अहिलेको राजनीतिले देश नै लज्जित : रविन्द्र मिश्र – Nepal Press

अहिलेको राजनीतिले देश नै लज्जित : रविन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

सोमबार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले भने, ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिरहेको छ, त्यो अत्यन्त निन्दनीय र लज्जास्पद छ । देशको स्वाभिमानको हित विपरीत छ । यो राष्ट्रहित विपरीत छ ।’

संविधानले तय गरेअनुरुप सु-संस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि बताए । तर अहिले जे भइराखेको छ त्यो संविधानको विपरीत भइराखेको बताउँदै अध्यक्ष मिश्रले दलहरूले संविधानको सम्मान गर्न सक्नुपर्ने बताए । त्यसबाट मात्रै सुसंस्कृत राजनीति स्थापित गर्न सकिने उनको भनाइ थियो ।

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्ष देखि नै धरमराईरहेको टिप्पणी गरे । नेपालको लोकतन्त्र संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहे पनि अहिले  धरमराईरहेको स्थितिमा लोकतन्त्र रहेको बताए ।

उनले भने, ‘७० वर्ष देखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दुरदर्शिताको अभाव हो । यी सबै अभाव र त्यसको साथमा समाजमा विद्यमान विभेद र सिमान्तकृतहरूले जस्ता किसिमका अधिकारको उपभोग गर्न पाउनुपर्थ्यो तीनको अभाव फेरि आफ्नो ठाउँमा छ । ७० वर्ष भइसक्यो नेपालमा लोकतन्त्र संस्थागत गर्नको लागि प्रयास भइराखेको अहिले पनि हेर्ने हो भने लोकतन्त्र धरमराएकै स्थितिमा हो । त्यो संस्थागत भइसकेको स्थितिमा होइन । यो नेपाली राजनीतिको बिडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा बिसौं सरकार बदलिनु तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

उनले आफ्नो दलले देशभरका नागरिको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पारे । यी विषय सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने पनि बताए । यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतिपूर्ण विषय बनेको बताए ।

वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसी मनाउने मन्त्री र राजनीतिक दलबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पना समेत गर्न नसकिने बताए । उनले भने, ‘रोजगारीको विषय यति महत्वपूर्ण छ । देशका नागरिक बेच्नमा हामी गर्व गर्छौं । श्रम सम्झौता हुँदा हाँसीहाँसीकन मन्त्रीले हात मिलाएको फोटोहरू सबैले देख्न पाउँछौं । त्यो त लज्जाको विषय हो नि । देशको श्रमशक्ति बेचेर त्यसमा खुसी मनाउने त्यो होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर