफ्नै स्वार्थ हुन्छन् । २० प्रतिशतले मात्रै आपसी स्वार्थका कुरा गर्छन् । यति भन्दाभन्दै पनि बैंकमा कति निक्षेप आएको छ, कति कर्जा लगानी भयो हिसावकिताब गर्नैपर्यो ।

बैंकका सीइओहरू टिपटप भएर हिँड्ने, विलासी जीवन बिताउने गर्छन् । तपाईंलाई चैं त्यस्तो मन पर्दैन ?
मलाई केटाकेटी उमेरदेखि नै यस्तो खाउँ, यस्तो लगाउँ भन्ने थिएन । अहिले पनि मलाई यही चाहिन्छ भन्ने छैन । मलाई मीठा-मीठो पनि चाहिँदैन ।

खासमा मलाई गुनासो गर्न नै आउँदैन । पेटभरि खाना भयो भने म त्यसैमा सन्तुष्ट हुन्छु । मलाई सुट लगाउन मन लाग्दैन । टाइ लगाउन मन लाग्दैन । टाइ नलगाइकन बैंकको सिइओ नै हुँदैन कि भन्ने धारणा पाइन्छ । म त टाइविरोधी हुँ । नबिल बैंकमा हुँदा २२ वर्ष टाइ लगाएर काम गरेँ । सानिमा बैंकमा आएर पनि २/४ महिना टाइ लगाएँ । त्यसपछि लगाउन छोडेँ ।

हाम्रो सानिमा बैंकमा कर्मचारीहरुले पनि टाइ लगाउदैनन् । अपबादमा कुनै–कुनै ग्राहकलाई भेट्न जाँदा टाइ लगाउनुपर्ने हुन्छ । साथीहरू लगाएर जान्छन् । म त्यो ठाउँमा पनि लगाउँदिन । हामीले टाइबिना बैंक चल्दैन भन्ने मानसिकताको अन्त्य गरेका छौं ।

प्रतिक्रिया

One thought on “मैले टाइ लगाउन छोडेँ, कर्मचारीले पनि लगाउँदैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *