बिमस्टेक बैठक भोलि बस्दै : म्यानमार संकटमाथि छलफल हुनेमा अन्यौल – Nepal Press

बिमस्टेक बैठक भोलि बस्दै : म्यानमार संकटमाथि छलफल हुनेमा अन्यौल

छलफल नभए दुर्भाग्यपूर्ण : विज्ञ

काठमाडौं । म्यान्मारमा राजनीतिक संकट गहिरिँदै जाँदा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)का सदस्य मुलुकहरुको १७ औं बैठक विहिबार हुँदैछ ।

नेपाली समयअनुसार बिहान १० बजे भर्चुअलरुपमा हुने बैठकमा परराष्ट्रमन्त्रीहरु सहभागी हुनेछन् । बैठकको पूर्वसन्ध्यामा बिमस्टेकका सदस्य मुलुकको विदेश मन्त्रालयका बरिष्ठ अधिकारीहरु सम्मिलित बैठक भएको थियो ।

एजेन्डा तय गर्न बसेको उक्त बैठकमा म्यान्मार मुद्दाबारे छलफल नभएको जनाइएको छ । नेपाल प्रेससँग कुरा गर्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यसपटकको बिमस्टेक बैठकमा म्यानमारबारे छलफल हुने सम्भावना न्यून रहेको बताइन् ।

‘बैठकमा म्यान्मारबारे छलफल हुने सम्भावना न्यून छ । अहिलेसम्म म्यान्मार एजेन्डा तय भएको छैन’ लम्सालले भनिन्, ‘छलफलका क्रममा कुनै सदस्यले कुरा उठायो भने अलग्गै कुरा तर, अहिलेसम्म एजेन्डाको रुपमा प्रस्ताव भएको छैन ।’

बुधबारको भर्चुअल बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालसहित बिमस्टेकका सात सदस्य मुलुकका अधिकारीहरु सहभागि थिए । सचिवस्तरीय छलफलको आयोजना वर्तमान अध्यक्ष श्रीलंकाले गरेको थियो । बिमस्टेक सदस्यहरुमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्यान्ड र भुटान छन् ।

पाँचौ शिखर सम्मेलनको तयारीको रुपमा पनि अहिलेको बैठकलाई हेरिएको छ । बिमस्टेकको एउटा सदस्य मुलुक म्यान्मारमा रक्तपात मच्चिरहँदा र असफल राष्ट्र बन्नेतर्फ उन्मुख भैरहेको आशंका भैरहँदा परराष्ट्रसचिव स्तरिय बैठकमा चाहिँ म्यान्मारबारे एजेन्डा तय नभएको हो ।

परराष्ट्र प्रवक्ता लम्सालका अनुसार आर्थिक र स्वास्थ्य साझेदारी लगायतका विषयमा छलफल हुने एजेन्डा तय भएका छन् । तर, नेपाल प्रेससँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मार हिंसाको निन्दा गरेका थिए भने तत्काल लोकतन्त्र पुनर्वहाली हुनुपर्ने धारणा राखेका थिए ।

यसपटकको बिमस्टेक बैठकमा म्यानमार एजेन्डा नबन्नूलाई म्यानमार विज्ञ डा. धीरेन्द्र नाल्बो ‘दूर्भाग्यपूर्ण’ बताउँछन् । ‘सैनिक दमनको निन्दा गर्नु प्रत्येक लोकतान्त्रिक मुलुकको कर्तव्य र दायित्व हो’ नेपालप्रेससँग उनले भने, ‘तर, म्यान्मारबारे छलफल हुने सम्भावना म न्यून देख्छु ।

यदि भएन भने पनि त्यसलाई अस्वभाविक मान्नुपर्दैन किनभने एजेन्डा प्रस्तुत गर्नु अगाडि प्रत्येक मुलुकले आफ्नो पोजिसन स्पष्ट पारेको हुन्छ ।’

म्यान्मारको पछिल्लो अवस्थाबारे बिमस्टेकका दुई शक्तिशाली मुलुक भारत र थाइल्यान्ड मौन रहनु स्वभाविक भएको नाल्बोको भनाई छ । उनको भनाइमा थाइ सेना र बर्मेली सेनाबीच परम्परादेखि नै गहिरो सम्बन्ध छ । उनको बुझाइमा भारत म्यान्मारबारे मौन रहनुको पछाडि दुई कारण छन् ।

पहिलो- भूराजनीतिक कोणमा चीनसँग सन्तुलन राख्न प्रयास र दोस्रो- म्यान्मारको बिद्रोही समूह र भारतको उत्तरपूर्वी राज्यमा सक्रिय सशष्त्र समूहबीच हतियार आदानप्रदान हुने गरेको बताइन्छ । यदि म्यान्मार सेनासँग सम्बन्ध बिगारे आफ्ना सशष्त्र समूहबीच बर्माको हिमचिम बढ्ला कि भन्ने भारतको ठम्याइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर