खोप आपूर्ति रोकेका हैनौं, घरेलु मागलाई प्राथमिकतामा राखेका हौं : भारत – Nepal Press

खोप आपूर्ति रोकेका हैनौं, घरेलु मागलाई प्राथमिकतामा राखेका हौं : भारत

भारतमा एकैदिन ९० हजार संक्रमित

दिल्ली । अस्ट्राजेनेका खोप आपूर्तिमा रोक लगाएको भन्ने अन्तर्राष्ट्रिय समुदायको अभिव्यक्तिलाई भारतले अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले आपूर्तिमा रोक नलगाइएको बरु, घरेलु मागलाई प्राथमिकतामा राखिएको जनाएको हो ।

साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शुक्रबार भारतले खोप आपूर्तिमा रोक नलगाएको दाबी गरे । उनले भारतको घरेलु माग पुरा भएपछि मात्र खोपलाई विदेशमा निर्यात गरिने बताए ।

भारतले खोप आपूर्ति नगरेपछि कोभिड-१९ विरुद्धको नेपालको खोप अभियान स्थगित भएको छ । भारतको सिरम इन्स्टिच्युटले २० लाख खोप आपूर्तिको सम्झौताअनुसार अझै १० लाख डोज खोप आपूर्ति गर्न बाँकी छ र यसका लागि उसले भुक्तानी पनि लिइसकेको छ ।

भारतले चाँडै खोप आपूर्ति सुचारु गर्ने भन्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन असमर्थ रहेको पत्राचार गरेको थियो । भारतीय विदेश मन्त्रालयले विदेशमा खोप आपूर्तिमा अस्थायी रोक लगाएको विवरणहरु बीबीसी लगायतका मिडियाले प्रकाशन गरेका थिए ।

भारतले गत जनवरी २७ मा सहुलियतमा खोप उपलब्ध गराएपछि नेपालले खोप अभियान चलाएको थियो । बैशाख ७ गतेदेखि पहिलोे डोज लगाएकालाई दोस्रो डोज दिने ५ लाख मात्रा सरकारसँग सुरक्षित छ । अप्रिल २ मा सिरमले नेपाललाई सम्झौताअनुसारको १० लाख डोज उपलब्ध गराएको थियो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म खोप आइपुग्ने कुराबारे केही बताएको छैन । गतसाता नेपाल प्रेससँग कुरा गर्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तिलाई सुचारु गर्न आफू भारतको राजनीतिक र प्रशासनिक नेतृत्वसँग सम्पर्कमा रहेको बताएका थिए ।

भारतले खोप आपूर्ति नगर्दा तीन महिनाभित्र योग्य जनसंख्यालाई खोप लगाउने सरकारी योजना पुरा नहुने देखिएको छ । तर, स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डा. रोशन पोखरेलले चाहिँ अप्रिल अन्त्यसम्म खोप आपूर्ति हुने विश्वास व्यक्त गरे ।

भारतमा सुरु भएको कोरोनाको दोस्रो लहरको कारण त्यहाँ खोपको घरेलु माग उच्च रहेको जनाइएको छ । भारतमा सेकेन्ड वेभ सुरु भएसँगै नेपालमा पनि जोखिम बढेको विज्ञहरु बताउँछन् । बितेको २४ घण्टामा भारतमा थप ९० हजार कोरोना संक्रमित थपिएका छन् । यो एउटै दिनमा भेटिएको संक्रमित संख्या हो ।

भारतमा ७ करोड ३० लाखलाई खोप लगाइएको छ भने नेपालमा झन्डै १७ लाखलाई खोप लगाइएको छ । खुला सीमाका कारण भारतबाट नेपाल आउनेमा पनि संक्रमण पुष्टि भएको छ । सरकारले नाकामा एन्टीजेन परिक्षण गर्दा संक्रमण फैलिएको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर