भारतीय गोर्खा नेपालबाट आएको भनेपछि बीजेपी नेता विवादमा तानिए – Nepal Press

भारतीय गोर्खा नेपालबाट आएको भनेपछि बीजेपी नेता विवादमा तानिए

काठमाडौं । भारतीय गोर्खाहरु नेपालबाट आएकाले उनीहरुको मागलाई केन्द्रीय सरकारले मात्र सम्बोधन गर्ने अभिव्यक्ति दिएपछि सत्तारुढ बीजेपी नेता कैशाल विजयभर्जिया विवादमा तानिएका छन् ।

सोमबार बंगालको कुर्सोङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विजयभर्जियाले भनेका थिए -भारतीय गोर्खाहरु नेपालबाट आएका हुन् । यहाँका ११ नेपाली समुदायको माग केन्द्रिय सरकारले पुरा गर्नेछ ।’

उनले यस्तो अभिव्यक्ति दिए लगत्तै पहिचानको लागि संघर्ष गरिरहेको भारतको गोर्खाली समुदाय विरोधमा उत्रिएको छ । गोर्खा जनमुक्ति मोर्चाका नेता विनय तामाङले वक्तव्य जारी गर्दै विजयभर्जियाको अभिव्यक्तिको निन्दा गरेका छन् । उनले अभिव्यक्तिप्रति माफी माग्नुपर्ने बताएका छन् ।

‘हामी नेपालबाट आएको भन्दै बीजेपीले हामीलाई हाम्रै मातृभूमिमा अपमान गरेको छ’ विज्ञप्तीमा उल्लेख छ । बीजेपीका अर्का नेता एसएस आलुवालियाले पनि भारतीय गोर्खा नेपालबाट आएको प्रतिक्रिया दिएका थिए ।

पश्चिम बंगालमा दोस्रो चरणको चुनाव हुनै लाग्दा बीजेपी नेताको यस्तो अभिव्यक्तिको नेपाली भाषी समुदायले विरोध जनाएका छन् । भारतीय संचारमाध्यमले उक्त अभिव्यक्ति दिएर विजयभर्जियाले अरिंगालको गोलामा हात हालेको टिप्पणी गरेका छन् ।

बीजेपी नेताको त्यस्तो अभिव्यक्तिपछि दार्जिलिङमा रहेका भुजेल, गुरुङ, मगर, नेवार, जोगी, खस, राई, सुनुवार, थामी, याक्खा (देवान) र धिमालको भावनामा चोट पुगेको जनाइएको छ । विजयभर्जियाको अभिव्यक्ति जिब्रो चिप्लिएर आएको भन्दै केही बीजेपी नेताले भने बचाउ गरेका छन् ।

गोर्खा जनमुक्ति मोर्चाका महासचिव विमल गुरुङ निकट मानिने रोशन गिरीले चाहिँ विजयभर्जियाको अभिव्यक्तिले नेपालीभाषीप्रति बीजेपीको दृष्टिकोण स्पष्ट भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर