मिडियामा चर्चासँगै खुवालुङमा चहलपहल, स्थानीयको व्यापार चम्कियो – Nepal Press

मिडियामा चर्चासँगै खुवालुङमा चहलपहल, स्थानीयको व्यापार चम्कियो

इटहरी । मंगलबार दिउँसो प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई धनकुटा, सुनसरी र उदयपुरको संगम क्षेत्र त्रिवेणी पुगे ।

त्रिवेणीकै अगाडि सप्तकोशीको विशाल बहावमा उभिरहेको खुवालुङ जोगाउने अभियानमा रहको किरात राई यायोक्खाको कार्यक्रममा मुख्यमन्त्री राईले छोटो मन्तव्य दिए ।

स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार कसैबाट पनि खुवालुङ भत्काउने निर्णय नभएको र खुवालुङको संरक्षमा सरकार प्रतिवद्ध भएको भाषण गरे मुख्यमन्त्री राईले । प्रदेश सरकारका उच्चपदस्थ कर्मचारी, प्राविधिक र अन्य सरोकारवालासँग जलमार्ग हुँदै खुवालुङ पुगेका थिए उनी ।

खुवालुङअगाडि रहेको त्रिवेणीको बलौटै मैदानमा आएका सबै उपस्थित मुख्यमन्त्रीको सन्देश सुन्न आएका थिए । सोही भिडका सहभागी धनकुटाको त्रिवेणी गाँउका धर्मराज सुभारा राई भने मुख्यमन्त्रीको भाषण सुन्न मात्रै आएका थिएनन् ।

‘म त दोकान गर्न आएको’, उनले भने । अरुबेला गाँउमा १ हजार ५ सय सम्म व्यापार हुनेमा खुवालुङ अगाडि आउँदा ३ हजार बढी बिक्री भएको भन्दै धर्मराज उत्साहित देखिए । भने, ‘हिजो यहाँ आउनेहरूले दोकान खोजेछन् । पाएनछन् । अनि आजबाट दोकान आको ।’

विगत देढ दशकदेखि धनकुटाको शहीदभूमि गाँउपालिकाका त्रिवेणीमा व्यापार गरेका धर्मराजले खुवालुङको चर्चा भएसँगै आफ्नो व्यापार बढेको सुनाए । ‘पहिले पहिले गाँउलेले मात्रै किन्थे । नाउ चढेर आउनेले अलेली किन्थे’, धर्मराजले भने, ‘अहिले त धनकुटाबाट गाडीमा र चतराबाट बोटमा धेरै मान्छे आउँछन् ।’

पहिलो दिनकै व्यापारबाट आफू उत्साहित भएको धर्मराजले सुनाए ।

खुवालुङ अगाडि दोकान लिएर उभिनेमा १५ वर्ष व्यापारको अनुभव गरेका धर्मराजसँगै थिए मंगरबारबाट मात्रै व्यापारी बनेकी स्थानीय शान्ता कुमारी सुभारा राई । आफ्ना दुई छोरी रमा र जानुका साथमा लिएर आएकी शान्ताले भनिन्, ‘यहाँ आउनेले हिजो दोकान खोजेछन् । आजबाट आफैं दोकान लिएर आए ।’

दोकानमा आफ्नो पहिलो अनुवभ भएको सुनाएकी शान्ताले पहिलो दिनमै दुई हजारको व्यापार गरेको सुनाइन् ।

धर्मराज र शान्ताजस्तै धेरै स्थानीय खुवालुङको चर्चाले उत्साहित छन् । दैनिक आगन्तुकको संख्या बढेकोमा झनै हौसिएका छन् । ‘पहिले पहिले खुवालुङ पूजा गर्ने थोरै आउँथे, अहिले हेर्न धेरै आउँछन्’, धर्मराजले सुनाए ।

सप्तकोशीमा सहज जेटबोट सञ्चालन हुँदा र धनकुटाको कच्ची सडक हिलाम्मे नहुँदा मात्रै मान्छेको आगमन हुनाले व्यापार दीर्घकालीन नहुनेमा भने धर्मराज चिन्तित छन् । ‘हामीलाई बर्खामा पनि बोट र गाडी दुवै चल्ने भए धेरै फाइदा हुन्थ्यो’, धर्मराजले प्रश्न गरे, ‘तर, त्यो काम पो कहिले होला ?’

खुवालुङ क्षेत्रमा बढेको चहलपहल देखेका सुनसरीको चतराका पत्रकार विजय राई पनि उत्साहित थिए । ‘खुवालुङ फुटाउने सरकारको कुनै नीति कार्यक्रम नभएको र हल्ला मात्रै भएको मुख्यमन्त्री शेरधन राईले क्लियर गर्नुभयो’, राईले भने, ‘गलत हल्ला भएपनि हल्लाले खुवालुङको चर्चा व्यापक बनायो । तीनै तहका सरकारले मिलेर अब यसलाइ बाह्रै महिना आम्दानी गर्ने परियोजनाको रुपमा विकास गर्नुपर्छ । स्थानीयको आयआर्जन बढाउनुपर्छ ।’

चतराबाट १५ मिनेट हाराहारीमा जलमार्ग हुँदै पुग्न सकिने भएकोले खुवालुङ रोचक गन्तव्य हुने उनले बताए । ‘सुनसरीको प्रसिद्ध धार्मिकस्थल चतराबाट जेटबोट चढेर अर्को महत्वपूर्ण धार्मिक धरोहर बराहक्षेत्र हुँदै खुवालुङ क्षेत्र आउने भएकोले यो रुट अत्यन्तै धेरै सांस्कृतिक महत्वको रुट हुनेछ’, मंगरबार नेपाल प्रेससँग खुवालुङ क्षेत्रमा कुरा गर्दै स्थानीय पत्रकार राईले थपे, ‘यिनै महत्वको अब सबै तहबाट व्यापक प्रबद्र्धन गर्नुपर्छ । स्थानीय नागरिक रसरकार दुवैको आन्तरिक आम्दानी बढाउनुपर्छ ।’


प्रतिक्रिया

One thought on “मिडियामा चर्चासँगै खुवालुङमा चहलपहल, स्थानीयको व्यापार चम्कियो

  1. हामी पनि गएउ हेर्न अत्यन्तै सुन्दर र सहज तर बोट चलाउने हरुको दादा गिरि र ब्रोकर को बिगबिगी ले चै चिन्तित तुल्यायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर