सुदूरपश्चिममा एमाले संसदीय दलको नेता हटाउने तयारी, बैठक बोलाउन आलटाल – Nepal Press

सुदूरपश्चिममा एमाले संसदीय दलको नेता हटाउने तयारी, बैठक बोलाउन आलटाल

नेताबाट हट्नुपर्ने डरले बैठक आह्वान नगरेको आरोप

कैलाली । एमाले–माओवादी एकता भंग भएपछि सुदूर पश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बस्न सकेको छैन । नेताबाट हट्नुपर्ने डरले प्रकाशबहादुर शाहले बैठक आह्वान नगरेका कारण एमाले संसदीय दलको बैठक बस्न नसकेको हो ।

एमालेको माधव नेपाल पक्षका शाहले नेताबाट हट्नुपर्ने दबाब सामना गर्न नसकेकै कारण बैठक आह्वान नगरेको एक सांसदले बताए । नेता शाह प्रदेश सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् ।

‘दलको नेताबाट हट्न दबाब आउन सक्छ भनेर उहाँले बैठक नबोलाउनु भएको हो’ एमालेका एक सांसदले भने, ‘पहिलो बैठकबाटै दलको नेता परिवर्तन गर्ने तयारी भइरहेको छ ।’

अहिले दलको नेताबाट शाहलाई हटाएर पठानसिंह बोहरालाई जिम्मेवारी दिने विषयमा छलफल भइरहेको उनले बताए । बोहरा नेकपामा विवाद हुँदा ओली समूहमा खुलेका थिए । ओली समूहमा लागेको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टले पुस १४ गते उनलाई बर्खास्त गरेका थिए ।

यस अघि १५ चैत्रमा नेकपा एमालेका अध्यक्ष कर्णबहादुर थापाले संसदीय दलको बैठक बोलाएका थिए । होली पर्वका कारण सांसदहरू उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित गरिएको थापाले जानकारी गराएका थिए ।

एमाले पूर्ववत् अवस्थामा फर्किसक्दा पनि बैठक नबस्दा थप अन्योल भएको एमाले सांसद पूर्णा जोशीले बताइन् ।

‘अहिले धेरै विषयमा छलफल गर्नुपर्ने अवस्था छ । यस्तो बेला दलको बैठक आह्वान गरिएको छैन’ उनले भनिन् ‘अझै कति दिन लाग्ने हो थाहा छैन ।’

बजेट कार्यान्वयनको अवस्था, आगामी आर्थिक वर्षको तयारी, सरकारको गति र गतिविधिका विषयमा पनि संसदीय दलमा कुरा उठ्ने उनले बताइन् ।

पूर्वमन्त्री समेत रहेका सांसद दीर्घ सोडारीले अहिलेसम्म बैठक आह्वान गर्ने विषयमा छलफलसमेत नभएको बताए ।

‘दलको बैठक कहिले बस्ने भन्ने विषयमा कुनै छलफल भएको छैन’ उनले भने ‘एजेन्डा त धेरै छन् तर, बैठक नै भएको छैन ।’

एमाले–माओवादी एकता भंग हुनुअघि पुस १८ गते नेकपा दलको बैठक बसेको थियो । २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्किने फैसला गरे पनि सुदूरपश्चिम प्रदेश सरकार भने संयुक्त रूपमा चलिरहेको छ ।

सुदूर पश्चिम प्रदेशसभामा अहिले एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र जसपाका २ जना सांसद छन् । प्रदेशमा एमाले र माओवादीको संयुक्त सरकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर