व्यावसायिक बिरासत धान्दै युवा – Nepal Press

व्यावसायिक बिरासत धान्दै युवा

विभिन्न सिलसिलामा विदेशिएका युवा पनि स्वदेशमै व्यवसाय गर्न लालायित

विराटनगर । विराटनगरका प्रतिष्ठित एवम् सफल उद्योगी हुन्, महेश जाजु । उनको औद्योगिक एवम् व्यावसायिक यात्राको सारथि बनेका छन्, उनका दुई छोरा आशिष र देवान्त ।

जाजुका दुई छोरामध्ये जेठा छोरा आशिष ८ वर्षदेखि बिजनेश ग्रुपको निर्देशकको जिम्मेवारीमा छन् भने कान्छा छोरा देवान्तले विभिन्न भूमिकामा रहेर व्यवसायिक जिम्मेवारी सम्हालेको एक वर्ष बढी भयो ।

बेलायतबाट प्रोडक्स डिजाइनमा स्नातकोत्तर गरेका वेदान्त उद्योगका उत्पादनलाई नयाँपन दिइरहेका छन् । वेदान्तले नयाँ–नयाँ उत्पादनका लागि फरक डिजाइन गरेर सहयोग गरिरहेको जाजुले बताए ।

‘मेरा दुवै छोरा अहिले औद्योगिक एवम् व्यावसायिक प्रतिष्ठानको नेतृत्व गरिहेका छन्’ उद्योगी जाजु भन्छन्, ‘औद्योगिक प्रतिष्ठामा छोराहरूको प्रवेशका कारण लगानीको दायरा पनि बढाएको छु ।’ उद्योग प्रतिष्ठानमा परिवारका सदस्यको साथ पाए व्यापार व्यवसाय सफल हुने उनको बुझाइ तथा अनुभव छ ।

जाजु ग्रुपले उत्पादन गर्ने चाउचाउ, बिस्कुट, चकलेट, जुसल आमउपभोक्तामाझ लोकप्रिय छन् ।

बुवा-हजुरबुवाकै बिँडो थाम्दै सौरभ सारडा

संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडाका एकमात्र छोरा हुन् सौरभ । ६१ वर्षअघि हजुरबुवा दुलिचनले सुरु गरेको औद्योगिक यात्रामा पवन अघि बढे । र, बुवा–हजुरबुवाकै व्यवसायलाई निरन्तरता दिइरहेका छन्, सौरभ ।

२०१५ सालमा दुलिचनले सिराहाको लहानमा पहिलो उद्योग स्थापना गरेका थिए । उद्योग स्थापनाको केही समयपछि सारडा परिवार सिराहाबाट विराटनगर बसाइँ सर्यो । त्यसपछि पवनले आफ्नो पुख्र्यौली बिरासत झन् विस्तार गरे ।

भारतको दिल्लीबाट एबीए गरेका सौरभले प्रिमियर स्टील उद्योग सुरु गरेका हुन् । बुबाले सुरु गरेको प्रिमियर वायरको जिम्मेवारी पनि उनीले नै सम्हालेका छन् । उनले एक हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । सञ्चालनमा रहेका उद्योगलाई एउटा उचाइमा पुर्याएपछि अन्य उद्योग स्थापना तथा विस्तारको काम गर्ने तयारीमा छन्, सौरभ ।

‘बजार सर्वेक्षण गरेर कस्ता उत्पादनको माग छ भन्ने टुंगो लागेपछि अन्य उद्योग खोल्नेछु’, सौरभले थपे, ‘नेपालमा धेरै सम्भावना छ । यो सम्भावनालाई युवाले क्याच गर्न सक्नुपर्छ ।’

छोराको व्यवसायिक कामबाट पवन पनि सन्तुष्ट छन् । मोरङ व्यापार संघको निवर्तमान अध्यक्षसमेत रहेका पवन भन्छन्, ‘मलाई त राम्रै काम गरेको छ भन्ने लाग्छ । अझ बाहिर साथीभाइ र आफन्तले पनि सौरभले राम्रो काम गरेको छ भन्दा झनै खुसी छु ।’

गोल्छा परिवारको चारपुस्ते बिरासत

नेपालकै पुरानो औद्योगिक घराना हो गोल्छा अर्गनाइजेसन । रामलाल गोल्छाले सुरु गरेको औद्योगिक यात्रा चौथो पुस्तासम्म आइपुग्दा निकै विशाल भएको छ । गोल्छा परिवारका सबैजसो सदस्य कुनै न कुनै उद्योग–व्यवसायमा संलग्न छन् ।

गोल्छा परिवारको पछिल्लो पुस्ताका व्यवासयी हुन्, एकता र कोमल । उनीहरु रामलालकी पनातिनी हुन् ।

एकताले डेल्टा कम्पनी स्थापना गरेकी छन् । जुन कम्पनीले कम्प्युटरका सफ्टवेयर र मोबाइल एप बनाउँछ । उनीहरुको कम्पनीमा विदेशबाट समेत विभिन्न एपको अर्डर आउने गरेको छ ।

सुरु गरेको ३ वर्षमै कम्पनीले राम्रो उचाइ हासिल गरेको छ । उक्त कम्पनीमा ३० जना विज्ञ कर्मचारीले रोजगारी पाएका छन् । कम्पनीले हरेक वर्ष आम्दानी बढाइरहेको छ ।

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी एकता भन्छिन्, ‘अरुले गरेको भन्दा नयाँ गर्न सकियो भने सफलता प्राप्त गर्न गाह्रो छैन ।’

कोमलले भने अरिहन्त पोलिट्यांक कम्पनीको नेतृत्व गरिरहेकी छन् । उनी बुवा राजकुमारले सुरु गरेका अरु व्यवसाय पनि हेर्छिन् । उनले ४ सयभन्दा बढीलाई रोजगारी दिएकी छन् ।

दिल्लीबाट मार्केटिङ र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी कोमल आगामी १० वर्षभित्र उद्योग र व्यवसायको दायरलाई दोब्बर बनाउने लक्ष्यमा छिन् । लगानीको सुरक्षा र लगानीमैत्री सरकारी नीति आएमा युवा रोजगारीका लागि विदेशिनु नपर्ने उनको बुझाइ छ ।

पछिल्लो समय ट्रेडिङ र कृषिमा हात हालेका छन् उनीहरुको बुवा राजकुमारले । उनको औद्योगिक र व्यावसायिक यात्रामा एकता र कोमलले दरिलो र भरपर्दो साथ दिएका छन् । ‘मैले अपेक्षा गरेभन्दा निकै राम्रो काम गरिरहेका छन् उनीहरूले’, राजकुमार भन्छन्, ‘युवाहरु व्यवासायिक यात्रामा लाग्नाले औद्योगिक प्रतिष्ठानको उचाइ बढाउन मद्दत मिल्छ ।’ राजकुमार जुट मिल, कृषि, प्लास्टिक झोला उत्पादन, टेक्नोलोजी र ट्रेडिङमा संलग्न छन् ।

राजेन्द्रका सारथि छोराद्वय प्रतीक र पत्युष

उद्योग–व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत प्रतिष्ठित राजेन्द्र राउतको व्यावसायिक यात्रामा समाहित भइसकेका छन् छोरा प्रतीक र प्रत्युष ।

पछिल्लो दिनमा औद्योगिक प्रतिष्ठानको नेतृत्वमा निकै सफल मानिएका राजेन्द्रको व्यावसायिक यात्राले साडे ३ दशक पार गरिसकेको छ ।

बैंग्लोरबाट सन् २०१४ मा एमबीए गरेका प्रतीकले जिम्मेवारी सम्हालेको ४ वर्ष पूरा भइसकेको छ । आफ्नै पहलमा शिवम् फुटवेयर प्रालि स्थापना गरेर जुत्ता र चप्पल उत्पादनमा लागिपरेका छन् उनी ।

प्रतीक राउत ग्रपका अन्य उद्योग पनि हेर्छन् । पारिवारिक वातावरणकै कारण उद्योग व्यवसायमा संलग्न भएको उनको भनाइ छ । प्रत्युषले भने अन्नपूर्ण सिमेन्ट उद्योग र स्वस्तिक रोलिङ मिलको जिम्मेवारी सम्हालिरहेका छन् । त्यसबाहेक ग्रुपका अन्य जिम्मेवारी पनि बहन गरिरहेका छन् उनले ।

सन् २०१६ मा बैंग्लोरबाटै एमबीए गरेका प्रत्युष नेपालमा धेरै अवसर रहेको बताउँछन् । हरेक क्षेत्रमा चुनौती हुने र त्यस चुनौतीलाई सामना गरेर अगाडि बढ्दा नै सफलता प्राप्त हुने प्रत्युषको विचार छ । ‘जागिर खाँदा पनि चुनौती र समस्या त आउँछ नि’, उनले थपे, ‘चुनौती भएका ठाउँमा धेरै अवसर पनि हुन्छ ।’

अन्नपूर्ण सिमेन्ट उद्योग, शिवम् फुटवेयर, शिव ओम मल्टिपर्पोज प्रालि राउत कन्ट्रक्सन, शिव ओम अटो सेन्टर, स्वस्तिक रोलिङ मिललगायत आधा दर्जनभन्दा बढी सञ्चालनमा छन् । त्यसबाहेक उनीहरुले चुनढुंगा उत्खनन्का साथै हेटौंडा र विराटनगरमा पेट्रोलपम्प पनि सञ्चालन गरिरहेका छन् ।

छोराहरूले आफ्नो ५० प्रतिशतभन्दा बढी जिम्मेवारी सम्हालेको बताउँछन्, राजेन्द्र ।

व्यवासायिक बिरासतप्रति युवाको आकर्षण बढ्दो

मोरङ व्यापार संघका पूर्वअध्यक्ष नन्दकिशोर राठीका छोरा अनुपम र अनुज पनि उद्यम व्यवसायमा जमिसकेका छन् । अनुपम र अनुजले आफ्नो पहिचान स्थापित गरिसकेका छन् ।

उद्योगी रमेश राठी र दिवाकर राठी पनि स्थापित युवा उद्योगी हुन् । उनीहरु चम्पालाल राठीले सुरु गरेको औद्योगिक बाटोलाई अझै फराकिलो बनाउँदै अगाडि बढ्दैछन् । रमेश र दिवाकरको विभिन्न उद्योगमा लगानी छ ।

उद्योगी वासुदेवी गोल्यान, शंकरलाल अग्रवाल, देवकीनन्दन अग्रवाल, ताराचन खेतानलगायतका छोराहरुले पनि व्यवसायको सम्पूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

विराटनगरकै अनिल साह, दिपेश सुवेदी, दिवस सुवेदी, अनिल सारडा, देवाशिष गोल्छा, पियुष तोदी, कनिस रिजाल, मनिष मारुलगायत युवाले पनि पारिवाको व्यवसायिक बिँडो थामिरहेका छन् । उनीहरु सबै ४० वर्ष मुनिका छन् ।

अध्ययन सकेर स्वदेशमै उद्योग गर्न फर्किने लाइनमा युवा

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराका छोरा सुगन आठ महिनापछि नेपाल फर्कंदैछन् । उनी अहिले बेलायतमा मार्केटिङ एण्ड इनोभेसनमा स्नातकोत्तर गर्दैछन् ।

उद्योगी भीम घिमिरेका छोरा अभिज्ञ अमेरिकाबाट केही वर्षमै अध्ययन पूरा गरेर आउँदैछन् । व्यवसायी नविन रिजालका छोरा कविस रिजाल अहिले बिजनेशमा इन्ट्रन गरिरहेका छन् । कविस पनि केही वर्षभित्रै बुवालाई साथ दिन आउँदैछन् ।

शिक्षासेवी रविन दाहालकी छोरी मानषी अमेरिकामा अध्ययनरत छिन् । उनी पनि अध्ययन पूरा गरेर फर्किने रविन बताउँछन् । फर्किएपछि छोरीलाई विद्यालय जिम्मा लगाएर आफू उत्पादनमूलक क्षेत्रमा लाग्ने रविनको योजना छ ।

यससँगै विदेशमा अध्ययनरत धेरै युवा स्वदेश फर्किएर पारिवारको व्यवसायिक बिरासत धान्ने लाइनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर