ओली गढमा माधव नेपालले आज कार्यकर्ता भेटघाट गर्दै – Nepal Press

ओली गढमा माधव नेपालले आज कार्यकर्ता भेटघाट गर्दै

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपा विभाजनोन्मुख हुँदा कास्कीमात्रै नभई समग्र गण्डकीमै प्रचण्ड-माधव पक्ष कमजोर थियो । सुरुआती समयदेखि नै नेकपा एमाले र त्यसमा पनि ओली पक्षको दबदबा रहेको यस क्षेत्रमा सर्वोच्च अदालतले एकीकृत पार्टीलाई पुरानै अवस्थामा पुर्‍याइदिएपछि यहाँ एमालेभित्रको माधव पक्ष झनै कमजोर हुन पुग्यो ।

आफूइतर गतिविधिमा लागेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यसमेत नरहने गरी ६ महिनाका लागि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरिसकेका छन् । पार्टीको कारबाहीमा परेपछि नेपाल बुधबार पोखरा आइपुगेका छन् ।

पार्टीबाट कारबाहीमा परिसकेपछि माधव नेपाल पहिलो पटक उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन पोखरा आएका हुन् । ओली पक्षको दबदबा रहेको ठाउँमै पहिलो कार्यक्रममा सहभागी हुन आएका नेपालको उपस्थितिलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पोखरामा ‘समानान्तर कमिटी’ बनाउने तयारीसहित पोखरा आइपुगेको दावी गरिएको छ । तर, उनले तत्काल समानान्तर कमिटी भने बनाउने छैनन् । बिहीबार पोखरामा बस्ने माधव पक्षीय भेलाले ‘ओलीविरुद्ध लाग्न कार्यकर्तालाई हौसला’ नेपाल पक्षीय एक नेताले जनाएका छन् ।

‘समानान्तर कमिटी अहिल्यै  त बन्दैन, तर त्यसैको तयारीका लागि उहाँहरु पोखरा आउनु भएको हो,’ नेपाल समूहका एक नेताले भने, ‘खासमा जिल्लाका कार्यकर्ता भेटघाट, कार्यकर्ताहरुमा उत्साह थपेर संगठन निर्माण गर्ने र ओली प्रवृत्तिविरुद्ध लाग्न अभिप्रेरित गर्ते तयारीमा आउनु भएको हो ।’

माधव नेपाल, सुरेन्द्र पाण्डे बिहीबार सिटी स्क्वायर बैंक्युटमा हुने कार्यक्रममा सहभागी हुने तालिका तय छ । कार्यक्रममा उनले जिल्लका युवा विद्यार्थी, जिल्ला, केन्द्र सबै पार्टी कमिटी सदस्यहरुलाई सम्बोधन गर्ने ती नेताले जानकारी दिए । उनले भने, ‘एकहिसाबले प्रशिक्षण भेला नै भन्न सकिन्छ । तर, समानान्तर कमिटी गठन भने हुँदैन ।’ पाण्डे तत्कालीन नेकपा प्रचण्ड÷माधव पक्षको प्रदेश इन्चार्ज नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर