कर्णालीमा २४ घण्टाभित्र एमालेका तीन मन्त्रीले राजीनामा दिने निर्णय – Nepal Press

कर्णालीमा २४ घण्टाभित्र एमालेका तीन मन्त्रीले राजीनामा दिने निर्णय

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको आज बसेको बैठकले  सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ ।वैठकमा माधव नेपाल पक्षधर सांसदहरु पनि सहभागी थिए ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले २४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति समेत गरेको छ ।

‘तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ । त्यो निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाउनु भएको छ,’ नेपाल पक्षका एक सांसदले भने, ‘अन्यत्र भन्दा यहाँको जनताको आवश्यकता अनुसार अघि बढ्न दल एकमत भएको छ । नयाँ सरकार गठनका बारेमा खासै आज छलफल भएन ।’

यता, संसदीय दलका नेता यामलाल कंडेलले चैत ४ गते भएको निर्णयमा हेरफेर नभएको बताए ।

‘चैत ४ गतेकै निर्णयका आधारमा दल अघि बढेको छ । आजको बैठक सौहार्दपूर्णरुपमा सम्पन्न भयो । अर्को बैठक आगामी चैत २४ गते बस्ने गरी निर्णय भएको छ,’ उनले भने ।

बैठकले दलको विधान निर्माणको लागि समिति बनाएको छ । प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य भएको कार्यदल बनाइएको हो । २४ गतेको वैठकमा समितिले विधान पेश गर्नेछ ।

नेकपा एमालेले चैत ५ गतेदेखि लागू हुनेगरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेकाले अविलम्ब मार्गप्रशस्त गर्नका लागि आग्रह गरिएको छ ।

‘यद्यपि विविध अर्थ लाग्ने गरी मान्छेहरुले टिप्पणी गरिरहेको अवस्था छ । हिजोमात्रै नेकपा माओवादी केन्द्रको बैठकले केही निर्णय गरेको कुरा मिडियाबाटै हामीले थाहा पायौं । त्यसको बारेमा चर्चा भएको छ, तर टिप्पणी गर्न आवश्यक देख्दिन,’ नेता कंडेलले भने ।

उनले थपे, ‘नेकपा एमाले संसदीय दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा बाँकी रहेका दलहरु मिल्दा पनि संख्या नपुग्ने देख्दादेख्दै विश्वासको मत लिन्न भन्ने कुराले राजनीतिमा राम्रो गर्दैन । त्यसले समयको वर्वादी र विलम्ब मात्रै हुने गर्छ । आज हामी सबै उपस्थित भएका छौं । हामी नेकपा एमाले हौं ।’

उनले केन्द्रमा नेकपा एमालेलाई एकताबद्ध बनाउनका निम्ति अध्यक्षलगायत सबैलाई दलको तर्फबाट ध्यानाकर्षण गरिएको बताए । ‘एकताबद्ध बनाउने अभियानलाई आफ्नो ठाउँबाट सोच्न आग्रह गरेका छौं,’ उनले भने ।

सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर