मेलम्ची परिकल्पना पाँच दशक पुरानो, कृष्णप्रसाद भट्टराईबाट थप प्रचार : राष्ट्रपति – Nepal Press

मेलम्ची परिकल्पना पाँच दशक पुरानो, कृष्णप्रसाद भट्टराईबाट थप प्रचार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झेकी छन् । यद्यपि, मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै भएको उनले बताइन् ।

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराका टुटी खोल्दै राष्ट्रपति भण्डारीले आयोजनाको उद्घाटन गरेकी थिइन् । उद्घाटनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै भएको बताएकी हुन् ।

तीन दशकअघि तत्कालीन सरकारले विस्तृत सम्भाव्यता अध्ययन गरेपछि आयोजनाको प्रारुप अगाडि आएको उनको भनाइ छ ।

सम्बोधनमा उनले कसैको नाम नलिइ मेलम्ची आयोजनाका परिकल्पनाकारलाई हार्दिक धन्यवाद व्यक्त गरिन् । त्यसपछि उनले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम लिइन् ।

‘प्रजातन्त्रको पुनर्स्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता जाहेर गरेपछि यो आयोजनाले थप महत्व र प्रचार पायो । यसबाट मुलुकको नेतृत्व तहलाई आयोजना कार्यान्वयन प्रेरणा मिल्यो । परियोजनाको ठोसरुपमा कार्यान्वयन हुन त्यसपछि पनि एक दशक प्रतिक्षा गर्नुपरेको थियो,’ उनले भनिन् ।

त्यसपछिका सरकारले विभिन्न चरणमा निर्माण कार्य अघि बढाएको भण्डारीले बताइन् ।

उनले थपिन्, ‘श्री केपी शर्मा ओली सरकारको दृढ इच्छाशक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न भएको छ । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन–सांस्कृतिक सहर र राजधानी काठमाडौंका वासिन्दालाई यो आयोजना एक उपहार भएको छ । जनताको खुशी बढेको छ ।’

नेपाली कांग्रेसले मेलम्चीको सपना देख्ने कृष्णप्रसाद भट्टराईलाई सरकारले आवश्यक जस नदिएको गुनासो गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर