कालो धान खेतीलाई प्रदेशभर विस्तार गर्न आवश्यक सहयोग गर्छौः कृषिमन्त्री केसी – Nepal Press

कालो धान खेतीलाई प्रदेशभर विस्तार गर्न आवश्यक सहयोग गर्छौः कृषिमन्त्री केसी

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कालो धान पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले यस धानलाई प्रदेशभर विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कालो धान रोपेर कालो धान रोपाइको सुभारम्भ गर्दै  उनले यस्तो बताएकी हुन् ।

उनले कृषि क्षेत्रमा लाग्ने युवाले नयाँ प्रयोग गरेको बताउँदै कृषि क्षेत्रमा नै युवा लाग्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताइन् । उनले भनिन्, ‘हामीले ठूला किसानका लागि व्याज तिर्ने कार्यक्रम ल्याइसकेका छौं । साना किसानका लागि सहुलियतपूर्ण ऋण दिने योजना बनाइरहेका छौं ।’

‘कृषि क्षेत्रमा केहि गरौं भन्ने चाहना भएका युवाका लागि सरकारले आवश्यक सहयोग गर्न विभिन्न योजना ल्याएको छ । अहिले प्रदेश भरी नै कृषि क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याइएको छ । कृषकलाई आवश्यक फाईदा लिन अनुरोध छ ।’ उनले भनिन् ।

मन्त्री केसीले कर्णालीका यूवालाई कृषि क्षेत्रमा लाग्न आव्हान गर्दै त्यसका लागि आवश्यक प्रोत्साहनको नीति लिईने पनि बताइन । कर्णाली प्रदेशका १० जिल्लामध्ये वीरेन्द्रनगरमा मात्रै विगत चार वर्ष देखि खेती गर्न थालिएको कालो धान अत्यन्तै महँगो मूल्यमा समेत विक्री वितरण भइरहेको छ ।

‘तीन विगाहा खेतमा मैले यो वर्ष कालो धान रोप्ने तयारी गरेको छु ।’ युवा कृषक मुरारीजंग थापाले भने, ‘गत वर्ष मैले २८ कट्टा खेतमा यो धान रोपेको थिएँ । ४० क्विन्टल उत्पादन भएकोमा बीस क्वीन्टल चामल विक्री भइसकेको छ । बाँकी २० क्वीन्टल चामल पनि केही दिनमा नै विक्री हुने छ । यसका लागि काठमाडौं, नेपालगन्जबाट माग आइसकेको छ ।’

उनले प्रति क्वीन्टल ४० हजारका दरले कालो चामल होलसेल मूल्यमा विक्री गरिरहेको बताए । ‘यो चामल विक्री गर्न बजारको कुनै पनि समस्या छैन । प्रति किलो पाँच सय रुपैंयाको दरमा खुला रुपमा नै विक्री गर्दै आइरहेको छु ।’ उनी भन्छन्, ‘सात लाख रुपैंया सुरुमा लगानी गरेको थिएँ । अहिले आएर २० लाख पु¥याइसकेको छु ।’ सरकारले अनुदान भन्दा पनि सहुलियतपूर्ण ऋण दिन सके ठूलो राहत पुग्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर