चाँडो सरकार बदल्ने चाहना कांग्रेस–माओवादीको, जसपाको प्राथमिकता मुद्दा फिर्तामा – Nepal Press

चाँडो सरकार बदल्ने चाहना कांग्रेस–माओवादीको, जसपाको प्राथमिकता मुद्दा फिर्तामा

काठमाडौं। वर्तमान सरकारलाई बदल्ने प्राथमिकता आफूहरुको भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले बताए पनि जनता समाजवादीले भने मुद्दा फिर्तालाई प्राथमिकतामा राखेको छ । बुधबार प्रतिनिधिसभाको भवनबाहिर केपी शर्मा ओलीको नेतृत्वको सरकारबारे आआफ्नो धारणा राख्दै नेताले आफ्नो प्राथमिकता प्रष्ट्याएका हुन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुन प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन फिर्ता लिने बताउँछन् । ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ,’ उनी भन्छन्, ‘कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहादैनौँ स्थिर होस् । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’

कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताए । अबको एक हप्ता भित्र सबै विषय टुङ्गिनुपर्ने उनको मत छ । ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न,’ थापा भन्छन्, ‘माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस्।’

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतो आफूहरुले उठाएका मुद्दाको सम्बोधन गराउनु नै आफूहरुको पहिलो प्राथमिकता भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले उठाउँदै आएका सवाल छन् । मुद्दाहरु छन् । त्यसलाई सम्बोधन कसरी गराउने ? यो अहिलेको हाम्रो प्राथमिकता हो। आफ्नो मुद्दालाई सम्बोधन गराउने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर