आज थप १२८ मा कोरोना सङ्क्रमण पुष्टि, भारतबाट फर्किएकामा नयाँ कोरोना पुष्टि – Nepal Press

आज थप १२८ मा कोरोना सङ्क्रमण पुष्टि, भारतबाट फर्किएकामा नयाँ कोरोना पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७२७ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा कारोनाका कारण एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६१ जना छन् । योसँगै उपचार पछि निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार १२३ पुगेको छ । नेपालमा निको हुने दर ९८ दशमलब तीन प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६१३ रहेका छन् । उनीहरुमध्ये ५९ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ८१ हजार ८३२ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

भारतबाट फर्केकाको ‘भेरियन्ट’ कोरोना सङ्क्रमण
भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।

“शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ”, उनले भने, ‘नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ ।” भेरियन्ट कोरोनको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उहाँ पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

यसैगरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका एकसहित डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक जना गरी तीन जनामा भेरियन्ट कोरोनाको पुष्टि भएको छ । भेरियन्ट कोरोना भएका सबै जना घरमै आइसोलेशनमा बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर