माधव नेपाल पक्षको रणनीति- ओलीसँग तत्काल न सम्बन्ध, न सम्बन्ध बिच्छेद ! – Nepal Press

माधव नेपाल पक्षको रणनीति- ओलीसँग तत्काल न सम्बन्ध, न सम्बन्ध बिच्छेद !

एमालेभित्रै अलग पार्टीको अभ्यास गर्ने,सत्ता समिकरणको आधारमा नयाँ कदम चाल्ने

काठमाडौं । माधवकुमार नेपाल र भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेको भोलिपल्ट झलनाथ खनाल र नेपाल सहितका ओली विरोधी नेताहरुबीचको छलफलको निश्कर्ष हो- तत्काल एमालेकै नाममा तलदेखि माथिसम्म समानान्तर अभ्यास गर्ने ।

मंगलबार कलंकीस्थित एक पार्टी प्यालेसमा दिनभरजसो भएको छलफलपछि नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यले कारवाहीको भर्त्सना गर्दै संयुक्त विज्ञप्ति जारी गरे ।

‘ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजेको’ आरोप विज्ञप्तिमा लगाइएको छ । र, ‘एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशय’बाट यस्तो कदम चालेको आरोप उनीहरुले लगाएका छन् ।

‘यस्तो कार्य पार्टी भित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरीतको कार्यको हामी भर्त्सना गर्दछौं ।’

पार्टीको सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्धरुपमा संगठित हुन उनीहरुले कार्यकर्ताहरुलाई आव्हान गरेका छन् ।

अलग पार्टी अभ्यासलाई निरन्तरता

अध्यक्ष ओलीले कारबाही बढाउँदै लगिरहेकासन्दर्भमा अब के गर्नुहुन्छ भन्ने प्रश्नमा नेपाल पक्षमा नेताहरु अलमलमा छन् । उनीहरु पार्टी फुटाउन चाहँदैनौं भन्छन् तर एमालेभित्रै रहेर अलग पार्टीको अभ्यासले अन्ततः अलग पार्टी नै हुने हो ।

‘हामीले नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको नीति, विधान र यसका मान्यताहरुलाई संरक्षण गर्नका लागि पार्टीका नेता कार्यकर्तालाई एकताबद्ध भएर संगठित भएर अगाडि बढ्न आह्वान गरिसक्यौं,’ नेता भीम रवाल भन्छन् ‘संगठित हुन आवह्वान गर्नुको अर्थ के हो भने, हाम्रा राष्ट्रिय महाधिवेशनपछि बनेका जति पनि संरचनाहरु थिए, ती संगठनलाई यथावतरुपमा क्रियाशील बनाउने ।’

४ र ५ चैतमा ललितपुरको सानेपास्थित हेरिटेज ब्याक्वेटमा चलेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले नवौं महाधिवेशनबाट बनेका देशभरका संगठनलाई ब्यूँताउने घोषणा गरेको थियो ।

तीन/चार महिना देशभरि पार्टीका बैठक, भेला र प्रशिक्षणमा केन्द्रित हुने भेलाले निश्कर्ष निकालेको थियो । सोही अनुसार अखिल नेपाल महिला संघ, युवा संघ र अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेला भएर अलग केन्द्रिय कमिटी गठन भइसकेको छ। अब जिल्ला कमिटीहरु गठन हुने नेताहरुले बताएका छन् ।

यसबीचमा भोजपुर, गोरखा र अर्घाखाँचीमा माधव नेपाल पक्षले अलग जिल्ला कमिटी बनाइसकेको छ । यो क्रम अब सबै जिल्ला र वडा तहसम्म पुग्ने रावल बताउँछन् । नेता युवराज ज्ञवाली भन्छन्, ‘हामी राष्ट्रिय कार्यकर्ता भेलादेखि देशव्यापी रुपमा एमालेलाई नै पुनर्गठित, रुपान्तरित र सुदृढ गर्ने कामको अभियानमा हामी लागि रहेका छौं ।’

‘एमालेलाई पुनर्गठन’ भने पनि त्यहाँ ओली पक्षलाई राखिएको छैन । त्यसैले सामान्तर संगठन संरचना हो भन्ने बुझ्न कठिन छैन्।

विभाजनको संकेत

प्रष्ट शब्दमा नेताहरुले अन्तरसंघर्ष जारी राख्दै अन्तिममा पार्टी विभाजनसम्म जान्छौं भनेर नभनेका भए पनि त्यसको संकेत भने गरिरहेका छन् ।

नेता रावल पहिलो चरणमा नेकपा एमालेको सिद्धान्त, नीति र संगठनको रक्षाका लागि पाइला चाल्ने र त्यति गर्दा पनि नभए अगाडि बढ्ने बताउँछन् ।

‘पहिलो चरणमा नेकपा एमालेको सिद्धान्त, नीति र संगठनको रक्षाका लागि पाइला चाल्छौं,’ उनी भन्छन्, ‘र, पार्टी विभाजन गर्ने, त्यहाँ गुटवन्दी गर्ने र यो पार्टीलाई सिध्याउन दिशातर्फ अग्रसर हुने काम केपी शर्मा ओलीजी र उहाँलाई सर्मथन गर्ने मानिसबाट भइरहेको हुनाले अब भोलि उहाँले पार्टी विभाजन गर्नुभएछ भने हामी त्यतिबेला संगठनात्मक रुपमा पनि अगाडि बढ्छौं ।’

अर्का नेता ज्ञवाली पार्टी अझैं फुटको तहसम्म पुगि नसकेको र भविष्यमा के हुन्छ भन्ने कुरा चाहिं अध्यक्ष ओलीका क्रियाकलपामा भर पर्ने बताउँछन् ।

‘विधिवत् रुपमा एमाले अहिले फुटेको छैन्, त्यो यथार्थ कुरा हो,’ एमाले फुटिसकेको हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘एमालेको संसदीय दल पनि एकै ठाउँमा छ । तर पार्टीको आन्तरिक सांगठनिक जीवनमा अलग–अलग ढंगले क्रियाकलाप तथा गतिविधिहरु अगाडि बढिरहेका छन् । अहिले त्यो फुटको तहसम्म पुगेको छैन । अहिले नै यो फुटिसक्यो भनेर निश्कर्ष निकाल्ने अवस्था छैन । तर भविष्यमा के हुन्छ त्यो केपी ओलीजीका क्रियाकलापमा भरपर्छ ।’

नेता नेपाल स्वयं आफूहरु पार्टी एकताको रक्षाका लागि लागेको बताइरहेका छन् । यद्यपि उनले मोहन बैध, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतसँग तारन्तार भेटघाट गरिरहेका छन् ।

‘तत्काल हामी अर्को पार्टी घोषणा गर्ने अवस्थामा छैनौँ,’ यसबारे प्रष्टीरकण दिँदै ज्ञवाली भन्छन्, ‘हामी राजनीतिक व्यक्ति हौं । नेपालका तमाम वामपन्थीहरु, देशभक्तहरु, प्रजातन्त्रवादीहरु सबैसँग हाम्रो कुराकनी चलिरहन्छ ।’

अहिले माधव नेपाल पक्षको तत्कालीन रणनीति भनेको ओलीले गरेको कारवाही अश्वीकार गर्ने र एमालेकै नाममा अलग पार्टी अभ्यास गरेर तलैसम्म आफ्ना पक्षधर कार्यकर्तालाई एउटै छातामुनी राख्ने देखिएको छ ।

त्यसो भयो भने कुनै पनि बेला अलग पार्टी गठन गर्दा तलदेखि माथिसम्मकै पंक्ति हुने र त्यो शक्तिका आधारमा माओवादी केन्द्रसँग पुनः एकीकरण गर्न सकिने निश्कर्ष नेताहरुको छ ।

यसबीचमा प्रचण्ड र माधव नेपालबीच लगातार घण्टौं छलफल भइरहेका छन् । ती छलफलको मुख्य विषय ओलीलाई सत्ताबाट हटाउने नै हो । तर विपक्षीहरु तयार नहुँदा प्रचण्ड–माधव विलखबन्धनमा परेका छन् ।

ओलीलाई सत्ताबाट हटाउन सकियो भने एमालेमा उनी कमजोर बन्ने आँकलन प्रचण्ड-माधवको छ । सर्वोच्चको फागुन २३ को फैसलाविरुद्ध न्यायिक पुनरावलोकनमा जाने निर्णय पनि झलनाथ र माधवको सहमति लिएरै भएको प्रचण्डले बताइसकेका छन् ।

माधव नेपाल पक्ष आफैंमा अहिले स्पष्ट छैन । केही नेताले प्रचण्डलाई छाडेर ओलीकै नेतृत्वमा फर्किनु नै गलत थियो भनिरहेका छन् । केहीले ओलीले कारवाही नै गरे पनि एमालेमै बसेर संघर्ष गर्ने अलग पार्टीमा नजाने बताइरहेका छन् ।

यो स्थितिमा एमालेभित्रै अलग पार्टीको अभ्यास गरेर एमालेकै नाममा कार्यकर्ता संगठित गर्ने र सत्ता समीकरण कस्तो बन्छ त्यस आधारमा नयाँ निर्णय लिने निचोडमा माधव नेपाल पक्ष पुगेको बुझ्न सकिन्छ । यो भनेको तत्काललाई न सम्बन्ध, न सम्बन्ध बिच्छेदको रणनीति हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर