ए डिभिजन राष्ट्रिय फुटसल लिगको छनोट सुरु, झरनाको विजयी सुरुवात – Nepal Press

ए डिभिजन राष्ट्रिय फुटसल लिगको छनोट सुरु, झरनाको विजयी सुरुवात

रुपन्देही । अखिल नेपाल फुटबल संघको आयोजनामा ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश छनोट चरणको खेलमा झरना स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेको छ ।

सनराइज स्पोर्ट्स भलबारीमा बिहीबार भएको उद्घाटन खेलमा झरना स्पोर्ट्स क्लब रुपन्देही विजयी भएको छ । झरनाले आरके एफसीलाई ९–६ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

झरनाको जितमा जितेस गुरुङले ४, मोहन बहादुर थापामगरले ३, शंकर राना र सिजन थापाले १–१ गोल गरेका थिए । यसैगरी राधाकृष्ण एफसीका अनुप गुरुङले ३, अनिश शाक्यले २ र किशन गिरीले १ गोल गरेका थिए ।

खेलमा झरनाका जितेस गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरी ३ प्रदेशका ८ टिम बिच छनोट खेल हुने संयोजक बिनोद गुरुङले बताए ।

प्रतियोगिताको विजेता एक टिम उत्कृष्ट १० ए डिभिजनमा छनोट हुनेछ । रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भूमि, इन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देहीबीच छनोट हुने उनले बताए ।

देशभरका सातै प्रदेशबाट छनोट भएका अन्तिम १० टिमले जनही १ लाख, क्लब व्यवस्थापन र यातायात खर्च पाउने उनले बताए । लिग अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टोली चयन हुनेछ ।

काठमाडौंमा हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

एन्फाका केन्द्रीय सदस्य दीर्घबहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्दै फुटसलको विकासमा एन्फा अघि बढेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर