उपेन्द्रलाई देउवाले सोधे- जसपाको आधिकारीक निर्णय के हो ? – Nepal Press

उपेन्द्रलाई देउवाले सोधे- जसपाको आधिकारीक निर्णय के हो ?

काठमाडौं । सत्ता समीकरणमा निर्णायक देखिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने अग्रसरता लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् ।

देउवा निवास बुढानिलकण्ठ पुगेका यादवले पछिल्लो राजनीतिबारे देउवासंग छलफल गरेका हुन् । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीसंगै सहकार्यको पक्षमा उभिएका बेला यादवले देउवासंग भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

जसपाभित्र यादव र डा.बाबुराम भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छन् । यद्यपि पार्टीभित्र ठाकुरको पक्षमा बहुमत रहेको छ ।

कांग्रेस सभापति देउवासंगको भेटमा यादवले राजनीतिक अग्रसरता बढाउन आग्रह गरेका हुन् । सभापति देउवाले भने पछिल्लो राजनीतिक परिस्थितिबारे आफू राम्ररी जानकार रहेको भन्दै वैकल्पिक सरकार गठनका लागि वातावरण नबनेको बताएका थिए । ‘तपाईकै पार्टीले ओलीसंग कुरा मिलाइरहेको छ । मैले के गर्नु ?’, देउवाले भनेक थिए ।

यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि आफूहरु ओलीको विकल्प खोज्ने पक्षमा रहेको बताएका थिए । ‘अहिलेको सरकार हटाउन पहल गरौं । कांग्रेसकै नेतृत्वमा अगाडि बढौं’, यादवको प्रस्ताव थियो । जवाफमा देउवाले जसपाले ओलीसंग नमिल्ने औपचारिक निर्णय नगरेसम्म आफू अगाडि नबढ्ने बताएका थिए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेस सभापति देउवालाई भेटेर वैकल्पिक सरकार गठनका लागि अग्रसरता लिन आग्रह गरेका थिए । सो भेटमा पनि सभापति देउवाले नयाँ सरकार गठनका लागि परिस्थिति नबनेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर