ऋषि धमलाको प्रशंसा गर्दै ओलीले भने- उहाँले त चमत्कारै देखाउनुभएको छ (भिडियो) – Nepal Press

ऋषि धमलाको प्रशंसा गर्दै ओलीले भने- उहाँले त चमत्कारै देखाउनुभएको छ (भिडियो)

काठमाडौं । ऋषि धमलाले स्थापना गरेको र उनी आफैं अनवरत अध्यक्ष रहेको रिपोर्टर्स क्लवले आज आफ्नो २३ औं वार्षिकोत्सव मनायो । राष्ट्रिय सभागृहमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली ।

ओलीको भाषणशैली अनुसार आजको कार्यक्रममा उनले रिपोर्टर्स क्लव र धमलाको विषयमा नबोल्ने सम्भावना नै थिएन । प्रमुख अतिथिको रूपमा उनले आज औसतभन्दा छोटो (करिब ४५ मिनेट मात्र !) भाषण गरे । ऋषि धमलाको प्रशंसाबाट भाषण शुरू गरेका ओलीले धमलाको प्रशंसाबाटै अन्त्य पनि गरेका थिए । बीचमा चाहिँ प्रचण्डदेखि कृष्ण खनालसम्मलाई प्रहार गर्न भ्याए ।

धमलाको रिपोर्टर्स क्लवले स्वच्छ र निस्पक्ष पत्रकारिताको अभ्यास गरिरहेको उनले बताए ।

‘रिपोर्टस क्लवले मिसन पत्रकारिता गर्दैन,’ ओलीले आफ्नो ठहर सुनाए, ‘मैले देखेसम्म, बुझेसम्म, अनुभव गरेसम्म यसले मिसन पत्रकारिताभन्दा स्वच्छ र निष्पक्ष पत्रकारितामा विश्वास गरेको छ । मिसन पत्रकारिताको विगविगी भएका बेला साँचो पत्रकारिताको साझा मञ्चको रुपमा रिपोर्टर्स क्लवले आफूलाई प्रस्तुत गरेको छ ।’

ओलीले यसो भनिरहँदा मञ्चमा बसेका धमला खुशीले मखलेल देखिएका थिए ।

धमलालाई अझै फुर्क्याए ओलीले । ग्रासरुटबाट उठेर धमलाले नेपालमा चमत्कार नै देखाएको उनको टिप्पणी थियो ।

‘ऋषि धमलाको मिहिनेत, परिश्रम हेर्नुस । ग्रासरुटबाट उठेर मिडिया हाउसकै मालिकको रूपमा आइसकेको, कलिलै उमेरमा भन्नुपर्छ । एउटै कपाल फुलेको छैन । यति चमत्कार देखाइसक्नुभएको छ,’ उनले भने ।

ओलीले थपे, ‘मन परोस कि नपरोस् धमलाको हमला जतिसुकै झेल्नुपरोस्, तर पनि त्यो टीभीमा मान्छे जान्छ । सबैलाई थाहा छ त्यहाँ पुगेपछि फर्काइ-फर्काइ दिन्छ धमलाले । फर्काइफर्काइ दिने हो । चर्को हमलाको सामना गर्नुपर्छ भनेर घरदेखि मन बनाएर जानुपर्छ । कसैले उपेक्षा गर्न सक्दैन । जाने हो । बोलाएपछि जानैपर्छ ।’

ओलीले धमलाको अर्को क्षमताका पनि चर्चा गरे ।

‘उहाँका अर्को क्षमता छ, कोही आउँदिन भन्यो भने क्रेनले उठाएर ल्याउन सक्छन् । यस्तो म्याग्नेट छ ऋषि धमलासँग, जुन म्याग्नेटले टपक्कै तानिहाल्छ । त्यो खालको चुम्बकत्व छ । त्यसैले रिपोर्टर्स क्लव आज यहाँ छ ।’

‘नसोचेका इस्यूहरू सट्ट सामनेमा ल्याउने, कुन इस्यू कतिबेला ल्याउने हो त्यो बहुत कुशलतापूर्वक गरिआएको छ रिपोर्टर्स क्लवले । त्यसमा सबैभन्दा बढी स्मार्टनेस ऋषि धमलाको छ । त्यसैले ऋषि धमलालाई स्मार्ट पत्रकार पुरस्कार दिनु उचित हुन्छ । मेरो सिफारिस है ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर