शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने कांग्रेस-माओवादी खेलमा जसपाको मिलेन तालमेल – Nepal Press

शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने कांग्रेस-माओवादी खेलमा जसपाको मिलेन तालमेल

माओवादी मन्त्री हटाइँदै, जसपाको एउटा पक्ष सरकारमा सहभागी हुन छलफलमा

रुपन्देही । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसले जसपाको सहयोगमा अग्रसरता लिन थालेपछि नेकपा एमालेले पनि आफ्नो सरकारको स्थायित्वको लागि छलफल अघि बढाएको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नका लागि हस्ताक्षर संकलनको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री हटाउने तयारी गरेका छन् । सरकार टिकाउनका लागि एमालेलाई धेरै जोडबल गर्नु नपरे पनि माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै जसपाको सहकार्य अनिर्वायजस्तै बनेको छ ।

लुम्बिनी प्रदेशसभामा कुल ८७ सांसदमध्ये एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका १ सांसद छन् । ती मध्ये माओवादी केन्द्रबाट निर्वाचित दुई सांसद एमालेमा लागेपछि सो पार्टीले कारबाही गरिएको पत्र संसदमा पेश भइसकेको छ ।

आज नै दुई जनाको सिट खाली हुनेछ भने माओवादी केन्द्रबाट सभामुख बनेका पूर्णबहादुर घर्ती मतदानमा सहभागी हुन पाउने छैनन् ।

माओवादी केन्द्र आफ्नो नेतृत्वमा नेपाली कांग्रेस र जसपाको साथमा सरकार बनाउन अगाडि सरेको स्रोतको भनाइ छ । यसका लागि हस्ताक्षरसमेत संकलन गरिएको समाचार बाहिर आइसकेको छ ।

तर यसमा जसपाका सबै सांसदले हस्ताक्षर गर्न सहमत नभएका कारण रोकिएको छ । जसपाबाट प्रदेश सभाका प्रमुख सचेतक सन्तोष पाण्डे, विजय यादव र सहश्रराम यादव एमालेसँगकै सहकार्यमा अगाडि बढ्न चाहेका छन् ।

यही कारण यो प्रकृया अगाडि बढ्न सकेको छैन । यो समूहबाट अहिले प्रदेश सभामा दोस्रो वरियतामा मन्त्री बनेका माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको छ । प्रदेश सरकारका लागि केन्द्र सरकारले स्वीकृत गरेको ८ मन्त्रालयमध्ये माओवादी र कांग्रेसले तीन तीन र जसपालाई २ मन्त्री बाँड्ने गरी सहमती गरेका छन् ।

तर नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरुदिन खाँनले तीन दलबीच सहकार्यका विषयमा छलफल भएपनि अविश्वासको प्रस्तावमा हस्ताक्षर भइनसकेको बताए ।

उनले नेपाल प्रेससँग भने– छलफल गरेका छौं, नेतृत्व कसले लिने भन्ने कुरा अगाडि बढेको छैन, टुंगोमा पुगेको छैन तर राजनीतिक निकासका लागि तीन दलको सहकार्य आवश्यक हो भन्ने चाहीँ हो, त्यसैमा छलफल अगाडि बढेको छ ।

पोखरेलको काउन्टर तयारी

माओवादी केन्द्र र नेपाली कांग्रेसको चलखेल बुझेपछि मुख्यमन्त्री शंकर पोखरेलले जसपाको एक समूहलाई साझेदार बनाएर अगाडि बढ्न खोजेका छन् ।
माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी तथा सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हटाएपछि मुख्यमन्त्रीले ४ मन्त्री थप गर्न सक्नेछन् ।

प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले तत्काल मन्त्रिमण्डल हेरफेर गर्ने गरी तयारी भएको नेपाल प्रेसलाई बताए । उनले जसपासँग करिब करिब सहकार्यको टुंगो लागेको दावी गरे ।

एमालेले पनि जसपालाई दुई मन्त्री दिनेगरी तयारी थालेको छ । तर नेता ढकालले ठ्याक्कै यही भनेर केही निचोडमा नपुगिएको बताए ।

जसपा शुरुदेखि नै हामीसँगै छ, धेरै विषयमा समन्वय सहकार्य गरेर अगाडि बढेको थियौं, अहिले पनि समन्वय गरेर अगाडि जाने कुरा भएको छ’ सचेतक ढकालले भने ।

जसपा लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डेले नेकपा एमालेसँग सरकार संचालन लगायतका विषयमा छलफल भएपनि निष्कर्षमा नपुगिएको बताए । उनले अन्य दलले अविश्वासको प्रस्ताव तयारी गरेपनि सफल नहुने बताए ।

को को छन् मन्त्रीको लाइनमा ?

नयाँ मन्त्रीमण्डलका लागि जसपाबाट सन्तोषकुमार पाण्डे, विजय यादवको नाम अगाडि आएको छ । एमालेबाट प्रमुख सचेतक भूमिश्वर ढकाल, कमल श्रेष्ठ, भोजप्रसाद श्रेष्ठको नाम चर्चामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर