घाँस काट्न जाँदा हराएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको मेयरको दावी – Nepal Press

घाँस काट्न जाँदा हराएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको मेयरको दावी

जनकपुरधाम । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका मेयर संजिव सिंहले दावी गरेका छन् । महोत्तरी भंगाहा नगरपालिका–८ धरमपुपरका सात जना किशोरी तथा बालिका सीतामढीमा भेटिएको खबर आएपछि प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ ।

हराएका बालिका भेटिएको अपुष्ट खबरपछि प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको टोली सीतामाढीतर्फ लागेको छ । टोली केहीबेरमै सीतामढी पुग्नेछ । महोत्तरीका एसपी दिनेश आचार्यले जहाँबाट पनि भने बालिका र किशोरीहरुलाई खोजेर ल्याइदिने आश्वासन परिवारलाई दिएका छन् ।

महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका सात दलित बालिका–किशोरी बेपत्ता भएका छन् । मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ बालिका र २ किशोरी बेपत्ता भएका हुन् ।

भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका हुन् ।

उनीहरु हिजो बिहान करिब ११ बजेदेखि घाँस काट्न गाउँ नजिकै खेततिर गएका थिए । अहिलेसम्म नफर्किएको र हिजो साँझदेखि नै स्थानीय प्रतिनिधिसहितको टोली खोजी कार्यमा लागेको मेयर साहले बताए ।

बालिका–किशोरी बेपत्ता भएपछि भंगहामा सन्नाटा छाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर