‘चुनावमा जानु नै अहिलेको उत्तम राजनीतिक निकास हो’ – Nepal Press
नेपाल टक

‘चुनावमा जानु नै अहिलेको उत्तम राजनीतिक निकास हो’

‘तत्काल एमालेसँग सत्तासाझेदारीको सम्भावना छैन’

संसद पुनःस्थापना भएदेखि नै नयाँ सरकार बनाउने चलखेल सुरु भयो । अदालतले एमाले–माओवादी एकता भंग गरेपछि माओवादी केन्द्र जसरी पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपरेको छ । एमालेकै पनि माधव नेपाल पक्ष यो सरकारको विकल्प खोजिरहेको छ । तर, न माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ, न प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको प्रक्रिया नै अघि बढेको छ । माओवादीले सरकारको नेतृत्व गर्न आग्रह गर्दा पनि नेपाली कांग्रेसले आनाकानी गरिरहेको छ । सबैलाई सरकार ढाल्नै परेको छ, तर नयाँ सरकारबारे विकल्प नहुँदा सरकारविरोधी दलहरु नै अन्योलमा परेमा छन् । यसै परिवेशबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसँग नेपाल प्रेसकर्मी भानुभक्त आचार्यले गरेको कुराकानी, नेपाल टकमा ।

प्रमुख प्रतिपक्षी दल भएर पनि राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कमजोर भएको टिप्पणी भइरहेको छ । किन यस्तो भएको होला ?

अहिले नेपाली कांग्रेसको भूमिका कमजोर छैन । कांग्रेसले जिम्मेवार ढंगमा प्रतिपक्षीको भूमिका निर्बाह गरिरहेकै छ । सत्तामा जान नहतारिनु भनेको भूमिका कमजोर हुनु होइन ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भित्री साँठगाँठका कारण सरकार ढाल्न कांग्रेसले माओवादीलाई साथ नदिएको भनिन्छ नि !

माओवादी र जनता समाजवादी पार्टीले हाम्रो नेतृत्वलाई सघाउने ग्यारेण्टी भए अहिले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिन्छ । पहिला त उहाँहरुले पारदर्शी रुपमा संस्थागत निर्णय गरेर आउनुपर्यो नि । अहिले बिँड तात्ने, ताप्के नतात्ने जस्तो भएको छ । पहिले सरकारविरुद्ध बहुमत सङ्ख्या नपुर्याइ भाबुक कुरा गरेर मात्रै त भएन ।

माओवादीले त औपचारिक रूपमै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गरेको होइन र ? जसपाको एउटा समूह पनि काँग्रेसको नेतृत्व स्वीकार गर्न तयार भएको कुरा छ । यति हुँदा पनि किन कांग्रेसले आँट गर्न नसकेको ?

जसपाले एकजुट भएर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छैन । उनीहरूको अहिलेकै सरकारसँग वार्ता भइरहेको छ । यस्तो स्थितिमा हामीले कसरी विश्वास गर्न सक्छौ र !

भनेपछि जसपाकै कारण तपाईंहरु पनि अड्किनु भयो ?

हो । हाम्रो पक्षमा अहिले बहुमत पुग्दैन । हामी राष्ट्रिय सहमतिले निर्धारण गर्नुपर्ने विषयमा कुनै क्षेत्रीय, जातीय दलको गठबन्धनमा गएर सम्झौता गर्न चाहन्नौँ । हामी एउटा स्थिर र लोकतान्त्रिक गठबन्धनबाट वर्तमान सरकारलाई विस्थापित गर्न चाहन्छौँ ।

विगतमा केन्द्रीय समितिको बैठकले ‘ओली सरकार असफल भएको र शासन गर्ने अधिकार नभएको’ ठहर गरेको थियो । असफल भयो भनिएको सरकारलाई तपाईंहरूबाटै सहयोग भइरहेको आरोप छ नि ?

यो सरकार योग्य छैन । यो सरकार संवैधानिक पनि छैन । यो सरकारले विश्वासको मत पनि लिएको छैन ।

सरकारले संसद् विघटनको निर्णय गरेको थियो त्यो अदालतले उल्ट्याइ दिएको छ । यो सबै कुरा त हामी प्रतिपक्षमा बसेर भन्दैछौं । यो सरकारलाई सहयोग गर्ने कुरा त हुँदै हुँदैन । तर, सरकार बदल्न हामीसँग बहुमत छैन ।

जसपासँग कांग्रेसको कुरानकानी भएको छैन र ?

उहाँहरूका केही सर्त छन् । रेशम चौधरीको रिहाई हुनुपर्ने माग छ । जुन निकै गम्भीर मुद्दा हो । प्रहरी प्रशासनका मान्छेसँग बालबालिकाको हत्याको अभियोग छ । त्यो मुद्दाको न्यायिक निरुपण नभइ हामी रिहाइको पक्षमा जान सक्दैनौं ।

रेशम चौधरीलाई छोड्दा पनि कानुनी प्रक्रिया पूरा गरेर मात्रै छाड्न मिल्छ । हामी लगातार भनिरहेका छौँ र अदालतले कुनै मान्छेलाई कुनै कुराको आरोप लगाएको छ वा कुनै अपराधको बारेमा फैसला गरेको छ भने त्यसको कानुनी निरूपण त हुनुपर्यो । त्यस्ता मुद्दालाई न्यायिक नभइ राजनीतिक विषय मात्रै बनाउने कुरामा कांग्रेस सहमत छैन ।

मुलुक अब छिटै मध्यावधि निर्वाचनमा जाने चर्चा पनि छ । यसमा तपाईंको तर्क के हो ?

माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्रीले विश्वासको मत लिएनन् भने नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्छ ।

हाम्रो नेतृत्वमा सरकार गठन हुन सकेन भने चुनावमा जाने स्थिति बन्नसक्छ ।

दुई तिहाइ बहुमत पाएको पार्टीले सरकार चलाउन सक्दैनौँ, हामी सक्षम छैनौं भनेर संसद नै विघटन गरेको हो । अदालतले संसद पुनःस्थापना गरिदियो । त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हो । तर यस्तो अन्योलको स्थिति लामो समय रहनु भन्दा चुनावमा जानु नै उत्तम विकल्प हुनसक्छ ।

अब सुदूरपश्चिम प्रदेश सरकार तर्फ लागौं, एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने गृहकार्य गरिरहेको छ । तर, एमाले एक्लैको सरकार बन्ने स्थिति छैन । के कांग्रेसले एमालेसँग सत्ता साझेदारी गर्छ ?

सुदूरपश्चिम प्रदेशमा पनि जसपाकै हातमा सत्ताको चाबी छ । जसपासँग २ वटा सांसद छन् । हामीसँग १२ जना सांसद छन्, २५ जना सांसद एमालेसँग छन् र १४ सांसद माओवादीसँग छन् ।

माओवादी र हामी मिल्दा पनि सङ्ख्या पुग्दैन । अहिले एमालेसित मिल्ने सम्भावना छैन । अब जसपाका २ सांसदले जसलाई सहयोग गर्छन् उसकै सरकार बन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर