फिल्म क्षेत्रमा कोरोनाको दोस्रो धक्का, सुनसान हुने भो न्यू इयर – Nepal Press

फिल्म क्षेत्रमा कोरोनाको दोस्रो धक्का, सुनसान हुने भो न्यू इयर

रिलिज, छायांकन र अन्य गतिविधि पुनः प्रभावित

काठमाडौं । नेपालीहरुको नयाँ वर्ष नजिकिएको छ । सामान्य अवस्थामा भए नयाँ वर्षको छेकोमा नयाँ फिल्म रिलिज गर्न हानाथाप हुन्थ्यो । तर, गत वर्ष र यस वर्ष माहोल अर्कै छ ।

कोरोनाले थलिएको फिल्म क्षेत्र चल्मलाउन खोज्दै थियो । फिल्मकर्मीहरु नयाँ फिल्म निर्माणको लागि तात्तिँदै थिए । कलाकारहरु काम फर्किन तम्सिँदै थिए । तर, फेरि कोरोनाको दोस्रो लहरको हल्लाले फिल्म क्षेत्रलाई सुताइदिएको छ । नयाँ रिलिजहरु भटाभट ‘पोष्टपोन्ड’ भएका छन् ।

नेपाली चलचित्रको पछिल्लो चहलपहल यस्तो छः

  • मल्टिस्टारर ‘लप्पन छप्पन’ को दोस्रो श्रृंखला र ‘मनसँग मन’ ले पूर्वनिर्धारित नयाँ वर्षको रिलिज योजना स्थगित गरे । सोही मितिमा आउने भनिएको ‘कृष्णलीला’ पनि स्थगित भएको छ ।
  • मिलन चाम्सको ‘गोर्खा वरियार–२’ को दोस्रो चरणको छायांकन कहिले सुरु हुन्छ टुंगो छैन । कोरोना महामारीको अन्यौलको बीच ‘कबड्डी’को चौंथो श्रृंखला बैशाख पहिलो सातादेखि जाने तयारीमा छ । सुटिङमा जाने मनस्थिती बनाएका केही निर्माताले तत्काल छायांकन सुरु नगर्ने मूड बनाएका छन् । 
  • फिल्म हल खुलेको तीन महिनासम्म पनि नेपाली फिल्म हलको  ‘अकुपेन्सी ‘औसत १० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन । बितरकले उच्च लगानीमा हलिउड र बलिउडका ठूला फिल्म ल्याउन सकेका छैनन् । ठूलो लगानीमा फिल्म ल्याउँदा लगानी नउठ्ने जोखिम कायमै छ । यो साता प्रदर्शन हुने भनिएको  ‘गोडजिला भर्सेस कङ’ यही समस्याले रिलिज हुन सकेन ।

लकडाउनले १० महिना बन्द रहेका हलहरु पुस १० गतेबाट खुलेका थिए । व्यवसायीले एकपक्षीय रुपमा हल खोलेपछि सरकारले पुस २६ गतेको मन्त्रिपरिषद् बैठकबाट केही सर्तसहित फिल्म गतिविधि सञ्चालन गर्न अनुमति दियो । संक्रमण दर बढेमा पुनः हल बन्द गर्ने, जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालन गर्ने सरकारका सर्त थिए । यिनै सर्तका आधारमा तीन महिना फिल्म हल सञ्चालन त भए तर, न्यून अकुपेन्सीमा ।

फिल्म र मनोरञ्जन क्षेत्र बिस्तारै लयमा फर्कँदै गर्दा कोरोनाभाइरस महामारीको सम्भावित दोस्रो लहरको जोखिम सुरु भएको छ । छिमेकी मुलुक भारतमा भाइरसको दोस्रो लहर मात्र सुरु भएपछि नेपालमा जोखिम बढेको हो । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै सभा, जुलुस, बैठक, भेला र भीडभाडजन्य व्यवसाय नगर्न आग्रह गरेको छ । चैत लागेयता नेपालको संक्रमण दर पनि सयबाट उकालो लाग्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ती र जनस्वास्थ्यका मापदण्डमा कडाइ हुन लागेसँगै पुनः नेपाली फिल्म प्रभावित भएको हो । भाइरसको सम्भावित दोस्रो लहरको त्रासको कारण ‘लप्पन छप्पन-२’ र ‘मनसँग मन’ फिल्मले रिलिज स्थगित मात्र गरेनन्, अन्य फिल्म पनि नयाँ मिति घोषणा नगर्ने मनस्थितीमा छन् । छायांकनमा जाने तयारीमा बसेका निर्माताले पनि तत्कालै नजाने मुड बनाएका छन् र वितरकले ठूला फिल्मको वितरण अधिकार खरिद गर्न रुचि देखाएका छैनन् ।

यी अवस्थामा नेपाली फिल्मको निकट भविष्य सहज हुने छाँटकाँट देखिँदैन । किनभने, भाइरस संक्रमण उकालो लाग्दो छ, खोप अभियान प्रभावित बनेको छ र जनस्वास्थ्यविद् आगामी सय दिन संक्रमणको हिसाबले निकै संवेदनशिल हुने बताउँदैैछन् । छिमेकी मुलुक भारतमा दैनिक ६० हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् । संक्रमित हुनेहरुमा भाइरसको नयाँ भेरिएन्ट भेटिएको जनाइएको छ ।

बितेको तीन महिना फिल्मलाई लयमा ल्याउन निकै प्रयत्नहरु भए । चलचित्र विकास बोर्डले पुनरुत्थानका लागि कोभिड राहतको घोषणासमेत गर्‍यो र आउँदो ६ महिनाभित्र रिलिज हुने फिल्मलाई प्राथमिकतासहित ५ लाख दिने निर्णय गर्‍यो । तर, रिलिज भएका फिल्म फ्लप मात्र भएपछि सरकारी निर्णय प्रभावकारी बन्न सकेन ।

अघिपछि भारतीय फिल्मको बिरोध गर्ने फिल्मर्की यसपटक भने बलिउडको ठूलै फिल्म रिलिज पर्खाइमा बसे । ठूलै विदेशी फिल्म रिलिज नभए दर्शक हलसम्म नजाने आफ्नो फिल्म डुब्ने उनीहरुको बुझाइ रह्यो ।

तामझामसहित माघ १ गते रिलिज भएको शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ व्यवसायिक र समीक्षात्मक दुबै कोणबाट असफल बन्यो । त्यसयता रिलिज भएका ‘गोर्खे’ लगायत केही हलिउड र बलिउड फिल्म पनि असफल बने । दर्शक ढुक्क साथ हलमा पुग्ने वातावरण नबन्दा फिल्म व्यवसाय लयमा फर्किन सकेन ।

भाइरसको दोस्रो लहर सुरु हुने सम्भावित जोखिमको कारण निर्मातामा चिन्ता थपिएको छ । लकडाउनका कारण प्रदर्शन हुन नसकेका २२ फिल्मले हल खुलेको तीन महिना बितिसक्दा पनि रिलिज डेट घोषणा गरेनन् । अघिपछि भारतीय फिल्मको बिरोध गर्ने फिल्मर्की यसपटक भने बलिउडको ठूलै फिल्म रिलिज पर्खाइमा बसे । ठूलै विदेशी फिल्म रिलिज नभए दर्शक हलसम्म नजाने आफ्नो फिल्म डुब्ने उनीहरुको बुझाइ रह्यो ।

लकडाउनले रोकिएका चिसो मान्छे, ए मेरो हजुर ४, परदेशी २ लगायतका फिल्मले तीन महिनाभित्र सुटिङ सके । ‘२ नम्बरी’ लगायतका फिल्म भने अझै फ्लोरमा जान सकेका छैनन् । लकडाउनले सुटिङमा जान नपाएका १४ भन्दा बढी फिल्म चैत दोस्रो सातासम्म पनि जाने तयारीमा छैनन् बरु, परिस्थिती साम्य हुने पर्खाइमा उनीहरु छन् । कतिपय जनस्वास्थ्यका मापदण्ड पालना गरेरै फिल्म सुटिङमा जाने तयारीमा छन् ।

नेपाल प्रेससँग कुरा गर्दै ‘कबड्डी’का निर्माता मणीराम पोखरेलले कोरोनाको अन्यौलका बीच आफूहरु सुटिङमा जाने तयारीमा रहेको बताए । वैशाख पहिलो साता मुस्ताङमा हुने सुटिङका लागि सबै कलाकार र प्राविधिकको पीसीआर परिक्षण गर्ने र सुटिङ सेटमा बाहिरी मान्छेलाई जान नदिने उनीहरुको तयारी छ । कबड्डी फिल्मकै लागि बेलायत लगायतका मुलुकबाट आएका कलाकार अहिले क्वारेन्टिनमा रहेको जानकारी दिँदै निर्माता पोखरेलले आफूहरु भाइरस संक्रमणबाट कास्ट एन्ड क्रूलाई नै जोगाउन लागिपरेको बताए ।

‘राजनीतिक दलले सभा, जुलुस गर्न मिल्ने तर, हामीले सामाजिक दूरी कायम गरेर सुटिङ गर्छौं भन्दा नमिल्ने भन्ने हुँदैन’ पोखरेल भन्छन् ।

निर्देशक एवं निर्माता मिलन चाम्सले दुई सातामा आफ्नो प्रतीक्षित फिल्म ‘गोर्खा वारियर-२’को पहिलो चरणको छायांकन सम्पन्न गरे । दोस्रो चरणको छायांकन सुरु हुनुअघि उनी कोरोना संक्रमणको अवस्था सामान्य हुने पर्खाइमा छन् । कोरोना साम्य भएपछि मात्र आफू सुटिङका लागि बेलायत जाने उनको तयारी छ ।

नेपालको परिस्थिती भारतको संक्रमण दरमा निर्भर हुने भएकाले यहाँको मनोरञ्जन क्षेत्र (फिल्म, संगीत र गतिविधि) तत्काल लयमा फर्कने सम्भावना देखिँदैन ।

बितेको तीन महिनामा मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा दर्शकको औषत अकुपेन्सी २० प्रतिशत रह्यो । सरकारले निर्धारण गरेको ५० प्रतिशतलाई शतप्रतिशत मान्दा यो सुखद पनि हो तर, पुनः कोरोनाको जोखिम बढेपछि भने फिल्म हेर्न हलमा जाने दर्शक संख्या शुन्यप्रायः छ ।

क्यूएफएक्स सीइओ रोशन अडिगाका अनुसार हलमा नयाँ रिलिज फिल्म नहुनु र कोरोनाको हल्लाको कारण दर्शक संख्या न्यून भएको हो । क्यूएफएक्सले विगतका सुपरहिट र ब्लकबस्टर फिल्मलाई पुनः रिलिज गरेपनि दर्शकले त्यसमा खासै रुचि देखाएनन् ।

हलिउडको नेपाल वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठ कोरोनाको त्रास पुनः बढ्न सक्ने भयले हलिउड कम्पनीले ठूला फिल्म नेपाललाई नदिएको बताउँछन् ।

‘कोरोना त्रासकै कारण ठूला हलिउड फिल्म पनि पछिल्लो समय आउन सकेका छैनन् । आएपनि ठूला फिल्म ल्याउन ठूलै लगानी गर्नुपर्छ । लगानी उठाउने सवाल पनि हुन्छ’ उनी भन्छन्, ‘यद्यपी हामीले प्रयास गरिरहेका छौं ।’ काठमाडौंस्थित बलिउड फिल्म वितरण कम्पनी ब्यांकटेस मूभिजका मनोज राठी पनि कोरोनाकै कारण फिल्म ल्याउन अन्यौल भइरहेको बताउँछन् ।

विश्वव्यापी प्रभाव

नेपालमा मात्रै नभएर भारतीय चलचित्र उद्योगको पनि उही अवस्था छ । बलिउडमा पुनः फिल्म पोस्टपोन्ड र रिलिज स्थगनको सिलसिला सुरु भएको छ । कोरोनापछि लयमा फर्कन संघर्ष गरिरहेको बलिउडलाई अहिले भाइरसको सेकेन्ड-वेभले धक्का दिएको छ ।

मंगलबार मात्र अमिताभ बच्चन र इमरान हासमी स्टारर ‘चेहेरे’ को रिलिज स्थगित गरियो । गत साता ‘बन्टी और बब्ली-२’ र ‘हाथी मेरे साथी’ पनि पोस्टपोन्ड भएका छन् ।

अन्यौलकै बीच अक्षय कुमार र कट्रिना क्याफ स्टारर ‘सूर्यवंशी’को स्ट्रिमिङ अधिकार नेटफिल्क्सले खरिद गरेको थियो । यो फिल्मको पनि रिलिज डेट अनिश्चितकालका लागि स्थिगित भएको छ ।

जनस्वास्थ्यविद् एवं फिल्म निर्देशक डा. सचिन घिमिरे अझै केही समय फिल्म लगायतको क्षेत्र सामान्य भैहाल्ने सम्भावना नरहेको बताउँछन् ।फिल्मकर्मीलाई हतार नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न उनको सुझाव छ ।

भेराइटी म्यागजिनका अनुसार महामारीको कारण हलिउड फिल्म छायांकनमा अहिलेसम्मकै ठूलो गिरावट आएको छ । सन् २०१९ मा ३६ हजार ५४० फिल्म सुटिङ भएका थिए । तर, सन् २०२० मा त्यसमा ४८ प्रतिशत गिरावट आएर १८ हजार ९९३ मात्र सुटिङ भए । भेराइटीले हलिउडमा फिल्म छायांकनको यो २५ वर्ष यताकै न्यून आँकडा भनेको छ । लस-एन्जल्स फिल्म उद्योगका अध्यक्ष पौल एड्लीले फिल्म निर्माणमा अभूतपूर्व गिरावट आएको बताए ।

हलिउडमा अघिल्लो वर्षको तुलनामा सन् २०२० मा फिचर फिल्म निर्माणमा ५६ प्रतिशत कमी आएर जम्मा १,६४१ फिल्म मात्र सुटिङ भएका थिए । भाइरसले लस-एन्जल्सलाई प्रभावित बनाएपछि अहिले हलिउड फिल्म निर्माताको ध्यान छायांकनको लागि उत्तरी छिमेकी क्यानडातर्फ सोझिएको छ । हलिउड स्टुडियो र स्ट्रिमिङ कम्पनीहरु भ्यानकुभर लगायतका क्यानेडेली सहरमा फिल्म र टेलिभिजन सिरिज निर्माणमा केन्द्रित भएका छन् ।

युरोप र अमेरिकामा भाइरसको तेस्रो लहर सुरु भैसकेको छ र खोप अभियान सुरु भएपनि संक्रमण दर बढिरहेको छ । नेपालको परिस्थिती भारतको संक्रमण दरमा निर्भर हुने भएकाले यहाँको मनोरञ्जन क्षेत्र (फिल्म, संगीत र गतिविधि) तत्काल लयमा फर्कने सम्भावना देखिँदैन । जनस्वास्थ्यविद् एवं फिल्म निर्देशक डा. सचिन घिमिरे अझै केही समय फिल्म लगायतको क्षेत्र सामान्य भैहाल्ने सम्भावना नरहेको बताउँछन् ।

फिल्मकर्मीलाई हतार नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न उनको सुझाव छ । उनी परिस्थितीलाई सामान्य बनाउनको लागि चलचित्र विकास बोर्डको भूमिका महत्वपूर्ण हुने बताउँछन् ।

‘बोर्डले कोभिड पुनरुत्थानका लागि राहत ल्याउने र अबको जोखिमलाई न्यूनीकरण गर्नेतर्फ कदम चाल्नुपर्छ,’ घिमिरेको सुझाव छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सोमबारसम्म नेपालमा कोरोनाभाइरस संक्रमित संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ भने मृत्यु ३,०२७ पुगेको छ । १७ लाख ५८ हजारलाई कोभिडविरुद्धको खोप लगाइसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *