सलमानको ‘राधे’ पोस्टपोन्ड हुने, मुम्बइका फिल्म हल सोमबारदेखि बन्द हुँदै – Nepal Press

सलमानको ‘राधे’ पोस्टपोन्ड हुने, मुम्बइका फिल्म हल सोमबारदेखि बन्द हुँदै

काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरको कारण एकपछि अर्को गरि बलिउडका ठूला फिल्मको रिलिज पोस्टपोन्ड हुने क्रम बढेको छ ।

अक्षयकुमार स्टारर ‘सूर्यवंशी’ अनिश्चितकालका लागि पोस्टपोन्ड हुने निधो भएको दुई दिनमै सलमान खानको ‘राधे’ पनि पोस्टपोन्ड हुने टुंगो लागेको छ । यसको औपचारिक घोषणा केही दिनमै हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

भाइरसबाट प्रभावित बलिउड राजधानी मुम्बईमा आगामी सोमबारदेखि सिनेमा घरहरु बन्द गरिने जनाइएको छ । मुम्बइमा आगामी सातादेखि रात्रीकालिन कर्फ्युदेखि सार्वजनिक स्थानमा भेला हुन रोक लगाइने सम्मका नियमहरु लागु हुनेछन् ।

हलमै रिलिज हुने भनिएको सलमानको राधे पोस्टपोन्ड हुने निश्चित भएपछि ओटीटीमा जाने वा नजानेबारे बहस सुरु भएको छ । तर, सलमानले चाहिँ कोरोनाले थलिएको बलिउडलाई लयमा ल्याउन हलमै रिलिज गर्ने बताएका थिए ।

आउँदो इदमा रिलिज हुने भनिएको राधेको रिलिज सर्ने निश्चित भएपछि त्यस पछाडिका अन्य फिल्मको सम्भावित रिलिजलाई लिएर टाउको दुखाइ सुरु भएको छ । बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले अन्य फिल्महरु पनि रिलिज नहुने जनाएका छन् ।

किनभने ठूलो फिल्मको ब्यापक बजारीकरण गर्न कम्तीमा एक महिना लाग्छ । यसका लागि आगामी १५ दिनभित्र भाइरस नियन्त्रणमा आइसकेको हुनुपर्छ । भाइरस संक्रमणको तथ्यांक हेर्दा यति दिनभित्र नियन्त्रण हुने सम्भावना छैन । यसको सीधा असर बलिउडलाई पर्ने देखिएको छ । अहिले भारतबाट कोरोनाको दोस्रो लहर सुरु भएको छ र दैनिक संक्रमण संख्या नै ७२ हजारभन्दा माथि पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *